निगालो होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं। निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिकाराज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी ले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेल को समेत उपस्थिति रहेको थियो । नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्किने यस चारतारे होटलले जारी पुँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवामार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । होटल परिसरबाट हिमाल, काठमाडौं, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यु टावर रहेकोले यसले विशिष्ट पहिचान बनाउने विश्वास व्यक्त गरिएको छ । परियोजनामार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सञ्चालनको अन्तिम चरणमा रहेको यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइटसहित), तीनवटा बैंक्वेट हल, तीनवटा रेस्टुरेन्ट, बार, पौडी पोखरी, स्पा, जिम, ध्यान कक्ष, कफी शप, सङ्गीत क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधा रहनेछन् । साथै, भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि दीर्घकालीन रणनीतिमा समावेश गरिएको छ । आईपीओ निष्कासनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको कम्पनीका अध्यक्ष बरालले जानकारी दिए । कम्पनीका संस्थापक तथा प्रवर्द्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ । होटल सञ्चालनतर्फ २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ । करिब १ अर्ब रुपैयाँ लगानी रहेको यो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने कम्पनीको भनाइ छ । साथै, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ ।
सिटिजन्स बैंकबाट ३ जना संस्थापक सेयरधनी बाहिरिँदै, मूल्य १ सय रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकबाट एकैपटक ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ९० हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी बासुदेव घिमिरेले १ लाख ६३ हजार ६५१ कित्ता, नेत्रलाल बनले ७५ हजार ७७२ कित्ता र झविन्द्र भण्डारीले ५१ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले न्यूनतम मूल्यभन्दा बढी कबुल गरी आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
सोलु हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, १ लाख कित्ता आवेदन दिन सकिने
काठमाडौं । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले माघ ४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा माघ १४ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।