कालंगा हाइड्रोले चैत १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ९ लाख १० हजार कित्ता बझाङको केदारस्युँ गाउँपालिका-४ र ५, बित्थडचिर गाउँपालिका-६ र ८, बुंगल नगरपालिका-३, ४, ६, ८ र ५, बैतडीको डिलासैनी गाउँपालिका-१ र २, दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का स्थानीयलाई र ४ लाख ९० हजार कित्ता बझाङको केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्थानीयलाई बिक्री गरिनेछ ।  साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ-१, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका-१०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर-९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका र डिलासैनी गाउँपालिका र कृषि विकास बैंकको बुंगल नगरपालिका-४ मा रहेका शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

२६ अंकले घट्यो नेप्से, ११ अर्ब ९७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्से दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३  विन्दुमा कायम भएको छ ।  आज ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकमा ३ करोड ७ लाख ९० हजार २११ सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।  आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.३९ प्रतिशतले गुमाएका छन् ।  आज कारोबार रकमको आधारमा आंखुखोला जलविद्युतको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको ६६ करोड १४ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, अप्पर हेवाखोला हाइड्रोपावरको ४१ करोड ५० लाख, एसवाई प्यानल नेपालको ३७ करोड २३ लाख र रिदी पावरको ३५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज उत्पानबाहेक सबै उपसमूह रताम्मे भएका छन् । उत्पादन ०.२५ प्रतिशतले बढेको छ । 

कस्तुरी फार्मास्युटिकल्सले आईपीओ जारी गर्ने, इस्यू म्यानेजरमा रिलायबल क्यापिटल

काठमाडौं । कस्तुरी फार्मास्युटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडलाई इस्यू म्यानेजरका रूपमा नियुक्त गरेको छ । आईपीओ निष्काशन सम्बन्धी सम्झौतामा कस्तुरी फार्मास्युटिकल्सका अध्यक्ष प्रवेक खनाल र रिलायबल क्यापिटलका तर्फबाट ग्रीष्म चालिसेले हस्ताक्षर गरे । कम्पनीले करिब १६ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । आवश्यक प्रक्रिया पूरा गरी आगामी साउनभित्र आईपीओ जारी गर्ने लक्ष्य कम्पनीले राखेको छ । आईपीओ निष्कासनअघि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिनुपर्ने हुन् छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ । कम्पनीका अनुसार हाल प्रति सेयर औसत आन्तरिक मूल्य ३१२.७० रुपैयाँ रहेको छ । आईपीओ अघि कम्पनीले प्राइभेट प्लेसमेन्ट अफरिङमार्फत पनि लगानी जुटाउने योजना बनाएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०८४/८५ सम्म प्रति सेयर आम्दानी (ईपीएस) ३१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको जनाएको छ । यस्तै, कम्पनीले आफ्नो ऋण दायित्व क्रमशः घटाउँदै लैजाने योजना समेत अघि सारेको छ । आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको ऋण २४.५७ करोड रुपैयाँ रहेको छ भने आगामी आर्थिक वर्ष २०८४/८५ सम्ममा उक्त ऋण घटाएर ८.३० करोड रुपैयाँमा झार्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।