२५२ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३६२ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ । लक्ष्मी सनराइजको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पिीनिङ मिल्सको १७ करोड ५१ लाख, आँखु खोलाको १७ करोड २३ लाख र एनआरएन इन्फास्ट्रक्चरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभरसको १४.९९ प्रतिशत र सिवाइसी नेपाल लघुवित्तको १४.२२ प्रतिशतले बढेको छ ।  बुधबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ १.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको १.१५ प्रतिशत, फाइनान्सको १.४९ प्रतिशत, होटल तथा पर्यटनको १.६६ प्रतिशत र हाइड्रोपावरको २.४२ प्रतिशतले बढेको छ ।   

सेयर मूल्य १ सय, आवेदन शुल्क २ सय

काठमाडौं । ताराखोला जलविद्युत लिमिटेडले मौज्दातमा रहेको १ लाख ७३ हजार ६५९ कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीको सञ्चालक समितिको असार १५ गतेको निर्णयअनुसार प्रतिकित्ता १ सय रुपैयाँ मूल्य दरमा सेयर बिक्रीमा राखिएको हो ।  कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम सेयरधनीहरुले असार २२ गतेभित्र आवेदन दिनुपर्नेछ । खरिद गर्न इच्छुकले अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ ।  आवेदन कम्पनीको कार्यालय ताराखोला गाउँपालिका-५, करिमेला, बागलुङस्थित प्रभु बैंकको शाखामा पेश गर्नुपर्नेछ । आवेदनसँग नागरिकताको प्रतिलिपि, प्यान नम्बर र राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । 

यूनाइटेड अजोडको सेयर कट-अफ मूल्य ४४७.५० रुपैयाँ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लिलाम बढाबढमार्फत बिक्री गरिएको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीका अनुसार सर्वसाधारण समूहअन्तर्गतको अवितरित हकप्रद सेयर जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरी बाँडफाँड गरिएकाे हाे । प्राप्त शिलबन्दी बोलपत्रहरू असार ११ गते खोलिएको र प्रचलित कानुन तथा धितोपत्रसम्बन्धी नियम-निर्देशिकाअनुसार असार १६ गते सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बाँडफाँडमा नपरेका आवेदकहरूको रकम असार १८ गते (बिहीबार)देखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने जनाएको छ । कम्पनीका अनुसार लिलामको अन्तिम मूल्य (कट(अफ प्राइस) प्रतिकित्ता ४४७.५० रुपैयाँ कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारअनुसार समानुपातिक रूपमा सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।