बुद्धभूमि नेपाल हाइड्रोको ४० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (बीएनएचसी) को शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ४० लाख कित्ता हकप्रद सेयर शुक्रबार सूचीकृत भएको हो । कम्पनीले १ः१ अनुपातमा जारी गरेको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । हकप्रद सेयर सम्बन्धी आवश्यक प्रक्रिया पूरा भएपछि नेप्सेले उक्त सेयर सूचीकृत गरेको जनाएको छ ।  

सेयर बजारमा पौने ७ अर्बको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.१३ अंकले घटेर २६०० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३६७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ८.५ प्रतिशत नेपाल बैंक डिभेन्चरको ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ८.५ प्रतिशत आरबीबीएलको ६९ करोड र ८.५ प्रतिशत सानिमा डिभेन्चरको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १०.६६ प्रतिशत र कुमारी इक्युटी फन्डको ९.०९ प्रतिशतले बढेको छ । 

हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड (एचपीपीएल) को ५० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर शुक्रबार सूचीकृत गरिएको हो । यससँगै उक्त हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारका लागि योग्य हुने भएको छ । कम्पनीले हालका सेयरधनीलाई ५० प्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद बाँडफाँट सम्पन्न भएपछि सोही परिमाणको नयाँ सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।