जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मंगलबार मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको हो बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पूँजी वृद्धि भएको छ । जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ थियो । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुगेको छ । जीवन विकास लघुवित्तले लगानीकर्तालाई प्रतिफल वितरणमा निरन्तरता दिँदै आएको छ । यसअघि पनि संस्थाले लगातार दुई वर्ष १४ प्रतिशतकै दरले बोनस सेयर वितरण गरेको थियो । साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक एवं पूर्वसांसद योगेन्द्र मण्डलले बैंक तथा वित्तीय संस्थालाई कमजोर बनाउन विभिन्न पक्षबाट योजनावद्ध प्रहार भइरहेको बताए । ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रलाई बलियो बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । गरिब र विपन्न वर्गको उत्थानका लागि स्रोत जुटाउने उद्देश्यले जीवन विकासको स्थापना भएको स्मरण गर्दै उनले बेरोजगारी अन्त्यका लागि संस्थाले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गरिरहेको बताए । जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रतिकूल अवस्थामा पनि जीवन विकासले सदस्यको घरदैलोमा पुगेर लघुवित्त र सामाजिक सेवा प्रवाह गरिरहेको बताए । सञ्चालक सदस्यमा खतिवडा र सिटौला निर्विरोध निर्वाचित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी चार वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको निर्वाचन प्रकृयामा दुवै पदका लागि एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । यसअघि पनि उनीहरूले संस्थाको सञ्चालकका रूपमा जिम्मेवारी निभाइसकेका छन् ।
मेन्छियाम हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५४ लाख २५ हजार ८३३ कित्ता सेयरले हुन आउने ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धनराज सुवेदी र निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेन्द्र रायमाझीले हस्ताक्षर गरे । एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसहित १९ वटा कम्पनीको आईपीओ र ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन कार्य सम्पन्न गरेको छ। उक्त निष्कासन तथा बिक्री प्रबन्ध सेवामार्फत कम्पनी हालसम्म १८ अर्ब ९४ करोडभन्दा बढी सेयर पुँजी रकम संकलन गर्न सफल भएको छ । यसैगरी, विभिन्न व्यक्ति तथा संस्थाहरूको नाममा रहेको २९ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयरको निष्काशन तथा बिक्री प्रबन्ध गरी करिब २ अर्ब रकम संकलन गर्न कम्पनी सफल भएको छ । साथै हाल क्यापिटलले दुईवटा कम्पनीको आईपीओ तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा सेयर निष्कासनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश पारित
काठमाडौं प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सोही आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । पारित प्रस्तावअनुसार कम्पनीले ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ । साधारण सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको जनाएको छ । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।