सिंगटी हाइड्रोले ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभाबाट स्वीकृत प्रस्तावअनुसार चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरिनेछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा बुधबार सिंगटी हाइड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदीप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनबाट संकलित रकम अन्य हाइड्रोपावर कम्पनीहरूमार्फत प्रवर्धन गरिएका ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिनेछ । हकप्रद सेयरमार्फत पूँजी संरचना मजबुत बनाउँदै दीर्घकालीन ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने सिंगटी हाइड्रो इनर्जीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
५ अर्बको कारोबार, १८७ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६३५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २६ करोड रुपैयाँको कारोबार भएको छ । साथै श्रीनगर एग्रीटेकको २३ करोड, मन्जुश्री फाइनान्सको २० करोड, शिवम् सिमेन्टको १६ करोड र सागर डिस्टीलरीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । बैठकले देशव्यापी रूपमा बढ्दै गएको लघुवित्तविरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढ्नु, व्यवसायिक मन्दीका कारण ऋणीको व्यवसाय प्रभावित भई कर्जा असुली हुन नसक्नु तथा युवा पलायनका कारण कर्जा लगानी विस्तार हुन नसकेको निष्कर्ष निकालेको छ । साथै, कम्पनीको निष्क्रिय कर्जा बढ्दै जाँदा आम्दानीको ठूलो हिस्सा नोक्सानीमा डुबेको र यसले मुनाफा घट्दै नगद प्रवाहमा समेत असर परेको बैठकको निष्कर्ष छ । यस्तो अवस्थामा सेयरधनीलाई लाभांश बाँड्ने चाहना हुँदाहुँदै पनि संस्थाको वित्तीय अवस्था जोगाउनु नै उत्तम विकल्प ठहर गर्दै लाभांश वितरण नगर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।