कालंगा हाइड्रोले जेठ ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँको १४ लाख कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता विदेशमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ७५ हजार कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

विदेशमा रहेका नेपालीले आजसम्म एभरेष्ट कलरको आईपीओ खरिद गर्न पाउने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । वैशाख १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख ९० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरेको हो ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न ४७ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार अन्तिम दिनसम्म उक्त संख्यामा आवेदन दर्ता भएको हो । अध्यक्ष छनोटका लागि गठित समितिले वैशाख १५ गते सूचना प्रकाशित गर्दै वैशाख २१ गते कार्यालय समयभित्र आवेदन दिन आह्वान गरेको थियो । सोही अनुसार सोमबार साँझ ५ बजेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। आवेदकमध्ये धितोपत्र बोर्डका बहालवाला तथा पूर्व कर्मचारी, पूर्व मर्चेन्ट बैंकर र वित्तीय क्षेत्रमा अनुभव हासिल गरेका विभिन्न व्यक्तिहरू रहेका छन् । प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि समितिले अन्तिम पाँच जनाको नाम सिफारिस गर्नेछ, जसको आधारमा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नेछ । यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य छन्।