ग्लोबल आइएमई बैंकको मोबाईल एपमा ‘लाइभ मार्केट’ सुविधा, आईपीओ आवेदन पनि दिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सेयर बजारसँग सम्बन्धित लाइभ मार्केट सुविधा उपलब्ध गराएको छ । यस सुविधाबाट प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भइरहेको सेयरको सम्पूर्ण जानकारी वास्तविक समयमा पाउनेछन् । बैंकका अनुसार लाइभ मार्केट सुविधामा नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिष्ट, स्टक कम्प्यारिजन, क्यालकुलेटर र ब्रोकर लिस्ट लगायतका जानकारीहरू समेटिएका छन् । यसबाट लगानीकर्ताले बजारका अवसरहरू र आफ्नो लगानीको अवस्था सजिलै ट्र्याक गर्न सक्नेछन् । यस सुविधामा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सेयर लगानी खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी कुल लगानीको वर्तमान मूल्य र नाफा–घाटा रियल–टाइम हिसाब पाउन सक्नेछन् । क्यालकुलेटर सुविधाले सेयर किन्ने वा बेच्ने क्रममा सही हिसाब–किताब गर्न सहयोग गर्दछ भने वाचलिष्ट सुविधाले लगानीकर्तालाई मनपर्ने सेयरहरूको मूल्य परिवर्तन र बजार ट्रेन्ड निगरानी गर्न सुविधा दिन्छ । स्टक कम्प्यारिजनले विभिन्न सेयरको तुलनात्मक विश्लेषणमा मद्दत गर्ने बैंकले जनाएको छ ।  त्यस्तै, ग्लोबल स्मार्ट प्लसबाट अब आईपीओ आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ । प्रयोगकर्ताले आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि सीआरएन नम्बर तुरुन्तै प्राप्त गरी खुल्ला भएको आईपीओमा सजिलै आवेदन दिन सक्नेछन् । बैंकले एपमार्फत आईपीओ खुला भएको जानकारी समेत उपलब्ध गराउने छ, जसले लगानीकर्तालाई अन्य माध्यम प्रयोग नगरी आवेदन दिन सहज बनाउँछ । ग्लोबल स्मार्ट प्लस मार्फत यसअघि उपलब्ध बैंकिङ सेवाहरू जस्तै रकमान्तरण, क्युआर भुक्तानी र दैनिक उपभोग्य शुल्क भुक्तानी अब सेयर बजार र आईपीओ सुविधासँग जोडिएर प्रयोगकर्ताका लागि थप उपयोगी बनेको छ ।     

सेयर बजारमा ११ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामन्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २७३१ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३३४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै राधी विद्युतको ५४ करोड, एसवाई प्यानलको ४९ करोड, युनाइटेड मोदीको ४८ करोड र रिभर फल्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । बुधबारको कारोबारमा ५ वटा उपसमूहको सूचक घटेका छन् भने अरु बाँकी सूचक बढेका छन् ।  वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको हो ।   

होटल फरेष्ट इनको वैदेशिक रोजगारी आईपीओ बाँडफाँड, ४० हजारले पाए सेयर

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सेयर बिक्री गरिएको थियो । उक्त आईपीओका लागि २०८२ माघ ४ गतेदेखि माघ ८ गतेसम्म ‘मेरो सेयर’ एप्लिकेसनमार्फत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । निष्काशन अवधिमा कुल ८१ हजार ७९७ आवेदकबाट १२ लाख ९३ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो । तीमध्ये सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विविध कारण देखाउँदै ६ हजार ६८९ आवेदकबाट प्राप्त १ लाख ४७ हजार २८० कित्ता सेयरका आवेदन रद्द गरेपछि बाँकी ७५ हजार १०८ आवेदकबाट ११ लाख ४५ हजार ७६० कित्ता सेयरका लागि अन्तिम आवेदन स्वीकृत गरिएको थियो । प्राप्त आवेदनमध्ये ९ जना आवेदकले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदनमार्फत १९० कित्ता सेयर माग गरेको पाइएपछि ती आवेदनहरू रद्द गरिएको छ । बाँकी ७५ हजार ०९० जना आवेदकमध्ये गोलाप्रथामार्फत ४० हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँड नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइट तथा एनआईसी एशिया क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।