नेप्सेका सीईओ चुडामणि चापागाईंले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा पत्र बुझाएको जानकारी विकासन्युजलाई दिएका हुन् ।

चापागाईंले भने आफ्नो राजीनामा कुनै दबाब वा विवादका कारण नभएको स्पष्ट पारेका छन् । साथै, १५-२० दिनभित्र खुसीको खबर सार्वजनिक हुने संकेत पनि उनले दिएका छन् । तर, उक्त विषयबारे उनले थप खुलाउन चाहेनन् ।

‘१५-२० दिनपछि खुसीको कुरा सुन्न पाउनुहुन्छ । अहिले राजीनामा पत्र बुझाएर आएँ,’ चापागाईंले भने ।

चापागाईं २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त भएका थिए । झापा निवासी उनी बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यवस्थापक हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् ।

Share News