मौद्रिक नीतिमा सन्तुष्ट भएनन् लगानीकर्ता, ३० अंकले घट्यो सेयर बजार

काठमाडौं ।  मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेर २६२१ बिन्दुमा झरेको हो ।

बुधबार २४ कम्पनीको सेयर मूल्य बढ्दा २४८ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३६२ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ११ प्रतिशत केबीएल डिभेन्चरको ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै ९.५ प्रतिशत एनसीसी डिभेन्चरको ४३ करोड, ८.५ प्रतिशत सानिमा डिभेन्चरको २१ करोड र आँखु खोलाको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति सार्वजनिक भएपछि यति ठूलो गिरावट आएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयरधितो कर्जाको सीमा कायम गर्ने घोषणा गरेको छ ।

तर, कति सीमा कायम गर्ने भन्नेबारे भने खुलाइएको छैन । लगानीकर्ताहरू मौद्रिक नीतिप्रति खुसी नभएर बजार घटेको टिप्पणी गरिरहेका छन् ।  

Share News