प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न, पुन : सञ्चालक बने गजेन्द्र विष्ट

काठमाडौं । प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार (आज) सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।  आजै सम्पन्न सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई बैंकको सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि पनि बैंकको सञ्चालकका रूपमा कार्यरत थिए ।

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, ८.४६ प्रतिशत लाभांश पारित

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १३ औँ वार्षिक साधारण सभा पोखरा–८, सिटि स्क्वायर व्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले आ.व. २०८१/८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कुल ८.४६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित सम्पूर्ण प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरि बहादुर बुढाथोकीले गरे । पूर्व सञ्चालक विश्व मोहन अधिकारी र मनोविज्ञान श्रेष्ठले बैंकको उपलब्धि र आगामी वर्षका लागि प्रतिफल वृद्धि सम्बन्धी सुझाव दिएका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय पहुँचबाट बञ्चित समुदायलाई सेवा पुर्‍याउने, डिजिटल उपकरण बढाउने, दिगो लगानी प्रवद्र्धन गर्ने र हरित बैंकिङ तथा सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । सञ्चालक कृष्ण शंकर श्रेष्ठले सभामा उपस्थित सम्पूर्ण अतिथि र सेयरधनीलाई धन्यवाद ज्ञापन गरे ।

नेशनल लघुवित्तको १२औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा बुधबार बनेपा स्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कर प्रयोजनसहित सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण पनि पारित गरेको छ । २०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर भई बनेको हो । संस्थाले बाह्रौं वर्षमा सफल प्रवेश गर्दै २०८२ असोजसम्म सातै प्रदेशका ७४ जिल्लामा १८५ शाखा कार्यालयमार्फत २ लाख ५३ हजार विपन्न परिवारमध्ये १ लाख २२ हजार ऋणीलाई करिब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह र करिब ६ अर्ब ५० करोड रुपैयाँ बचत परिचालन गर्न सफल भएको जनाएको छ । सभाले सम्बन्धित निकायबाट स्वीकृति लिई ८ लाख ७४ हजार ४४३ कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्कासन गर्ने तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमध्ये संस्थापक समूहको १० प्रतिशत सेयर नियामक निकायको स्वीकृति पश्चात सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले ग्राहकको हक–हित संरक्षण र प्रवर्द्धन गर्दै उद्यमशीलता विकास, वित्तीय साक्षरता अभिवृद्धि तथा प्रविधिको उच्चतम प्रयोगमार्फत संस्था थप सुदृढ बनाउँदै लैजाने योजना रहेको जानकारी दिए ।