सेबोन अध्यक्ष छनोटका लागि ४ जना सर्टलिस्टमा, को-को परे ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले ४ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ । छनोट सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको ना सर्टलिस्टमा राखेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष नियुक्तिका लागि नाम सर्टलिस्टमा राखिएको सिफारिस समितिले जनाएको छ । समितिले वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरेको थियो । तोकिएको समयभित्र ४७ जनाले आवेदन दिएकोमा चार जनाको नाम सर्टलिस्ट गरिएको समितिले जनाएको छ । समितिका अनुसार सर्टलिस्टमा परेकाहरूलाई आगामी जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको छ । कार्यतालिका अनुसार डा. नवराज अधिकारीसँग दिउँसो १ बजे, विनयदेव आचार्यसँग १:३० बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे तथा डा. गोपाल प्रसाद भट्टसँग २:३० बजे छलफल हुने जनाएको छ । सर्टलिस्टमा परेकाहरूमा डा. अधिकारी रधितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् । उनले एक महिना अघि मात्रै बोर्डबाट अवकाश पाएका थिए । यस्तै, आचार्य हाल बोर्डको कार्यकारी निर्देशक छन् । यस्तै, क्षत्री र डा भट्ट भने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य रहेका छन् भने सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवन दाहाल रहेका छन् । यसअघि सिफारिस समितिको संयोजक योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट थिए । तर, उनका दाइ गोपालले आवेदन दिएपछि गुणाकरले राजीनामा दिएका थिए ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.२६ प्रतिशतले बढ्यो
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ११३ कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४६ कम्पनीको ७८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिटी होटलको भएको छ । सिटीको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै साहस ऊर्जाको ९ करोड १६ लाख, आँखु खोला जलविद्युतको ८ करोड ६८ लाख, कर्पोरेट डेभलपमेन्टको ८ करोड १८ लाख र एसवाई प्यानलको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.२६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बुधबार बाँडफाँड हुँदै टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा भोलि बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो । कम्पनीले गत वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो । आईपीओमा मागभन्दा धेरै गुणा बढी आवेदन परेका कारण गोलाप्रथा माध्यमबाट भाग्यमानी आवेदकहरूलाई मात्र १०/१० कित्ताका दरले सेयर बाँडफाँड गरिने जनाइएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको कुल ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १२ लाख कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि ३ लाख ३ हजार ६७ कित्ता सेयर निष्कासन गरी यसअघि नै बाँडफाँड भइसकेको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर छुट्ट्याएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको हो ।