बारामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरियो

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरुद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उनीहरुका आश्रित परिवारजन लगायत स्थानीय सर्वसाधारणकोे लागि यही मंसीर २४ गते बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा परिषरमा र २५ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो । सो स्वास्थ्य शिविरमा नेपाल प्रहरीका ७२ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३२ जना र स्थानीय सर्वसाधारण ११६ जना गरी कुल ३२० जनाको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको थियो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले निःशुल्क स्वास्थ्य शिविर संचालनबाट प्रदेश स्थित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको मात्र नभई स्थानीय सर्वसाधारणहरुको समेत स्वास्थ्य परिक्षण गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे । कार्यक्रमा प्रदेश स्थित नेपाल प्रहरी श्रीमती संघ तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलाद्मी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

तनहुँमा गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज

तनहुँ। तनहुँको भिमाद नगरपालिका -९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ । भिमाद नगरपालिका -९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले  तीन लाख ५० हजार लगानी गरेको वडा सदस्य शिवकुमार आलेले जानकारी दिए । ‘मधुमेह परीक्षणका लागि पनि बजारसम्म पुग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘प्रयोगशाला सञ्चालनमा आएपछि सहज भएको छ ।’ उनका अनुसार पहिले बजारसम्म पुगेर मधुमेह परीक्षण गर्दा पाँच सयभन्दा बढी खर्च हुन्थ्यो भने अब स्थानीय स्तरमै एक सयमै हुने भएको छ । गाउँका जनतालाई सामान्य परीक्षणका लागि बजार झर्न नपरोस् भनेर प्रयोगशाला सञ्चालनमा ल्याइएको निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले बताए । स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट, अनमी, अहब, एचए र एकजना कार्यालय सहयोगी राखिएको छ । गाउँमै प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् । सामान्य परीक्षणका लागि पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य भएको भिमाद–९ का श्रीमाया आलेले बताए । रासस

हरियो धनियाको प्रयोगले स्वास्थ्यमा ठूलो फाइदा पुर्याउँछ – डा.ओम मुर्ति

काठमाडौं । धनियाको प्रयोगले मानिसको स्वास्थ्यमा धेरै ठूलो फाइदा हुने डा.ओम मुर्ति अनिलले बताएका छन् । डा.अनिलले सामाजिक सञ्जालमा लेख्दै धनियामा पाइने क्यालोरी, भिटामिन र चिल्लोले स्वास्थ्यमा महत्वपूर्ण फाइदा पुर्याउने बताएका छन् । उनका अनुसार प्रति १ सय ग्राम हरियो धनियामा २३ क्यालोरी पाइने र यसमा डाइटरी फाइबर, भिटामिन ए र के पाइन्छ । त्यस्तै धनिया भिटामिन के को सबैभन्दा ठूलो स्रोत हो भएको र यसले एलडिएल घटाउन र एचडिएल बढाउन मद्दत पुर्याउने डा.अनिलको भनाइ छ । धनियाको बिउको तेलले शरिरको चिल्लो पदार्थ घटाउन पद्दत पुर्याउने र पाचन शक्ति बढाउन मद्दत पुर्याउने उनले बताएका छन् ।