विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको लागि लिइएको नाम दर्ता (विशेष परीक्षा)को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार ७५.२५ प्रतिशत उत्तीर्ण भएका हुन् । काउन्सिलका अनुसार विभिन्न २८ विषयका २०४ जनाले फारम भरेकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी २ सय २ जनामध्ये १ सय ५२ जना ७५.२५ प्रतिशत चिकित्सक पास भएका जनाइएको छ । परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह परीक्षा पास गर्न सकेनन् । नेपाल मेडिकल काउन्सिलले स्नातक तह (एमबीबएिस र बीडीएस) चिकित्सकहरूको नाम दर्ता (लाइसेन्स) परीक्षा र विशेषज्ञ चिकित्सकहरूको विशेष परीक्षा वर्षको तीन तीन पटक लिने गरको छ ।

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग

काठमाडौं । पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति १० लाख रुपैयाँ प्रदान गरेको छ । अस्पताल परिसरमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । त्यस अवसरमा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा निर्मित उक्त अस्पतालको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्न पाएकामा पाकिस्तान गर्वित रहेको बताउँदै यो सहयोग पाकिस्तान–नेपाल सम्बन्धका निम्ति महत्त्वपूर्ण स्तम्भका रूपमा चिरकालपर्यन्त स्मरणीय रहने जनाए ।   

नेपाली र भारतीय चिकित्सकहरूले बनाए २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन कार्यक्रम

काठमाडौं  । चीनको हेनान प्रान्तस्थित सिन्सियाङ मेडिकल विश्वविद्यालय (एक्सएक्सएमयु) मा एमबीबीएस अध्ययन नेपाली र भारतीय विद्यार्थीहरूले २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन समारोह आयोजना गरेका छन् । सन् २००१ देखि एक्सएक्सएमयुमा अध्ययन गरेका र हाल अध्ययन गरिरहेका विद्यार्थीले पुनर्मिलन समारोह आयोजना गरेका हुन् । २५ वर्षपछि भएको यो भेटघाटले विदेशमा बिताएका अध्ययन वर्षका चुनौती, सम्झना र मित्रतालाई पुनः जीवित बनाउँदै चिकित्सक समुदायबीचको एकता र सहकार्यलाई अझ मजबुत बनाएको चिकित्सकहरूले बताएका छन् । उनीहरूले विदेशी भूमिमा शुरू भएको मित्रता र पेशागत यात्राका स्मृतिहरू पुनः एक ठाउँमा एकत्रित भएपछि कार्यक्रम अत्यन्तै भावनात्मक र उत्साहपूर्ण बनेको बताए । उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योगदानले सिन्सियाङ मेडिकल विश्वविद्यालयबाट अध्ययन पूरा गरेका चिकित्सकहरू स्वास्थ्य क्षेत्रको अग्रपंक्तिमा रहेको प्रमाणित भएको बताए । अहिले नेपाल लगायत भारतका विद्यार्थी स्वास्थ्य क्षेत्रमा विज्ञको रुपमा काम गरिरहेको उनीहरूको भनाइ छ ।  कार्यक्रममा स्वास्थ्य क्षेत्र मात्रै नभई विभिन्न नेतृत्व भूमिकामा सक्रिय चिकित्सकहरूलाई पनि सम्मान गरिएको छ । जसमा नेपाल रेडियोलोजिस्ट एसोसिएशन अध्यक्ष, डा. तेजेन्द्र कार्की न्युरो सर्जन प्रा.डा. प्रकाश काफ्ले, कार्डियोलोजिस्ट डा. राजेश नेपाललाई सम्मान गरिएको हो ।