चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन्। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे। तथ्याङ्क अनुसार आज विहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ। चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ। जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ। यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ। हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ। ‘हावा आउजाउको व्यवस्था नहुँदा कतिपय अवस्थामा निस्सासिएर दुर्घटना हुनेपर्ने जस्ता घटना अवस्था आउने गरेको पाइन्छ,’ उनले भने, ‘त्यसैले हिटर गिजर प्रयोग गर्दा हावा आवतजावत हुने ठाउँ रहेको हुनुपर्दछ।’ चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ। त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकोले खानेकुरामा ध्यान दिनसमेत मन्त्रालयको आग्रह छ। खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात पनि मन्त्रालयले आग्रह गरेको छ।
‘अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक छ’
अफ्रिका । विश्वस्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ । यहाँ सुरु भएको एक अन्तर्राष्टिय सम्मेलनका क्रममा आफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक मात्सिदिसो मोइतीले सो कुरा बताएका हुन् । उनले भने अफ्रिकाका देशहरुमा स्वास्थ्य क्षेत्रका पूर्वाधारका साथै अन्य आवश्यकताका विषयहरुको पूर्ति गर्न नसकिएकाले यहाँ यस क्षेत्रमा थप लगानीको आवश्यकता छ । रुवाण्डाको राजधानी किगालीमा आयोजना भएको जनस्वास्थ्यको अवस्था र यसको आवश्यकता सम्बन्धी एक अन्तर्राष्टिय सम्मेलनको उद्घाटनका क्रममा सो कुरामा जोड दिइएको हो । केही वर्षअघि इबोलाका साथै पछिल्ला दिनहरुमा कोभिड १९ को प्रकोपका कारण यहाँ स्वास्थ्यका क्षेत्रमा थप लगानी गर्न आवश्यक भएको क्षेत्रीय निर्देशक मोइतीले बताए। डिसेम्बर १३ देखि सुरु भएको सम्मेलनमा विषेशगरी अफ्रिकामा पछिल्लो समयमा जारी रहेको स्वास्थ्यको अवस्थाका बारेमा आवश्यक छलफल गरी आगामी दिनमा यसको निकासका लागि के गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले छलफल गर्नुहुने पनि बताइएको छ । अफ्रिकी देशहरुको स्वास्थ्य क्षेत्रको लगानी कम रहेको तथा त्यहाँ स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरुको पनि कमी रहेकाले यसमा लगानीको आवश्यक भएको हो । रासस
न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध
एजेन्सी । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ । सैद्धान्तिक रूपमा, अब ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ । स्वास्थ्य अधिकारीहरूले त्यो भन्दा पहिले देशबाट धुमपानको अम्मल हराउने विश्वास गरेका छन् । उनीहरुले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त बनाउने लक्ष्य लिएका छन् । नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको सङ्ख्या पनि छ हजारबाट घटाएर छ सय पु¥याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाएको छ । मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधा मानिस त्यसबाट मर्ने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्री डा. आयशा भेरलले संसद्मा बताइन् । उनले प्रतिबन्ध लगाउने कानुन पारित भएपछि धूमपानको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताइन् । ‘धूमपानबाट हुने क्यान्सर, हृदयाघातलगायत जटिल रोगको उपचार गर्ननपर्ने भएपछि अर्बौं डलर जोगिने छ, अहिलेको युवापुस्ताको स्वास्थ्य स्वस्थ रहनेछ । र, त्यसले भावी पुस्तालाई धूमपानरहित जीवन जिउन प्रेरित गर्नेछ उनले भनिन् ।