हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड अनुदान रकम उपलबध गराइएको अस्पतालका मेसु डा सापकोटाले जानकारी दिए । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गर्न सघाउन धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी हेटौँडा अस्पतालमा खटिने डा सापकोटाले बताउनुभयो । प्रत्यारोपण कार्य सुरु भए सातै प्रदेशका मिर्गौलाका रोगीलाई सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले बताए । यहाँ प्रत्यारोपण सेवा नहुँदा जिल्लाका मिर्गौला रोगी काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन लगायतका अस्पताल जाने गरेका छन् । रासस

‘नर्भिक आइभिएफ’ले दिएको खुशी : निसन्तान दम्पत्तिले पाए तिम्ल्याहा

काठमाडौं । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमति ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए । भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पत्तिले सन्तान पाउन सकेन । झा दम्पत्तिलाई त्यसपछि निसन्तानहरुका लागि वरदान सावित नर्भिकको आइभिएफ सेन्टरको विषयमा नजिकका मान्छेहरुले सुनाए । अन्ततः आइभिएफ सेन्टरमा टेष्टट्यूव बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरुले गरेको प्रयास पहिलोपटकमै सफल भयो । केही दिनअघि नर्भिक आइभिएफ सेन्टरमा टेस्टट्यूव बेबी प्रविधिबाट रेखादेवी झाले ३ सन्तानलाई जन्म दिएकी छिन् । ‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने, ‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’ रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआइसियूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतिक्षामा छिन् । ‘डा. गणेश साहले बच्चाहरुको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भनका छन् ।’ उनले भनिन्–‘बच्चाहरु पाएको दिन म झनै खुशी हुन्छु ।’ वरिष्ठ बालरोग विशेषज्ञ डा. साह नेतृत्वको टिम तिम्ल्याहा बच्चाहरुको उपचारमा संलग्न छ । झा दम्पत्ति करिब एकवर्षअघि उपचारका लागि नर्भिकको आइभिएफ सेन्टरमा आएका थिए । उनीहरुलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आइभिएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् । डा. शर्माका अनुसार झा दम्पत्तिले पहिलो प्रयासमै आइभिएफबाट सन्तान प्राप्त गरेका हुन् । नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन् । उनका अनुसार आमा र बच्चाहरुको अवस्था हाल सामान्य रहेकाले एकदुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

अस्पतालको भवन निर्माण अलपत्र

सुर्खेत । पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनीले ठेक्का लिएको थियो । आव २०७३/७४ मा २८ करोड लागत अनुमान गरिए पनि २१ करोड १६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । हालसम्म भवनको ६० प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माणकार्य भने अलपत्र अवस्थामै छ । आव २०७६/७७ मा भवन निर्माण सक्ने लक्ष्य लिइएको भए पनि अझै काम बाँकी नै छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनमा पाँच ब्लक छन् । समयमै निर्माणकार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ । समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए । उनले पटक–पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माणकार्य अलपत्र परेको बताए । सदस्य नेपालीले भने, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदूर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको छ, करोडौँको योजनामा झारा टार्ने शैलीमा काम गरेका छन् ।’ पचास शय्या क्षमता भए पनि २२ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताए । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ २०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो । लामो समयदेखि निर्माण हुन नसकेको अस्पताल भवनको यसै आर्थिक वर्षमा निर्माणकार्य सम्पन्न नभएमा ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख अमरबहादुर थापाले बताए । तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताए । रासस