दमक अस्पतालको प्रयोगशाला अवरुद्ध

दमक । दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या आएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । प्रयोगशालामा उपलब्ध रगत परीक्षणमा प्रयोग हुने एउटा उपकरणमा खराबी आएपछि यही मङ्सिर २२ देखि अस्पतालबाट नियमित रुपमा उपलब्ध हुने प्रयोगशालाको काम अबरुद्ध हुँदै आएको हो । नियमित सेवा उपलब्ध गराउन नसक्दा रक्त परीक्षणका लागि सेवा लिने आउने दैनिक तीन सयदेखि चार सय बिरामी मर्कामा परेका छन् ।अस्पतालका ल्याव टेक्निसियन निरीक्षक लोकनाथ पौडेलले उपकरणमा समस्या देखिएपछि काठमाडौँबाट प्राविधिक इन्जिनियर बोलाएर मर्मत गरिए पनि पूर्णरुपमा तयार नहुँदा समस्या देखिएको बताए । ‘मर्मतको काम भइरहेकाले अब एक–दुई दिनभित्रमै सेवा उपलब्ध हुनेछ’, उनले भने । चाप थेग्न थप उपकरण आवश्यक पौडेलका अनुसार ल्यावमा दैनिक तीन सयदेखि चार सयसम्म रगतको नमुना परीक्षण गर्नुपर्छ । ल्यावमा एक पटकमा ४० नमुना परीक्षण गर्न सकिन्छ भने परीक्षणका लागि दुई घण्टा लाग्छ । उनले नमुना परीक्षण गर्नेको सङ्ख्या बढेकाले उपकरणको सङ्ख्या बढाएर तीनवटासम्म पुर्याउन सके मात्रै चाप व्यवस्थापन गर्न सकिने बताए । बनेन सञ्चालक समिति अस्पताल रेखदेख तथा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति नबन्दा काम गर्न समस्या भएको कार्यपालिकाका एक सदस्यले बताए । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना बित्नै लाग्दासमेत समिति गठन हुन नसकेको हो । कार्यपालिका बैठकमा नगरप्रमुखले प्रस्ताव ल्याउने अभ्यास रहे पनि नगरप्रमुखले हालसम्म अस्पताल सञ्चालक समिति गठनको प्रस्ताव नल्याएको ती सदस्यको दाबी छ । रासस

खोटाङ अस्पतालमा एक्स-रे सेवा बन्द, मारमा सेवाग्राही

खोटाङ । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स-रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स-रे सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स-रे सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले बताए । ‘अस्पतालमा दैनिक सरदर ६० जनाको एक्स-रे हुने गरेको छ,’ उनले भने, ‘अस्पतालमा कार्यरत दुवै जना रेडियोग्राफर बिदा गएपछि सूचना प्रकाशन गरेर एक्स-रे सेवा बन्द गरिएको हो ।’ जिल्लाको एकमात्र सरकारी अस्पतालको एक्स-रे सेवा बन्द भएपछि एक्स-रे गर्न आएका बिरामी अन्यत्र जान बाध्य भएका छन् । एक्स-रे गर्न जिल्ला अस्पताल पुग्दा पुस १ गते आउन भनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका कम्पसेर राईले बताए । एक्स-रेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । बाहिर गएर एक्स-रे गर्दा निजी अस्पतालहरूले महँगो शुल्क लिने गरेको सेवाग्राहीको गुनासो आउन थालेको छ । वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाएको भए पनि जिल्ला अस्पतालको एक्स-रे मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा यादवले बताए । ‘एक्स-रे सेवालाई नियमित गराउन पहल भइरहेको छ,’ उनले भने, ‘सम्भवत चाँडै सञ्चालनमा आउनेछ ।’ जिल्ला अस्पतालको एक्स-रे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् । अस्पतलमा देखिएको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख भट्टराईले बताए । रासस

म्याग्दीमा स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गरेका हुन् । ‘३५ लाख ५९ हजार छ सय रुपैयाँ सहयोग घोषणा भएको छ’, उनले भने, ‘घोषणा भएको मध्ये  ३१ लाख नगद प्राप्त भइसक्यो ।’ ४४ मुरी धान र छ मुरी जौँ सङ्कलन भएको छ । सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा देवराज सुवेदीले कथावाचन गरेका थिए । महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट सङ्कलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए । पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ । स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए । रासस