हार्भेष्ट मुन ट्राभल्सले बेच्यो ३.६८ अर्बको हवाई टिकट, भिसा कडाइले घट्यो व्यापार

काठमाडौं । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स प्रालिले एक वर्षमा साढे ३ अर्ब रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ६८ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १३.८९ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रुपैयाँ कम हो । अघिल्लो आव २०८०/८१ मा ४ अर्ब २७ करोड ४० लाख रुपैयाँको हवाई टिकट बिक्री गरेको थियो । कम्पनीले मलेसियाले लागू गरेको श्रमिकसम्बन्धी प्रतिबन्धका कारण गत वर्ष हवाई टिकट बिक्री घटेको जनाएको छ । तर, पछिल्लो समय उक्त प्रतिबन्ध हटेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्नुका साथै हवाई टिकटको माग बढ्दै व्यापारमा सुधार हुने देखिएको कम्पनीको दाबी छ । चालु वर्षको ९ महिनासम्म कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको जनाएको छ । यद्यपि वार्षिक आधारमा करिब ९ प्रतिशत गिरावट आएको कम्पनीको भनाइ छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतासँगै खाडी मुलुकहरूले नेपाली नागरिकका लागि भिसा नियम कडा बनाएपछि व्यापार प्रभावित भएको कम्पनीले जनाएको छ । कम्पनीले आव २०७९/८० मा ६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँ, आव २०७७/७८ मा ९१ करोड ६० लाख रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको थियो । सन् १९९९ अगस्टमा स्थापना भएको कम्पनीले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा यात्रा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रवर्द्धक रामप्रसाद श्रेष्ठ र सुलेखा श्रेष्ठ हुन् । उनीहरू सेयर स्वामित्व ५०-५० प्रतिशत रहेको जनाइएको छ । रामप्रसाद कम्पनीको अध्यक्ष र सुलेखा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा छिन् । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स हार्भेष्ट मुन ग्रुप अन्तर्गतको कम्पनी हो । हार्भेष्ट मुन ग्रुपले ट्राभल, वैदेशिक रोजगारी, रियल इस्टेट, सपोर्ट सर्भिसेस र म्यानपावर व्यवस्थापनलगायत क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ । ग्रुप अन्तर्गत वाइड स्पेस इन्टरनेशनल, हेलो हिमालय ट्राभल एण्ड टुरिज्म, वाइड स्पेस इन्टरनेशनल र सुहाना ल्याण्ड डेभलपमेन्ट सञ्चालनमा छन् ।  हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स सन् २००७ मा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) बाट मान्यता प्राप्त एजेन्ट र नेपाल पर्यटन तथा ट्राभल व्यवसायी संघ (नाट्टा) को सदस्य समेत हो । अन्तर्राष्ट्रिय हवाई टिकटिङ व्यवसायको सम्भावना आगामी दिनमा अझ सकारात्मक रहने अनुमान कम्पनीको छ । कोभिड-१९ सम्बन्धी कडाइ नियम हटाइनु, पर्यटन गतिविधिमा वृद्धि हुनु तथा नेपाली युवामा वैदेशिक रोजगारी र अध्ययनप्रतिको आकर्षण बढ्दै जानुले यस क्षेत्रलाई थप चलायमान बनाएको कम्पनीले जनाएको छ । सरकारको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतिको संख्या बढ्दो क्रममा रहनु तथा पर्यटक आगमनमा निरन्तर सुधार आउनुले पनि व्यावसायिक सम्भावना बलियो रहेको कम्पनीको भनाइ छ । जसले कम्पनीको आम्दानी आगामी दिनमा पनि वृद्धिको दिशातर्फ रहने अनुमान कम्पनीको छ । कम्पनी वैदेशिक रोजगारीमा आधारित टिकट बिक्री व्यवसायमा केन्द्रित भएकाले गन्तव्य मुलुकका आप्रवासन नीति, श्रम स्वीकृति प्रक्रिया र श्रमिक मागमा आउने उतारचढावले व्यवसायमा प्रत्यक्ष असर पार्ने गरेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा पनि मौसमी प्रभाव देखिने भएकाले विशेषगरी अक्टोबरदेखि डिसेम्बरसम्मको सिजनबाहेक अन्य समयमा कारोबार सुस्त हुने कम्पनीको भनाइ छ ।  सरकारले हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि टिकट महँगो भई समग्र हवाई टिकटिङ उद्योगमै नकारात्मक असर परेको कम्पनीले जनाएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २५ करोड ६८ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ६८ लाख रुपैयाँ दीर्घकालीन, ६५ करोड रुपैयाँ अल्पकालीन र ६० करोड रुपैयाँ अल्प तथा दीर्घकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

पूर्ण बन्यो महासंघ, अञ्जनलाई सफलता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन भएर पनि नतिजा आएसँगै नयाँ कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार भएको निर्वाचनमा सुरकृष्ण वैद्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भने कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भए । वैद्यले ५६ मत ल्याएर वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत ल्याए । त्यस्तै, कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । उनले  ६१ मत ल्याए भने उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे । योसँगै महासंघको कार्यसमितिले पूर्णता पाएको हो । महासंघमा ८ जना पदाधिकारी हुने व्यवस्था छ । जसमा अध्यक्ष अञ्जन श्रेष्ठसँगै निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ तथा कृष्णप्रसाद शर्मा र कोषाध्यक्ष मनिषलाल प्रधान बनेका हुन् । गत बैशाख २२ गते महासंघको नयाँ कार्यसमितिको निर्वाचन भएको थियो । सो निर्वाचनमार्फत अञ्जन वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका थिए । अध्यक्ष श्रेष्ठले चाहेजस्तै टिम बनेको छ । यसमा अञ्जनलाई सफलता मिलेको हो ।  एसोसिएट उपाध्यक्षमा पाण्डेले १ हजार ७९ मत ल्याउँदै विजयी भएका थिए । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याएकी थिइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रुपमा पनि कार्यरत छन् ।  प्रवलजंग पाण्डे ।  एसोसिएट तर्फ १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा सचिन ढकालले सर्वाधिक १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् । यसैगरी, हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार वेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशील थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भएका थिए ।  त्यस्तै, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत, रामशरण भण्डारीले १ हजार ४३ मत, बाबु काजी कार्कीले १ हजार ६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९७४ मत, प्रियराज रेग्मीले ९५४ मत, इश्वरबहादुर जीसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै विजयी भएका थिए ।  यस्तै, महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका थिए । घिमिरेले ६० मत प्राप्त गरेका थिए ।  नरेशलाल श्रेष्ठ ।  वस्तुगततर्फको सदस्यमा अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका थिए । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राजकुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रधानले ६२ मत, भक्तबहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका थिए । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी थिइन् । त्यस्तै, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त  गर्दै कार्यकाल बाँडेका थिए ।  यस्तै, महासंघको जिल्लानगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका थिए । शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गर्दै विजयी भएका थिए ।  जिल्ला-नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे पनि उम्मेदवार थिए । डालमियाले ५० र गैरेले ३० मत मात्रै ल्याएका थिए ।  कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ ।  जिल्ला-नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । यस्तै, गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका थिए । 

६ महिनामै जगदम्बा मोटर्सको आम्दानी ९ अर्ब बढी, स्मार्टफोन थपिएपछि ४३.१६ प्रतिशत बढ्यो

काठमाडौं । जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । चारपाङ्ग्रे विद्युतीय सवारीको व्यापार विस्तार तथा जेडटीई स्मार्टफोन वितरण व्यवसाय थपिएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको जगदम्बा मोटर्सले गत आर्थिक वर्ष २०८१/८२ मा १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.१६ प्रतिशत अर्थात् ३ अर्ब ७८ करोड ६० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको थियो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा १३ अर्ब १३ करोड ५० लाख रुपैयाँ तथा आव २०७६/७७ मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१० डिसेम्बर २७ मा एसजी ग्लोबल प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको कम्पनीलाई सन् २०१५ जुनमा पुनः नामकरण गरी जगदम्बा मोटर्स प्राइभेट लिमिटेड राखिएको हो । हाल कम्पनीको नेतृत्व शाहिल अग्रवालले गर्दै आएका छन् । जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीका उत्पादनहरूको आधिकारिक तथा एकमात्र वितरक हो । कम्पनीले प्रोटोन कारहरूको समेत नेपालमा प्रतिनिधित्व तथा वितरण गर्दै आएको छ । पछिल्ला वर्षहरूमा कम्पनीले विद्युतीय चारपाङ्ग्रे सवारी क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ । यसअन्तर्गत कम्पनीले जेएमईभी र चेरी ब्रान्डका ईभी सवारी साधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार यसले टीभीएसका दुई तथा तीनपाङ्ग्रे सवारी, गीली समूहअन्तर्गतको प्रोटोन होल्डिङ्सका कार, जेएमईभी तथा चेरी ब्रान्डका ईभी सवारी बिक्री वितरण गर्दै आएको छ । देशभरका प्रमुख सहरमा फैलिएको करिब १३४ डिलर सञ्जालमार्फत कम्पनीले आफ्नो सेवा विस्तार गरेको जनाएको छ । यद्यपि, नेपालको दुईपाङ्ग्रे सवारी बजार अत्यन्त प्रतिस्पर्धात्मक रहेको कम्पनीको भनाइ छ । बजारमा बजाज, होन्डा र यामाहा जस्ता स्थापित ब्रान्डहरूको बलियो उपस्थिति रहेको छ । ती कम्पनीहरूले स्थानीय एसेम्बली सञ्चालन सुरु गरेपछि प्रतिस्पर्धा अझ तीव्र बनेको कम्पनीले जनाएको छ । आगामी दिनमा आम्दानी वृद्धि कायम राख्दै नाफा स्थिर राख्नु, कार्यशील पुँजी व्यवस्थापन सन्तुलनमा राख्नु तथा लाभांश र पुँजी संरचनाबीच उचित सन्तुलन कायम गर्नु कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेको बताइएको छ । कम्पनीको आम्दानीमा सुधार देखिए पनि सञ्चालन नाफा मार्जिन भने घट्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा १०.०२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत वर्ष घटेर ७.०९ प्रतिशतमा झरेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यो थप घट्दै ६.१० प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ दीर्घकालीन तथा ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।