काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बस्ने बैठकमा अध्यक्ष ओलीले सचिवालय सदस्यहरूले उठाएका प्रश्नमा आफ्नो धारणा राख्ने तयारी गरेका छन् ।
जेठ ४ गते सुरु भएर बीचमा स्थगित भएको सचिवालय बैठक शुक्रबारदेखि पुनः सुरु भएको हो । बैठकको आजको शृंखलामा बाँकी रहेका चार सचिवले धारणा राख्ने कार्यक्रम छ । सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो भनाइ राख्न बाँकी रहेको नेताहरूले बताएका छन् र
बैठकमा अध्यक्ष ओलीको भूमिकालाई लिएर तीव्र बहस चलिरहेको छ । निर्वाचनको परिणाम र पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर अधिकांश सचिवालय सदस्यहरूले पार्टीभित्र पुनर्गठन आवश्यक रहेको निष्कर्ष राखेका छन् । केही नेताले नेतृत्व हस्तान्तरणसम्मको प्रस्ताव अघि सारेका छन् ।
१९ सदस्यीय सचिवालयमा हालसम्म अधिकांश सदस्यहरूले पार्टी पुनर्संरचना र नेतृत्व रूपान्तरणको पक्षमा धारणा राखेका छन् । सचिव योगेश भट्टराईलगायत केही नेताहरूले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । विगतमा ओली निकट मानिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलले समेत पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
यद्यपि अध्यक्ष ओली भने आफ्नो बहिर्गमनको मागप्रति सहमत देखिएका छैनन् । एमाले स्रोतका अनुसार ओलीले बैठकमा आफूविरुद्ध उठेका प्रश्नको बुँदागत जवाफ दिने तयारी गरेका छन् । साथै प्रतिनिधिसभा निर्वाचन परिणाममा अन्य नेताहरूको भूमिकाबारे पनि समीक्षा हुनुपर्ने उनको भनाइ रहने बताइएको छ ।
ओलीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सचिवालय बैठकबाट हटाउने अधिकार नरहेको तर्क राख्ने तयारी गरेका छन् । पार्टीको सर्वोच्च निकाय महाधिवेशन र त्यसपछि केन्द्रीय कमिटी भएकाले नेतृत्वसम्बन्धी बहस केन्द्रीय कमिटीमै लैजानुपर्ने पक्षमा उनी देखिएका छन् ।
तर, सचिवालयका धेरै सदस्य भने पहिले नेतृत्वको विषय टुंग्याएर मात्रै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडानमा छन् । एक नेताका अनुसार बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा नै मुख्य बनेको छ र त्यसलाई पन्छाएर अन्य प्रस्तावमा मात्रै अघि बढ्न कठिन हुने देखिएको छ ।
बैठकमा महासचिव शंकर पोखरेलले अघि सारेको केन्द्रीय नेताहरूको कार्यविभाजन, स्थानीय तह निर्वाचन कार्यक्रम, निर्वाचन समीक्षा, संविधान संशोधन कार्यदल गठन तथा केन्द्रीय कमिटी बैठक आह्वानबारे पनि छलफल भइरहेको छ । तर अध्यक्ष ओलीको भूमिकाबारे चर्किएको बहसका कारण कार्यविभाजन प्रस्ताव समेत अन्योलमा परेको नेताहरूको भनाइ छ ।
अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतले खुलेर अध्यक्ष ओलीको पक्षमा धारणा राखेका छन् । उपमहासचिव लेखराज भट्टले पुनर्गठनको कुरा उठे उमेरको मापदण्ड सबैमा समान रूपमा लागू हुनुपर्ने बताएका छन् । सचिव पद्मा अर्यालले पार्टीको शीर्ष तह र तल्लो तहबीच दृष्टिकोणको दूरी बढेको टिप्पणी गरेकी छन् ।
रघुवीर महासेठ, यामलाल कँडेल, हिक्मत कार्की, छविलाल विश्वकर्मालगायत नेताहरूले पार्टी किन कमजोर भयो भन्ने विषयमा गम्भीर समीक्षा गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा राखेका छन् ।
आजको बैठकलाई एमालेभित्रको आगामी शक्ति सन्तुलन र नेतृत्वको दिशाबारे निर्णायक रूपमा हेरिएको छ । सचिवालयमा अल्पमतमा रहेका ओली अब कसरी अगाडि बढ्छन् भन्ने विषयलाई पनि व्यापक चासोका रुपमा हेरिएको छ ।