६० प्रतिशत वृद्धि हुँदा जनता बैंकको नाफा अर्ब नाघ्यो, एनपीएल घट्यो, स्प्रेडदरमा सुधार
काठमाडौं । जनता बैंकको नाफा करिब ६० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकले कुल १ अर्ब २ करोड नाफा कमाउँदा अघिल्लो वर्षको तुलनामा सो वृद्धि देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैैंकको नाफा ६३ करोड ७५ लाखमा सीमित थियो । बैंकको नाफा वृद्धिमा ब्याज आम्दानी र गैरब्याज आम्दानीकै महत्वपूर्ण हिस्सा छ । उक्त अवधिमा १ अर्ब ६७ करोडको ब्याज आम्दानीलाई २ अर्ब ४५ करोड तथा २३ करोडको गैरब्याज आम्दानीलाई ४० करोड पुर्याएको बैंकले निक्षेप र कर्जाको आकारमा १२-१२ प्रतिशतकै वृद्धि गरी क्रमशः ७० अर्ब र ६४ अर्ब पुर्याएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्ष १.९५ प्रतिशत रहेकोमा योवर्ष १.२१ प्रतिशतमा घटेको छ भने बैंकले स्प्रेडदरलाई ३.६७ प्रतिशतबाट बढाएर ४.६९ प्रतिशत पुर्याएको छ । कर्जाको ब्याजदरको आधार मानिने बैंकको बेसरेट ११.६६ प्रतिशतबाट घटेर १०.५२ प्रतिशतमा झरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा साढे ३ अर्ब, ऋणको न्यूनतम ब्याजदर ०.७० प्रतिशत !
काठमाडौं । सबल भनिएका निजी क्षेत्रका वाणिज्य बैंकहरुको आधारदर बढिरहेको अवस्थामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको भने आधारदर झन् घट्दै गएको छ । बैंकको सो दर अघिल्लो वर्ष ४.९५ प्रतिशत तथा पुस महिनामा ५.६० प्रतिशत रहेको आधार ब्याजदर चैत मसान्तमा ४.७० प्रतिशतमा सीमित भएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा खुद नाफाको आकार साढे ३ अर्ब रुपैंया पुर्याएको छ । बैंकको नाफा १३ प्रतिशतले बढ्दा ३ अर्ब ४९ करोड ९३ लाख रुपैंया नाफा कायम गर्न सफल भएको हो । बैंकको कस्ट अफ फण्ड भने २.१४ प्रतिशतबाट बढेर २.७४ प्रतिशत पुगेको छ । ब्याजको स्प्रेडदर ४.७० बाट बढेर ४.९५ प्रतिशत पुगेको छ । बैंकको पनि निष्क्रिय कर्जा अनुपात भने २.९० प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ । बैंकको पछिल्लो आधारदरका आधारमा बैंकले दिने कर्जाको न्यूनतम ब्याजदर वार्षिक ०.७० प्रतिशत हुने देखिएको छ । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा योजनाअनुसार दिइने कर्जामा आधार ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाइने र त्यसमा ५ देखि ६ प्रतिशत ब्याज अनुदान पाउने भएसँगै कर्जाको ब्याजदर महिला उद्यमशील कर्जाको हकमा वार्षिक ०.७० प्रतिशत र अन्य ६ प्रकारका कर्जाको हकमा १.७० प्रतिशत कायम हुनेछ । बैंकले नयाँ ब्याजदर तालिका सार्वजनिक गरेसँगै यो दर लागु हुनेछ ।
एनआईसी एशियाको नाफा १४५ प्रतिशतले बढ्यो, कर्जाको ब्याजदर २.२० प्रतिशत सस्तो
काठमाडौं । एनआईसी एशिया बैंकले नाफाको आकार १४५ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा एनआईसी एशियाले नाफामा उक्त परिमाणमा सुधार ल्याएको हो । अघिल्लो वर्ष चैतसम्म बैंकले ९२ करोड ७६ लाख रुपैंया नाफा कमाएको थियो, यो वर्ष चैतसम्ममा बैंकले नाफाको आकार २ अर्ब २७ करोड ६४ लाख पुर्याएको हो । बैंकले ९ महिनाको अवधिमा १४ अर्ब ५० करोड रुपैंया ब्याज आम्दानी र ९ अर्ब १८ करोड ब्याज खर्च गर्दा ५ अर्ब २३ करोड रुपैंया खुद ब्याज आम्दानी गरेको छ । यो आकार अघिल्लो वर्ष २ अर्ब ६५ करोड रुपैंया थियो । गैरब्याज आम्दानीतर्फ पनि बैंकले अघिल्लो वर्षको ५७ करोड ८० लाखको आकार १ अर्ब ४२ करोड ५६ लाख पुर्याएको छ । बैंकले निक्षेप १५ अर्बले बढाएर १ खर्ब ५४ अर्ब तथा कर्जा लगानी २६ अर्बले बढाएर १ खर्ब ४१ अर्ब रुपैंया पुर्याएको छ । बैंकका वित्तीय सूचकहरु भने मिश्रित देखिएका छन् । बैंकको निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशतबाट ०.४५ प्रतिशत पुग्दा लोनलस प्रोभिजन ५२५ प्रतिशतबाट २९५ प्रतिशतमा झरेको छ । बैंकको कस्ट अफ फण्ड ७.८४ बाट घटेर ७.०९ प्रतिशत कायम हुँदा ११.५० प्रतिशत रहेको बेसरेट ९.३० मा झरेको छ । बैंकको ब्याजको स्प्रेडदर ४.९६ प्रतिशत देखिएको छ । आधार ब्याजदरले कर्जाकाे ब्याजदर निर्धारण गर्ने गर्छ । याे दर सस्ताे हुँदा कर्जाकाे ब्याजदर सस्ताे हुने र महँगाे हुँदा ब्याजदर पनि बढ्ने गर्छ । एनआईसीकाे याे दर अघिल्लाे वर्षकाे भन्दा २.२० प्रतिशत कम भएकाे छ, यसकाे अर्थ साे बैंकबाट ऋण लिने ग्राहककाे ऋणकाे ब्याजदर अघिल्लाे वर्षभन्दा २.२० प्रतिशत सस्ताे हुनेछ । चैत महिनामा सबैजसाे वाणिज्य बैंकहरुकाे वित्तीय विवरण आइसक्दा साेे बैंक निक्षेप, कर्जा र शाखा सञ्जालमा देशकै ठूलाे बैंक बनेकाे छ । देशभर २८३ शाखा रहेको एनआईसी एशियाको २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ सञ्चालनमा छन् । बैंकले देशभर १६ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।