काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लिलाम बढाबढमार्फत बिक्री गरिएको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीका अनुसार सर्वसाधारण समूहअन्तर्गतको अवितरित हकप्रद सेयर जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरी बाँडफाँड गरिएकाे हाे ।
प्राप्त शिलबन्दी बोलपत्रहरू असार ११ गते खोलिएको र प्रचलित कानुन तथा धितोपत्रसम्बन्धी नियम-निर्देशिकाअनुसार असार १६ गते सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बाँडफाँडमा नपरेका आवेदकहरूको रकम असार १८ गते (बिहीबार)देखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने जनाएको छ ।
कम्पनीका अनुसार लिलामको अन्तिम मूल्य (कट(अफ प्राइस) प्रतिकित्ता ४४७.५० रुपैयाँ कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारअनुसार समानुपातिक रूपमा सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।