हिमालयन बैंकको नाफा २ अर्ब माथि, रिजर्भ ६७ करोडले बढ्याे

काठमाडौं । हिमालयन बैंक लिमिटेडको नाफा २ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ९.६ प्रतिशतल बढेर सो आकारमा पुगेको हो । एक वर्षको अवधिमा १० अर्ब निक्षेप र ९ अर्ब कर्जा प्रवाह गरेको हिमालयनले उक्त अवधिमा खुद ब्याज आम्दानी ५५ करोड रुपैंयाले बढाएको देखिएको छ । ८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकले एक वर्षको अवधिमा रिजर्भको आकार करिब ६७ करोड रुपैंयाले बढाएर ५ अर्ब १९ करोड पुर्याएको छ । उक्त अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ भने कस्ट अफ फण्ड पनि बढेको छ तर बेसरेटमा भने बैंकले ३२ बेसप्वाइनटको सुधार ल्याउँदा ९.१० प्रतिशत कायम भएको छ । बैंकले ब्याजको स्प्रेडदर ४.५० प्रतिशत कायम गरेको छ । असार मसान्तसम्म उक्त लक्ष्य भेट्टाउनुपर्नेमा हिमालयनले यो दर चैत मसान्तमै ४.५ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।

सिन्धु विकास बैंकबाट युनाइटेड इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले युनाइटेड इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सहितका सम्पूर्ण सुविधाहरु सिन्धु बिकास बैंकका शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकको ३ नयाँ शाखा बिस्तार, १५३ पुग्यो शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले बिहिबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा बिस्तार गरेको छ । बैंकको इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईँले गरेका हुन् । बैंकले देशभर १५३ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।