राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रपन्न निरौलालाई दिइएको छ । नियमन विभागका प्रमुख नारायणप्रसाद पौडेल नियमित अवकाशका लागि बिदामा बसेसँगै निरौलालाई उक्त जिम्मेवारी दिइएको हो । निरौला हाल मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक छन् । हाल नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकहरु अवकाशअघि बिदामा बसेका छन् । उनीहरुमध्ये जनकबहादुर अधिकारीको जेठ ४ गते र बाँकी ४ जनाको जेठ २५ गते कार्यकाल सकिँदैछ । त्यसपछि रिक्त कार्यकालमा हालका निर्देशकहरुमध्येबाट बढुवा गरिनेछ भने बढुवासँगै जिम्मेवारी हेरफेर हुने राष्ट्र बैंक स्रोतको दाबी छ । सामान्यतया नियमन विभागका प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहे पनि उक्त पद रिक्त भएपछि निरौलालाई उक्त जिम्मेवारी तोकिएको हो । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक तहलाई प्रवक्ता र निर्देशक तहका व्यक्तिलाई सहप्रवक्ताको जिम्मेवारी दिँदै आएको छ ।
सनराइज बैंकबाट रिलायबल नेपाल लाईफको बीमा सेवा पाइने
काठमाडौं । सनराइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एभरेष्ट बैंकको अफर : मासिक ९५९९ तिरेर आफ्नै घर बनाउनुस्
काठमाडौं । एभरेष्ट बैंकले घरभाडा तिर्ने पैसाले आफ्नै घर किनेर किस्ता बुझाउन सक्नेगरी नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । एभरेष्टले मध्यम तथा निम्नवर्गीय परिवारलाई लक्षित गर्दै यस्तो होम लोन स्किम सार्वजनिक गरेको हो । “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित मासिक न्यूनतम ९५९९ को किस्ता तिर्नेगरी १० लाखदेखि ४० लाखसम्म २५ वर्ष अवधिसम्मको होमलोनको योजना ल्याएको हो । यस योजनामा सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ । बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नै घर बनाउने सपनालाई साकार पार्न समेत आग्रह गरेको छ । “सर्भिस विथ स्माईल” लक्ष्यसहित सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै बैंकले दाबी समेत गरेको छ । १० लाख भन्दा बढी ग्राहक भएको एभरेष्ट बैंकले यो संख्या बैंकिङ क्षेत्रकै सर्वाधिक रहेको समेत दाबी गरेको छ । हालै गरिएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न एभरेष्ट बैंक सफल भएको छ । एभरेष्ट बैंकका हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम सञ्चालनमा छन् ।