भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
काठमाडौं । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ । 'बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौं उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ', बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले भने । बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ । बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन ।
नेपाल पुनर्बीमाको नाफामा ८.५० प्रतिशत गिरावट, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब १३ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ८.५० प्रतिशत घटेको देखिन्छ । गत वर्ष कम्पनीले ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीले ७ अर्ब ५४ करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ७६ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले १२ अर्ब ९० करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेर ११ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब २८ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेर अर्ब ६६ करोड ८४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको विशेष जगेडा कोषमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ८.४३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्षका असारसम्म ७.७१ रुपैयाँमा सीमित छ । कम्पनीको मूल्य आम्दानी अनुपात १६३.३४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५२.९४ रुपैयाँ छ ।