नेपाल लाइफ र हिमालय स्पोर्ट्सबीच विश्वकप प्रसारण सहकार्य
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा हुने फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्स सँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डीगो एप मार्फत सहभागी हुने बताइएको छ । यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सवसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताएका छन् । उनले फिफा विश्वकप २०२६ ले विश्वभरका अर्बौं दर्शकलाई एकताबद्ध गर्ने भएकाले यस ऐतिहासिक प्रतियोगितासँग जोडिनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । पराजुलीका अनुसार यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउने मात्र होइन, नेपाल लाइफको ब्राण्डलाई खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास गरिएको छ ।
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
चितवन । भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारीसंस्था खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो । भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रोजी केसीले नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिए । महानगरभित्र कूल ३६३ सहकारी संस्था रहेकोमा उक्त सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन् ।
हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन् । कम्पनीको असार २ गते बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका कपूरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा कपूरले सम्हाल्ने भएका छन् । कम्पनीले आन्तरिक व्यवस्थापन सुदृढ गर्दै निरन्तरता दिन उक्त निर्णय गरिएको जनाएको छ ।