शिवम् सिमेन्टसले कमायाे एक अर्ब नाफा, गत वर्षको भन्दा १३ प्रतिशत बढी
काठमाडौं । शिवम् सिमेन्टस् कम्पनीले चालु आवको ९ महिनामा एक अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १३.०६ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिमा कूल ९३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, सेयर प्रिमियम ९४ करोड रुपैयाँ र रिर्टेन्ड अर्निङ ३ अर्ब ४४ रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीले ८ अर्ब ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन पुस मसान्तको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो । त्यस्तै, बिक्री लागत ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३२.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.८८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०२.८७ रुपैयाँ र तरलता अनुपात १.७४ रहेको छ ।
सेञ्चुरी बैंकको नाफा घट्यो
काठमाडौं । सेञ्चुरी बैंकको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा कमाएको ६७ करोड १५ लाख रुपैंया नाफाको तुलनामा बैंकको नाफा करिब ९ प्रतिशतले घटेर ६१ करोड ६ लाख रुपैंयामा सीमित भएको हो । कर्जाको आकारमा १०/१० अर्बको सुधार र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारका बाबजुद सञ्चालन तथा कर्मचारी खर्चमा वृद्धि हुँदा बैंकको नाफा घट्न पुगेको हो । बैंकको निष्क्रिय कर्जा अनुपात ०.७६ बाट बढेर १.५३ प्रतिशत पुगेको छ भने सीसीडी अनुपात ८० प्रतिशतको नजिक पुगेको छ । तर कस्ट अफ फण्ड, बेसरेट र स्प्रेडदरमा भने बैंकको अवस्था सुधारिएको छ ।
सिभिल बैंकको नाफा ४७ प्रतिशतले बढ्यो
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ४९ करोड ३८ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले उक्त अवधिमा नाफाको आकारमा ४७.२० प्रतिशत वृद्धि गर्न सफल भएको हो । अघिल्लो वर्ष ९ महिनामा बैंकको नाफा ३३ करोड ५५ लाख रुपैंयामा सीमित थियो । बैंकको खुद ब्याज आम्दानीमा अपेक्षित सुधार हुँदा बैंकको नाफामा त्यस्तो सुधार देखिएको हो । बैंकको एनपीएल ३.९६ प्रतिशत, कस्ट अफ फण्ड ८.४० प्रतिशत, सीसीडी अनुपात ७६.६६ प्रतिशत, बेसरेट ११.२० प्रतिशत तथा ब्याजको स्प्रेडदर ३.३८ प्रतिशत छ ।