देवः विकास बैंकको भूरीगाउँ शाखा उद्घाटन
काठमाडौँ । देवः विकास बैंक लि.को ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा शाखा बिस्तार भएको छ । बैशाख २५ गते ठाकुरबाबा नगरपालिकाका प्रमुख, घननारायण श्रेष्ठले शाखा उद्घाटन गरे । बैंकका संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा नगर श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पुर्याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै संचालक समितिका सदस्य बिजयराज शर्मा भुसाल लगायतकाले मन्तव्य व्यक्त गरेको वरिष्ठ प्रबन्धक नवीनमुनि बज्राचार्यले बताए ।
ओमले ‘नपत्याएको’ प्राइम बैंककाे नाफा ३१ प्रतिशत बढ्यो, अरु सूचकहरु कस्ता देखिए ?
काठमाडौं । ओम डेभलपमेन्ट बैंकसँग औपचारिक रुपमा सम्झौता तोडिएको भोलिपल्ट प्राइम बैंकले औसत सुधारसहितको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको विवरण अनुसार नाफा करिब ३१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपैंया पुगेको हो । नाफा विस्तार गरेपनि एक वर्षको अवधिमा बैंकको निक्षेप करिब ४ अर्बले घट्दा कर्जा प्रवाह भने करिब साढे २ अर्बले बढेको छ । बैंकको ब्याज आम्दानी १ अर्ब ८३ करोड रुपैंयाबाट २ अर्ब ६० करोड रुपैंया पुर्याएको छ भने कर्मचारी खर्च भने ४५ करोडबाट बढेर ५७ करोड पुगेको छ । बैंकले एक वर्षको अवधिमा रिजर्भको आकार १ अर्ब ८३ करोड २ अर्ब ३३ करोड पुर्याएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात करिब ०.५२ प्रतिशतले बढ्दा १.५८ प्रतिशत पुगेको छ । बैंकले बेसरेट र कस्ट अफ फण्डमा सुधार गरेर क्रमशः १०.२० प्रतिशत र ८.२९ प्रतिशत कायम गर्न सफल भए पनि ब्याजको स्प्रेडदर भने घटेको छ ।
एनसीसी बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, ईपीएस २४.७०, अरु सूचकहरु कस्ता ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा ३१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा रहेको ८८ करोड ८० लाखको नाफाको आकारलाई चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब १६ करोड पुर्याएको हो । बैंकले चैत मसान्तसम्म ६१ अर्ब ४६ करोड रुपैंया निक्षेप संकलन गरी ५६ अर्ब ८० करोड कर्जा प्रवाह गरेको एनसीसी बैंकको कुल चुक्ता पुँजी ८ अर्ब पुगेको रिपोर्टमा देखाइएको छ । बैंकको उक्त आकारको नाफा विस्तारमा बैंकको बढेको ब्याज आम्दानी प्रमुख कारकको रुपमा छ । अघिल्लो वर्ष १ अर्ब ४४ करोड रहेको बैंकको उक्त आम्दानी यो वर्ष बढेर २ अर्ब २३ करोड पुगेको हो । बैंकको बेसरेट १०.८६ प्रतिशत र कस्ट अफ फण्ड ७.९४ प्रतिशत छ । ३.९७ प्रतिशतको निष्क्रिय कर्जा अनुपात ३.९७ प्रतिशतबाट ३.२६ प्रतिशतमा घट्दा बैंकको लोनलस प्रोभिजन ९३.३१ प्रतिशतबाट बढेर १२१.१८ प्रतिशत पुगेको छ, निष्क्रिय कर्जा घट्नु र यो प्रोभिजन बढ्नुले बैंकको गुणात्मक सुधारको संकेत गर्छ । यद्यपि बैंकले ब्याजको स्प्रेडदरमा अपेक्षित सुधार गर्न सकेको छैन । चैत मसान्तको रिपोर्टका आधारमा बैंकको स्प्रेडदर ३.१७ प्रतिशत छ ।