सिमेन्ट २०० र डन्डीको मूल्य २९ रुपैयाँ घट्यो, बिटुमिनको हाहाकार

ठप्प बन्यो निर्माण क्षेत्र

काठमाडौं । बजारमा सिमेन्ट र डन्डीको मूल्य घटेको छ । निर्माण क्षेत्रमा प्रयोग हुने मुख्य सामग्रीहरू डन्डी र सिमेन्टको माग नभएपछि मूल्य पनि घटेको हो । 

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार प्रतिबोरा करिब ८०० रुपैयाँ पुगेको सिमेन्ट अहिले घटेर ६०० रुपैयाँको हाराहारी कायम भएको छ । 

प्रतिकेजी ११५ रुपैयाँसम्म पुगेको डन्डीको मूल्य अहिले ८६ रुपैयाँमा झरेको छ । बिटुमिनको मूल्य भने उल्टो बढेको पाइएको छ । पहिले ७४ रुपैयाँ रहेको बिटुमिन हाल बढेर १६० रुपैयाँ प्रतिलिटर पुगेको छ । 

निर्माण कार्य ठप्प हुनु र मागमा कमी आउनु नै मूल्य घट्नुको मुख्य कारण रहेको व्यवसायीहरूको बुझाइ छ । तर, मूल्य घटे पनि बजारमा निर्माण कार्य भने ठप्प जस्तै रहेको उनीहरूको भनाइ छ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव  घिमिरेका अनुसार हाल देशमा निर्माणको काम १२ प्रतिशत मात्र भइरहेको छ । 

असार मसान्त नजिकिएकाले केही ठेक्काहरूको म्याद थप गर्न वा कागजी प्रक्रिया मिलाउनका लागि मात्र थोरै मात्रामा काम देखिने गरेको उनले बताए । 

‘बजारमा माग नै नभएकाले उद्योगीहरूले मूल्य घटाउन बाध्य भएका हुन्,’ घिमिरेले भने । 

सामान्यतया यो समय सिमेन्ट र डन्डीको मूल्य बढ्ने र खपत बढी हुने सिजन भए पनि यस वर्ष आयोजनाहरूमा काम हुन नसक्दा बजार सुस्ताएको छ ।

यस्तै, नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे निर्माण सामग्रीको मूल्य घट्नु रियल एस्टेट क्षेत्रका लागि सकारात्मक संकेत भएको बताउँछन् । 

‘डन्डी र सिमेन्टको मूल्य घट्दा घर निर्माण लागत कम हुन्छ, जसले अन्ततः रियल एस्टेट व्यवसायलाई फाइदा पुग्छ,’ उनले भने । तर, यो गिरावट केही समयका लागि मात्र हो कि दीर्घकालीन हो भन्ने कुराले विशेष अर्थ राख्ने उनको तर्क छ ।

हाल हाउजिङ र अपार्टमेन्टभन्दा पनि व्यक्तिगत व्यवसायीहरूले बनाएका घरहरूको बिक्री राम्रो रहेको घिमिरेले जानकारी दिए । भूकम्प प्रतिरोधी मापदण्ड पालना गरेर बनाइएका घरहरूमा ग्राहकको आकर्षण बढेको उनको अनुभव छ ।

घिमिरेले अब व्यक्तिगत रूपमा घर बनाएर बेच्ने प्रक्रियालाई निरुत्साहित गर्दै कम्पनीमार्फत व्यावसायिक रूपमा रियल एस्टेट कारोबार गर्नुपर्नेमा जोड दिए । 

‘सरकारले उचित नियम बनाएर कम्पनीमार्फत मात्र घरजग्गाको काम गर्ने व्यवस्था मिलाए यो क्षेत्र अझ व्यवस्थित र सुरक्षित हुन्थ्यो,’ उनले विकासन्युजसँग भने । 

यसैगरी, अर्घाखाँची सिमेन्टले पनि अहिले सिमेन्टको मूल्य घटेको बताएको छ । 

कम्पनीका सेल्स हेड शंकर ढकालका अनुसार अहिले ओपीसी सिमेन्ट भाउ प्रतिबोरा ५ सय ९६ रुपैयाँ र पीपीसी सिमेन्ट ७ सय ६ रुपैयाँमा बिक्री भइरहेको छ । 

उनले भने,‘ सिमेन्टको मूल्य अहिले बोरामा एक सय रुपैयाँले घटेको छ । बजारमा पहिलाको जस्तो माग छैन् । माग धेरैनभएपछि मूल्य घटाउनुपरेको हो । ’

बिटुमिनको हाहाकार

सडक निर्माणमा अत्यावश्यक मानिने बिटुमिन (अलकत्रा) को अभावका कारण विकास निर्माणका आयोजनाहरू प्रभावित हुन पुगेका छन् । प्रतिकेजी १६० देखि १६५ रूपैयाँ रहेको बिटुमिनको मूल्य पुनः बढ्ने संकेत देखिएको छ । 

व्यवसायीहरूका अनुसार केही समयअघि यसको मूल्य प्रतिकेजी १८० देखि १८२ रूपैयाँसम्म पुगेको थियो । हाल बजारमा बिटुमिनको नयाँ मौज्दात अर्थात् स्टक नभएको र फाइनान्स कम्पनीहरूले नयाँ रेट दिन नसकेका कारण आपूर्ति ठप्प जस्तै छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ढुवानी भाडा पनि अत्यधिक बढेको छ । डिजेल र पेट्रोलको मूल्य बढेका कारण ढुवानी व्यवसायीहरूले ढुवानी शुल्क बढाउँदा बिटुमिनको लागत मूल्य झनै महँगो पर्न गएको नेपाल बिटुमिन तथा ब्यारेल उद्योगले जनाएको छ । 

सिमेन्ट र डन्डी जस्ता निर्माण सामग्रीको मूल्यमा केही गिरावट आए पनि बिटुमिनको मूल्य भने उच्च नै रहेको व्यवसायीहरूको भनाइ छ । भारतको आफ्नै समस्या र निर्यातमा असर नेपालले मुख्य रूपमा भारतबाट बिटुमिन आयात गर्दै आएकोमा हाल भारतमै यसको अभाव देखिन थालेको नेपाल बिटुमिन तथा ब्यारेल उद्योगले जनाएको छ । 

भारतले आफ्नै देशको माग धान्न नसक्ने अवस्था आएमा नेपालतर्फको निर्यात पूर्ण रूपमा बन्द हुन सक्ने चिन्ता व्यवसायीहरूले गरेका छन् । भारतमा पनि सडक निर्माणको चापका कारण बिटुमिन आपूर्तिमा ढिलाइ भइरहेको नेपाल बिटुमिन तथा ब्यारेल उद्योगले बताएको छ । 

चालु आर्थिक वर्षको अन्त्य (असार) नजिकिँदै गर्दा निर्माण व्यवसायीहरूलाई काम सक्नै पर्ने दबाब छ । धेरै ठेक्काहरू तोडिने अवस्थामा पुगेका कारण निर्माण व्यवसायीहरू महँगो मूल्य तिरेर वा उधारोमा भए पनि बिटुमिन खोजिरहेके निर्माण व्यवसायीहरुको गुनासो छ । 

कतिपय व्यवसायीले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गरी काम रोकेका कारण पनि बजार थप प्रभावित भएको बताइएको छ । नेपालमै बिटुमिन उत्पादन वा रिफाइनरी प्लान्ट स्थापना गर्ने विषयमा पनि चर्चा भइरहेको छ । 

Share News