काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रपन्न निरौलालाई दिइएको छ । नियमन विभागका प्रमुख नारायणप्रसाद पौडेल नियमित अवकाशका लागि बिदामा बसेसँगै निरौलालाई उक्त जिम्मेवारी दिइएको हो । निरौला हाल मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक छन् ।
हाल नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकहरु अवकाशअघि बिदामा बसेका छन् । उनीहरुमध्ये जनकबहादुर अधिकारीको जेठ ४ गते र बाँकी ४ जनाको जेठ २५ गते कार्यकाल सकिँदैछ । त्यसपछि रिक्त कार्यकालमा हालका निर्देशकहरुमध्येबाट बढुवा गरिनेछ भने बढुवासँगै जिम्मेवारी हेरफेर हुने राष्ट्र बैंक स्रोतको दाबी छ ।
सामान्यतया नियमन विभागका प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहे पनि उक्त पद रिक्त भएपछि निरौलालाई उक्त जिम्मेवारी तोकिएको हो । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक तहलाई प्रवक्ता र निर्देशक तहका व्यक्तिलाई सहप्रवक्ताको जिम्मेवारी दिँदै आएको छ ।