नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतामा योगदानमा आधारित भए/नभएको, उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ । अब बैंकका कर्मचारीहरूको व्यक्तिगत अभिलेख तथा खाता तयार गरी परिचय पत्र सम्बन्धित कर्मचारीलाई प्रदान गर्ने, बैंकबाट मासिक/वार्षिक रूपमा कोष कट्टी गरी प्राप्त भएको रकम र विवरण सम्बधित कर्मचारी वा बैंकको खाता अद्यावधिक गर्ने, बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ । त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने पनि सम्झौतामा उल्लेख छ ।
एनआईएमबिले भन्यो- सीईओ पाण्डेले राजीनामा दिएका छैनन्
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) ले प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्योति प्रकाश पाण्डेको राजीनामा नदिएको स्पष्ट पारेको छ । सीईओ पाण्डेको राजीनामा सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैंकले प्रकाशित तथा प्रसारित समाचार भ्रामक, आधारहीन र तथ्यहीन रहेको स्पष्ट पारेको हो । बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल आफ्नो जिम्मेवारीमा सक्रिय रहनुका साथै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा नियमित रूपमा संलग्न छन् । बैंकले कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग अनुरोध गरेको छ । साथै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहक, सेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
दृष्टिविहीनका लागि बैंकिङ सहज बनाउन कामना सेवाको पहल
काठमाडौं । कामना सेवा विकास बैंकले समावेशी बैंकिङलाई प्रवर्द्धन गर्दै दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ पहुँचसँग जोड्ने उद्देश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त दुईदिने कार्यशालामा दृष्टिविहीन सहभागीहरूलाई वित्तीय ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानी अवसर, डिजिटल कारोबार तथा डिजिटल ठगीजस्ता विषयमा वित्तीय साक्षरता प्रदान गरेका थिए । साथै, हस्ताक्षर सम्बन्धी व्यावहारिक अभ्यासमार्फत सहभागीहरूलाई बैंकिङ प्रक्रियामा सहजता र आत्मविश्वास बढाउने प्रयास गरिएको थियो । कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो । बैंकले यस्ता तालिमहरूले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ सेवा सहज रूपमा उपयोग गर्न सहयोग पुग्ने विश्वास लिएको छ । सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल तथा हस्ताक्षर तालिमप्रति खुशी व्यक्त गर्दै कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताए । सोही संस्थाका सौगात वाग्लेले आफू पनि दृष्टिविहीन भएको उल्लेख गर्दै बैंकिङ सेवामा सहज पहुँचका कारण सुरक्षित रूपमा सेवा उपयोग गर्न सकिरहेको अनुभव साझा गरे । कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने ग्राहकले मोबाइल बैंकिङ, एटीएम कार्डलगायतका सुविधा प्रयोग गर्न सक्नेछन् । दृष्टिविहीन ग्राहकका लागि अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने तथा खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराइने बैंकले जनाएको छ। कार्यक्रमको समापनमा बैंकका सीएसआर प्रमुख सुशील पौडेलले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी र विस्तारित बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले यस्ता कार्यक्रमहरूले वित्तीय पहुँचसँगै सामाजिक समावेशिता र आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।