शंकास्पद रूपमा घरजग्गा किन्नेको पोल खोल्न व्यवसायीहरूलाई राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका सहायक निर्देशक कमल पौडेलले सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले शंकास्पद रूपमा घरघडेरी किनबेच भइरहेको भए त्यसको जानकारी राष्ट्र बैंकलाई गराउन व्यवसायीहरूसँग आग्रह गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै निर्देशक पौडेलले अवैध रूपमा कमाएको धनलाई वैध बनाउन (शुद्धीकरण गर्न) केही व्यक्तिहरूले घरजग्गामा लगानी गर्ने गरेको बताए । यस्ता गतिविधिमा राष्ट्र बैंकले कडा निगरानी गरिरहेको उनले जानकारी दिए । ‘सम्पत्ति शुद्धीकरणमा ग्रे लिस्टमा पर्नुको एक कारण केही क्षेत्रमा भएका अनियमितता हुन्, जसमा घरजग्गा व्यवसाय पनि पर्छ । यसको अर्थ व्यवसायीहरूले नै गल्ती गरिरहेका छन् भन्ने होइन, तर कुनै पनि व्यवसाय नियमन हुनुपर्छ । सम्पत्ति शुद्धीकरण भनेको दोस्रो चरणको अपराध हो,’ उनले भने । ‘कसैले पहिलो चरणमा अपराध गरेर त्यसलाई वैध देखाउने प्रयास गर्छ भने त्यो दोस्रो चरणको अपराध हो । व्यवसायीहरू प्रत्यक्ष रूपमा यसमा संलग्न नभए पनि अपराध गर्ने व्यक्तिहरूले तपाईंहरूको व्यवसाय प्रयोग गर्न सक्छन्। त्यसैले यस्तो जोखिमबाट जोगिनु आवश्यक छ,’ उनले थपे । सम्पत्ति शुद्धीकरणको मामिलामा नेपाल दोस्रो पटक ‘ग्रे लिस्ट’ (खैरो सूची) मा परेको उल्लेख गर्दै उनले यसबाट बाहिर निस्कन घरजग्गा कारोबारको नियमनमा कडाइ गरिएको स्पष्ट पारे । सहायक निर्देशक पौडेलले घरजग्गा जस्ता व्यावसायिक कारोबारलाई मर्यादित बनाउन सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी प्रावधानहरूको पालना अनिवार्य रहेकोमा जोड दिए । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले घरजग्गा व्यवसायीलाई ‘सूचक संस्था’ को रूपमा राखेकाले शंकास्पद कारोबारको पहिचान गर्ने र त्यसको सूचना सरकारलाई दिने दायित्व व्यवसायीहरूकै भएको उनको भनाइ छ । सोही कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले लागू गरेको ३ करोड रुपैयाँसम्मको ’होम लोन’ (आवासीय कर्जा) को सुविधा व्यवहारिक नभएको टिप्पणी गरे । नेपालमा उच्च तहका सरकारी कर्मचारीको समेत तलब सीमित भएकाले यस्तो ठूलो रकमको ऋण उपयोग गर्न कठिन रहेको उनको तर्क छ । विशिष्ट श्रेणीका सचिवको मासिक तलब करिब ७५ हजार रुपैयाँ मात्र हुने र सबै खर्च कटाएर उनीहरूले मासिक ४५ देखि ५० हजार रुपैयाँभन्दा बढी किस्ता तिर्न नसक्ने उनले बताए ।  यस्तो अवस्थामा बैंकबाट अधिकतम ४० देखि ५० लाख रुपैयाँसम्म मात्रै ऋण पाइने भएकाले ३ करोडको सीमाको कुनै औचित्य नरहेको उनले दाबी गरे । कार्यक्रममा बोल्दै नेपाल स्टेट एजेन्ट्स तथा एजेन्सिज महासंघका अध्यक्ष विनोद सुवेदीले नेपालमा घरजग्गा एजेन्ट र एजेन्सीका लागि इतिहासमै पहिलो पटक मालपोत ऐन २०३४ लाई संशोधन गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएकोमा खुसी व्यक्त गरे ।  विगत ८–९ वर्षदेखि व्यवसायीले उठाउँदै आएको मागलाई राज्यले सम्बोधन गरेको भन्दै उनले यसको स्वागत गरे। यद्यपि लाइसेन्सको मापदण्डबारे स्पष्ट जानकारी नहुँदा व्यवसायीहरूमा केही अन्योलता सिर्जना भएको उनले बताए । अब सरकारले घरजग्गा सम्बन्धी नीतिहरू ल्याउँदा निजी क्षेत्रसँग समन्वय गरेर ल्याएमा त्यसको कार्यान्वयनमा सहजता आउने उनको सुझाव छ ।

५० प्रतिशत हकप्रद सेयर जारी गर्न एनआईसी एशियालाई राष्ट्र बैंकको पूर्व-स्वीकृति

काठमाडौं । एनआईसी एशिया बैंकलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ । नेपाल राष्ट्र बैंकले वैशाख १ गते बैंकलाई २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न पूर्व स्वीकृति प्रादन गरेको हो । एनआईसी एशियाले चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशत अर्थात् २:१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् अब साधारण सभाबाट पारित गर्नुपर्ने हुन्छ ।  हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न बैंकले जेठ १८ गते २८औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा आर्मि अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्नेछ ।  साधारण सभा प्रयोजनार्थ बैंकले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधीहरुले सभामा सहभागीता जनाउन सक्नेछन् ।  साधारण सभाबाट पारितपछि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउनुपर्ने हुन्छ । त्यसपछि मात्रे बैंकले सेयर जारी गर्नेछ । 

सूर्यज्योति लाइफबाट एनआईसी एशिया बैंक बाहिरिने, १४.६४ करोडको सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । बैंकले आफ्नो स्वामित्व रहेको सेयर बिक्री गरेर सूर्यज्योति लाइफबाट बाहिरिने निर्णय गरेको हो । कम्पनीमा बैंकको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर स्वामित्व रहेको छ । उक्त सेयर प्रतिकित्ता १६५ रुपैयाँका दरले बिक्रीमा राखेको हो । सो मूल्यका आधारमा बैंकले १४ करोड ६४ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले वैशाख २८ गतेसम्म आवेदन दिनुपर्नेछ । न्यूनतम् ५ हजार कित्ता सेयरका लागि निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकसँगै बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली, शाखा कार्यालयहरू विराटनगर, आदर्शनगर वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।