३ महिनामा भित्रियो साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै २ खर्ब बढी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको असोजसम्ममा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार ३ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर र आशा लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो । यस लाभांश दरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चालू चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर तथा ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बोनसतर्फ ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रूपैयाँ बराबरका सेयर र नगदतर्फ १८ लाख ३८ हजार ८२६.३० रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई हस्तान्तरण गरिनेछ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय पारित गरेको संस्थाले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
मंसिरमा ११ बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१७ प्रतिशत घटेर औसत ५.०३ प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.२० प्रतिशत थियो । यस्तै, मंसिरमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.१० प्रतिशत घटेर ३.५८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.६८ प्रतिशत ब्याजदर थियो । मंसिर महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । जसमध्ये एनआईएमबिले संस्थागततर्फ भने ब्याजदर घटाएको छ ।