चार महिनामा चालु खाता २७९ अर्ब र शोधनान्तर ३१८ अर्ब रुपैयाँ बचतमा
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा देशको चालु खाता २७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४७ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब १० करोड डलरले बचतमा रहेको चालु खाता चालु आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब ९९ करोड डलरले बचतमा पुगेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रुपैयाँ मात्र थियो । यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । यसैबीच, समीक्षा अवधिमा शोधनान्तर स्थिति ३१८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ५३ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोड डलरले बचतमा पुगेको छ ।
महँगी घट्दो क्रममा, ४ महिनामा मुद्रास्फीति १.५३ प्रतिशतमा झर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार कात्तिकसम्मको देशको आर्थिक स्थिति सार्वजनिक गर्दै २०८२ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशत रहेको उल्लेख गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ। तर तरकारी उप–समूहको मूल्य सूचकाङ्क १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ। गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले वृद्धि भएको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क भने ०।२३ प्रतिशतले घटेको छ । क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क ०.६६ प्रतिशतले र सहरी क्षेत्रको १.२६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा १.८० प्रतिशत, मधेश प्रदेशमा १.७३ प्रतिशत, बागमती प्रदेशमा ०.८१ प्रतिशत, गण्डकी प्रदेशमा ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशमा १.२७ प्रतिशत, कर्णाली प्रदेशमा १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.२६ प्रतिशत मुद्रास्फीति रहेको छ। भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६ प्रतिशत, तराईमा १.२४ प्रतिशत, पहाडमा ०.८८ प्रतिशत र हिमाली क्षेत्रमा १.०६ प्रतिशत रहेको छ । यसैबीच, २०८२ कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मुद्रास्फीति १.९१ प्रतिशत, मध्यवर्ती वस्तुको ३.१४ प्रतिशत र पुँजीगत वस्तुको २.२६ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ३.२४ प्रतिशतले बढेको छ । नेपाल र भारतको तुलना गर्दा २०८२ कात्तिक महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ भने सन् २०२५ नोभेम्बरमा भारतमा यस्तो मुद्रास्फीति ०.७१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
असार मसान्तसम्म असुलिएको ब्याजबाट मात्र लाभांश पाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएपछि असुल भएको ब्याज आम्दानीबाट लाभांश वितरण गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आर्थिक वर्षको अन्त्यसम्म असुल भएको ब्याज आम्दानीबाट लाभांश वितरण गर्न निर्देशन जारी गरेको हो । पहिले बक्यौता रहेको ब्याज आर्थिक वर्ष सकिएको १५ दिनभित्र असुल भएमा अघिल्लो आर्थिक वर्षको आम्दानीमा समावेश गरी लाभांश वितरण गर्न सकिने व्यवस्था थियो । तर राष्ट्र बैंकले यो व्यवस्था संशोधन गर्दै असार मसान्तसम्म असुल भएको ब्याजको मात्र आम्दानी जनाउन सकिने व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार लेखाङ्कन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये प्रोदभावी आधारमा लेखाङ्कन गरिने ब्याज आम्दानीमध्ये प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफालाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नु पर्नेछ । उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यसले बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरणमा पारदर्शिता र वित्तीय स्थायित्व सुनिश्चित गर्ने राष्ट्र बैंकको उद्देश्य रहेको जनाइएको छ ।