वित्तीय क्षेत्रमा राजीनामाको लहर, राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति नै रित्तियो

काठमाडौं । सरकारको मुख्य लगानी रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र सञ्चालकहरूले राजीनामा दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका हुन् । यससँगै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, निक्षेप तथा कर्जा सुरक्षण कोषका अध्यक्ष र प्रमुख पदमुक्त भएका छन् । वर्तमान सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जनालाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो । तर, नेपाल राष्ट्र बैंक र सरकारी बैंकका पदाधिकारीहरू भने त्यसबाट जोगिएका थिए । पछिल्लो समय सरकारले उनीहरूलाई पनि मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि राजीनामा दिएका हुन् ।  कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले राजीनामा दिएका छन् । नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले पनि पदबाट राजीनामा दिएका छन् । साथै नेपाल बैंक सञ्चालक समिति सदस्य साधना घिमिरे र माया आचार्यले समेत पद छाड्ने तयारीमा छन् । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले पनि राजीनामा दिएका छन् । यस्तै सञ्चालक समिति सदस्य लक्ष्मण घिमिरे, डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राणा र हरिकुमार सिलवाल पनि पदबाट बाहिरिएका छन् । सबै सदस्यले राजीनामा दिएपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति नै रित्तिएको छ । नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरे, सञ्चालक हेमन्तराज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्की पदमुक्त भएका छन् । यस्तै, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी, कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल तथा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे पनि पदमुक्त भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पनि राजीनामा दिइसकेका छन् ।

महिला उद्यमशीलता प्रवर्द्धनमा लक्ष्मी सनराइज बैंक र आईएफसीको साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ (बीओडब्ल्यू) पहलअन्तर्गत ग्लोबल डब्लूएमएसएमई सेक्स डिसएग्रेगेटेड डाटा (एसडीडी) सम्बन्धी सहकार्य सम्झौता गरेको छ । उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वुमन इन्टरप्रेनर्स फाइनान्स इनिसियटिभ’ (वी–फाई) ले सहयोग गरिरहेको छ । वी–फाई विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (डब्लूएमएसएमई) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यसअन्तर्गत सञ्चालन हुने ‘वुमन इन्टरप्रेनर्स फाइनान्स कोड’ वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता हो । यसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए । सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (सेक्स डिसएग्रेगेटेड डाटा–एसडीडी) को संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ । यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता, चुनौती तथा अवसरबारे गहिरो बुझाइ विकास गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस सहकार्यका आधारमा महिला उद्यमीका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधान विकास गर्न सहज हुनेछ । साथै, यो साझेदारीले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।  

कामना सेवाद्वारा जनकल्याण विद्यालयका १३८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय सर्दीमार्फत जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १३८ जना विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री प्रदान गरिएको थियो । वितरण गरिएका सामग्रीमा वर्णमाला तथा अंकसम्बन्धी चार्ट, एबीसीडी चार्ट, हप्ताका दिन र महिनासम्बन्धी चार्ट, नर्सरी तहका अध्ययन सामग्री, पेन्सिल कलर, कापी, पेन्सिल तथा बालबालिकाका लागि खेलमुखी शैक्षिक सामग्री समावेश रहेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिन्जलीले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता कार्यक्रमहरूले सामुदायिक विद्यालयका विद्यार्थीहरूको मनोबल वृद्धि गर्नुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे । यसैगरी, बैंकका क्षेत्र प्रमुख भण्डारीले यस्ता सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।