‘विकास नायक २०८२’ को खोजी

विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ ।  विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ ।   हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं ।  जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो ।  तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं ।  विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १८ गतेसम्म भरिसक्नुपर्नेछ । (मंसिर ८ गते अपडेट गरिएको-सम्पादक) यो पनि पढ्नुहोस् ‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला  

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधवार (आज)  ५० अर्ब निक्षेप तान्दैछ । दशैं–तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ ।  केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ ।   बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ वैशाख २३  गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।  खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

गरिमा विकास बैंकले गरिमा रोड रेस आयोजना गर्दै, विजेताले नगद पुरस्कार पाउने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा 'स्वास्थ्यका लागि खेलकुद' भन्ने नाराका साथ गरिमा रोड रेस २०८२ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी मंसिर ६ गते शनिबारका दिन काठमाडौंमा आयोजना हुनेछ । गत वर्षदेखि सुरु गरिएको गरिमा रोड रेसको यो दोस्रो संस्करण हो । यस वर्षको प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर तथा नयाँ थपिएको भेट्रान (महिला र पुरुष) तर्फ पनि ५ किलोमिटर दूरीको हुनेछ । भेट्रान विधा यस वर्ष पहिलो पटक समावेश गरिएको हो, जसमा महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष माथिका धावकहरू सहभागी हुन सक्नेछन् । प्रतियोगितामा करिब १ हजार धावकको सहभागिता रहने अपेक्षा बैंकले गरेको छ । खुला विधामा विजेताले जनही ५० हजार रुपैयाँ, दोस्रोले  ३५ हजार रुपैयाँ, तेस्रोले २० हजार रुपैयाँ, चौथोले १५ हजार रुपैयाँ र पाँचौं स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १४ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौं स्थान हासिल गर्नेले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने खुला समूहको दौड बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवनसम्म पुगेर सोही बाटो हुँदै बालुवाटार फर्किएर सम्पन्न हुनेछ । कर्पोरेट र भेट्रान समूहको दौड पनि सोही स्थानबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै समापन हुनेछ । प्रतियोगिता व्यवस्थित सञ्चालनका लागि गरिमा विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले प्रतियोगिताको लागि कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी दर्ता गर्न सक्नेछन् । थप जानकारीका लागि बैंकको कल सेन्टर ९०१–५९७०१७९० मा सम्पर्क गर्न सकिनेछ । गत वर्ष आयोजित गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० भन्दा बढी धावक सहभागी भएका थिए । यस वर्ष पनि सहभागी संख्या झनै उल्लेख्य हुने विकास बैंकले विश्वास व्यक्त गरेको छ ।