काठमाडौं । कामना सेवा विकास बैंकले समावेशी बैंकिङलाई प्रवर्द्धन गर्दै दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ पहुँचसँग जोड्ने उद्देश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त दुईदिने कार्यशालामा दृष्टिविहीन सहभागीहरूलाई वित्तीय ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानी अवसर, डिजिटल कारोबार तथा डिजिटल ठगीजस्ता विषयमा वित्तीय साक्षरता प्रदान गरेका थिए । साथै, हस्ताक्षर सम्बन्धी व्यावहारिक अभ्यासमार्फत सहभागीहरूलाई बैंकिङ प्रक्रियामा सहजता र आत्मविश्वास बढाउने प्रयास गरिएको थियो ।
कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो । बैंकले यस्ता तालिमहरूले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ सेवा सहज रूपमा उपयोग गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।
सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल तथा हस्ताक्षर तालिमप्रति खुशी व्यक्त गर्दै कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताए । सोही संस्थाका सौगात वाग्लेले आफू पनि दृष्टिविहीन भएको उल्लेख गर्दै बैंकिङ सेवामा सहज पहुँचका कारण सुरक्षित रूपमा सेवा उपयोग गर्न सकिरहेको अनुभव साझा गरे ।
कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने ग्राहकले मोबाइल बैंकिङ, एटीएम कार्डलगायतका सुविधा प्रयोग गर्न सक्नेछन् । दृष्टिविहीन ग्राहकका लागि अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने तथा खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराइने बैंकले जनाएको छ।
कार्यक्रमको समापनमा बैंकका सीएसआर प्रमुख सुशील पौडेलले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी र विस्तारित बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले यस्ता कार्यक्रमहरूले वित्तीय पहुँचसँगै सामाजिक समावेशिता र आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।