काठमाडौं । एनएमबि बैंकले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ‘इन्डो–नेपाल पीटूपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुने बैंकले जनाएको छ ।
यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् । बैंकका अनुसार अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउनेबित्तिकै एनएमबि बैंकमा रहेको खातामा तुरुन्तै पैसा आइपुग्छ ।
पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झटसमेत हुनेछैन । बैंकले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना (भीपीए) बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन तथा पठाउन सकिनेछ ।
यो सेवालाई सबैको पहुँचमा पु¥याउन बैंकले अत्यन्तै सरल बनाएको छ ।
ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफै यो सेवा प्रयोग गर्न सक्छन् भने जुनसुकै शाखामा गएर कर्मचारीहरूको मद्दतबाट पनि यो सेवा सजिलै सुरु गर्न सक्नेछन् ।
घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकताअनुसार रकम प्राप्त गर्न थप सहज हुनेछ ।
एनएमबि बैंकले हाल देशभरि १९८ शाखाहरू, १७६ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।