सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे’ कार्ड नेटवर्कका लागि सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे’ कार्ड नेटवर्क तथा राष्ट्रिय कार्ड स्विच (एनपीएस–नेशनल कार्ड स्विच) अन्तर्गत प्रमुख सदस्यताका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एनपीएस–नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड कारोबारको रुटिङ तथा सेटलमेन्ट सुनिश्चित गर्ने केन्द्रीय भुक्तानी पूर्वाधारका रूपमा स्थापना गरिनेछ। यसले घरेलु कार्ड कारोबारलाई अन्तरसञ्चालनयोग्य बनाउने लक्ष्य लिएको छ । सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएम सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले जारी गरेको सूचनामा ग्राहकको खाताबाट काटिएको कर विवरण आयकर ऐन, २०५८ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य रहेको उल्लेख गरिएको छ । ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com तथा मोबाइल बैंकिङ अनुप्रयोग (एनआईसी एसिया मोबाइल बैंक) मा रहेको ‘प्यान अद्यावधिक’ विकल्प प्रयोग गरी आफ्नो प्यान सहजै अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै, नजिकको कुनै पनि एनआईसी एसिया बैंकको शाखा कार्यालयमा गई आवेदन दिएर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ। बैंकका अनुसार ब्याज भुक्तानीमा काटिएको कर विवरण विद्युतीय कर कट्टी विवरण प्रणाली (ई–टीडीएस) मा समावेश गर्न प्यान अत्यावश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि कर विवरण स्वचालित रूपमा सम्बन्धित प्यानमा प्रविष्ट हुने र यसले कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ । प्यान अद्यावधिक नगरिएकै कारण ई–टीडीएसमा ब्याज कर दाखिला नभएमा वा पछि कर समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ । यसैगरी बैंकले ग्राहकलाई खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकले बैंकको भिडियो ग्राहक पहिचान (भिडियो केवाईसी) सेवा, मोबाइल बैंकिङ अनुप्रयोगको ‘मेरो प्रोफाइल’ खण्डमार्फत ‘इमेल परिवर्तन’ विकल्प प्रयोग गरी इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । शाखा कार्यालयमार्फत पनि इमेल ठेगाना अद्यावधिकको सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ । यसअघि प्यान उपलब्ध गराए पनि कर विवरण अद्यावधिक नभएको वा इमेल ठेगाना परिवर्तन गर्न बाँकी रहेको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रका फोन नम्बर १६६०–०१–७७७७ र ०१–४७८९८९८ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी
चितवन । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औँ केन्द्रीय परिषद् तथा ११औँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । चितवनको सौराहामा हालै सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गङ्गाधर भट्टराई, उपाध्यक्षहरूमा खुलातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगतलाई चयन गरेको हो । महासचिवमा सञ्जिवकुमार भडेल, उपमहासचिवहरूमा खुलातर्फ अरमेन्द्रकुमार यादव, महिलातर्फ रश्मी श्रेष्ठ र आदिवासी जनजातितर्फ सुरेश अवाल निर्वाचित भएका छन् । सचिवमा अतिन्द्र राउत, गोविन्दप्रसाद बस्तोला र विश्वबन्धु भण्डारी निर्वाचित भएको अध्यक्ष केसीले जानकारी दिए । कोषाध्यक्षमा प्रतिज्ञा भट्ट र सहकोषाध्यक्षमा राहुल कर्ण चयन भएका छन् । केन्द्रीय सदस्यतर्फ खुलाबाट प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेशकुमार खत्री र शैलेस रिजाल चयन भएका छन् । भौगोलिक प्रतिनिधित्वअनुसार कोशी प्रदेशबाट मनोज चापागाईं, मधेस प्रदेशबाट बित्टु गुप्ता, बागमती प्रदेशबाट अनिलराज पाण्डे, गण्डकी प्रदेशबाट कृष्णप्रसाद सुवेदी, लुम्बिनी प्रदेशबाट प्रीतम राना, कर्णाली प्रदेशबाट रमेश खड्का र सुदूरपश्चिम प्रदेशबाट चन्द्रबहादुर बोगटी चयन भएका छन् । महिला आरक्षणतर्फ रमा पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने र निलम शर्मा चयन हुनुभएको छ भने मधेसी आरक्षणतर्फ अजय प्रताप यादव र भवनाथ यादव चयन भएका छन् । आदिवासी जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) का रूपमा अङ्कित रावल चयन भएका छन् । संघमा एक हजार ३०० भन्दा बढी सदस्य आबद्ध छन् ।