काठमाडौं । नेपाल र श्रीलंकाबीच डिजिटल भुक्तानीलाई थप सरल र सुरक्षित बनाउने उद्देश्यले क्रस-बोर्डर क्युआर भुक्तानी सेवाको औपचारिक सुरुवात भएको छ ।
नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र श्रीलंकाको 'लन्कापे' बीचको सहकार्यमा आइतबार एक समारोहबीच यो सेवाको सुरुवात गरिएको हो ।
यो व्यवस्थासँगै अब श्रीलंका भ्रमण गर्ने नेपाली पर्यटकहरूले नेपालका मोबाइल बैंकिङ्ग एप वा कनेक्ट आइपीएसमार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी 'लन्का क्युआर' मर्चेन्टहरूमा सिधै स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।
दक्षिण एसियाली देशहरूबीच डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताका लागि यसलाई एक महत्त्वपूर्ण कोषेढुङ्गाको रूपमा लिइएको छ । यस सेवाको प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले इसुअर बैंकको रूपमा सेवा सुरु गरेको छ ।
जसअनुसार प्रयोगकर्ताले आफ्नो डलर कार्ड वा उपकरणलाई कनेक्ट आइपीएसमा लिंक गरी श्रीलंकामा रियल-टाइम भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा अन्य बैंकका मोबाइल एपहरूमा पनि यो सुविधा थप गर्दै लैजाने योजना रहेको छ ।
यो पहलले नेपाल र श्रीलंकाबीचको वर्षौ पुरानो ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई प्रविधिमार्फत थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
विशेष गरी पर्यटक र व्यापारिक भ्रमणमा जानेहरूका लागि नगद बोक्नुपर्ने झन्झट हट्नुका साथै सुरक्षित र डिजिटल माध्यमबाट कारोबार गर्न सहज हुनेछ ।
यस व्यवस्थाले साना तथा मझौला व्यवसायीहरूलाई समेत अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच पुर्याउन नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
श्रीलंकाको कोलाम्बोमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ श्रीलंका, एनसीएचएल र लन्कापेका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
दुवै देशका राष्ट्रिय भुक्तानी पूर्वाधारहरूलाई जोड्ने यो कदमले क्षेत्रीय स्तरमा वित्तीय समावेशीकरण र आधुनिक भुक्तानी प्रणालीको स्वीकार्यतालाई बढावा दिने मन्त्रालय तथा सम्बद्ध निकायहरूले जनाएका छन् ।