टाटा मोटर्सले ल्यायो ‘न्यू इयर बिग स्विच’ अभियान, पुरानो गाडी साटेर नयाँ गाडी चढ्ने मौका

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकका लागि चार दिने विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सुरु गरेको छ । माघ १ देखि ४ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा ग्राहकहरूले पुरानो गाडी साटेर टाटाका अत्याधुनिक सवारीमा अपग्रेड गर्न सक्नेछन् । कम्पनीका अनुसार अभियानको मुख्य उद्देश्य ग्राहकलाई पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन उपलब्ध गराउँदै नयाँ गाडीको अनुभव दिलाउनु हो । योजना अवधिभर बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार र नगद छुटको सुविधा पाउनेछन् । विशेष गरी विद्युतीय सवारी (ईभी) मा रुचि राख्ने ग्राहकका लागि आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र होम चार्जिङ जडान उपलब्ध गराइएको छ । त्यस्तै, नयाँ गाडी खरिद गर्दा एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज समेत प्रदान गरिनेछ ।

धनगढीमा टाटा मोटर्सको ‘माघी एक्सचेन्ज उत्सव’, पुरानो गाडी साटेर नयाँ गाडी चढ्ने अवसर

काठमाडौं । सुदूरपश्चिमका ग्राहकलाई लक्षित गर्दै टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु गर्न लागेको छ ।  माघ १ देखि ३ गतेसम्म बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा आयोजना हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी जस्ता अत्याधुनिक मोडलहरू प्रदर्शन र टेस्ट ड्राइभका लागि उपलब्ध हुनेछन् । कम्पनीका अनुसार, पर्वको अवसरमा पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्नेछ । कार्यक्रममा सहभागी ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, निःशुल्क चार्जिङ बक्स (जडान सहित), लाइफ टाइम चार्जिङ सुविधा र निःशुल्क एभीटीसहित हरेक बुकिङमा उपहार पाउनेछन् । सिप्रदी ट्रेडिङका अनुसार यस अभियानले ग्राहकलाई आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने विश्वास छ । ग्राहकहरूले धनगढीको बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सका नयाँ र अत्याधुनिक डिजाइन भएका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।  

विश्वव्यापी ईभी बजारमा मन्दीको संकेत

काठमाडौं । विश्वव्यापी रूपमा विद्युतीय सवारी (ईभी) को दर्ता गत वर्ष २० प्रतिशतले बढेको भए पनि २०२६ मा यसको वृद्धिदर सुस्तिने सम्भावना देखिएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार चीनमा आएको मन्दी र विश्वभर विद्युतीकरण लक्ष्यहरू खुकुलो बनाइँदा डिसेम्बरमा बिक्री वृद्धिदर फेब्रुअरी २०२४ यताकै सबैभन्दा कम भएको हो । ब्याट्री–इलेक्ट्रिक र प्लग–इन हाइब्रिडसमेतका ईभीको मासिक दर्ता संख्या उत्तर अमेरिकामा अझै घटेको छ । अमेरिकामा ईभी कर छुट (ट्याक्स क्रेडिट) योजना अक्टोबरमा समाप्त भएपछि यस्तो गिरावट आएको परामर्शदाता संस्था बेन्चमार्क मिनरल इन्टेलिजेन्स (बीएमआई) ले जनाएको छ। बीएमआईका डेटा म्यानेजर चार्ल्स लेस्टरका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विद्युतीकरण नीतिमा यू–टर्न र युरोपेली संघमा उत्सर्जन मापदण्ड खुकुलो पारिनुजस्ता आमूल नीतिगत परिवर्तनले २०२५ मा विश्व ईभी बजारलाई ‘झण्डै पहिचानै नहुने’  अवस्थासम्म हल्लाइदिएको छ । युरोपमा बढ्दो प्रतिस्पर्धा र चीनमा चिसिँदो मागका कारण सीओटू उत्सर्जन घटाउन विद्युतीकरण आवश्यक ठान्ने पक्ष र छिटो रूपान्तरणले रोजगारी र नाफामा खतरा ल्याउँछ भन्ने कार निर्माता कम्पनीहरूबीचको बहस अझ चर्किने सम्भावना छ । बिक्रीको सूचक मानिने विश्वव्यापी ईभी दर्ता संख्या डिसेम्बरमा ६ प्रतिशतले बढेर झण्डै २१ लाख पुगेको छ । सन् २०२५ मा कुल २ करोड ७ लाख ईभी दर्ता भएका छन् । चीनमा दर्ता संख्या २ प्रतिशतले बढेर १३ लाखभन्दा बढी पुगेको छ, जुन फेब्रुअरी २०२४ यताकै सबैभन्दा कम वार्षिक वृद्धिदर हो । यसले २०२५ मा कुल १२.९ मिलियन एकाइ पुग्दै १७ प्रतिशत वृद्धि देखाएको छ । विश्वभर बिक्री भएका ईभीमध्ये ७१ प्रतिशत चीनमै उत्पादन भएका हुन् । उत्तर अमेरिकामा अमेरिकी कर छुट अन्त्यसँगै अक्टोबर र नोभेम्बरजस्तै डिसेम्बरमा पनि गिरावट देखिँदै दर्ता संख्या ३९ प्रतिशतले घटेर करिब १ लाखमा सीमित भएको छ । समग्र २०२५ मा यो क्षेत्र ४ प्रतिशतले घटेको छ । युरोपमा डिसेम्बरमा ३४ प्रतिशतले बढेर ४.५ लाखभन्दा बढी दर्ता भएको छ भने वर्षभर ३३ प्रतिशत वृद्धि भएको छ । विश्वका अन्य क्षेत्रहरूमा डिसेम्बरमा ४१ प्रतिशतले बढेर १.६ लाखभन्दा बढी र २०२५ मा ४८ प्रतिशत वृद्धि भएको छ । बीएमआईका अनुसार यस वर्ष विश्वभर २ करोड ३९ लाख ईभी बिक्री हुने अपेक्षा छ, जुन १५.७ प्रतिशत वृद्धि हो । चीनमा वृद्धिदर तीव्र भएर २१ प्रतिशत पुग्ने, तर युरोप र विश्वका अन्य क्षेत्रमा क्रमशः १५ र २६ प्रतिशतमा सुस्तिने अनुमान गरिएको छ । अमेरिकामा २९ प्रतिशतको ठूलो गिरावटका कारण उत्तर अमेरिकामा कुल बिक्री २३ प्रतिशतले घट्ने पूर्वानुमान गरिएको छ ।