एड्भेन्चर सेग्मेन्टमा प्रतिस्पर्धा बढाउने सुजुकी भी–स्ट्रोम २५० का दुई नयाँ रङ बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले आफ्नो लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सको दुई नयाँ रङ भेरियन्टहरू सार्वजनिक गरेको छ । बुधबार सुजुकीले सेतो र नीलो रङका नयाँ मोडलहरू सार्वजनिक गरेको हो । यसको सुरुवाती मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो मोटरसाइकल २४९.९९ सीसी इन्जिन क्षमताको जापानी प्रविधिमा आधारित रहेको छ । भी–स्ट्रोम २५० एड्भेन्चर र सिटी राइड दुवैका लागि उपयुक्त मानिन्छ । नयाँ दुई रङसहित अब यो मोटरसाइकल बजारमा सेतो, नीलो, पहेँलो र कालो–रातो कम्बिनेसन गरी कुल ४ चार रङ विकल्पमा उपलब्ध हुने सुजुकी नेपालले बताएको छ । सुजुकी भी–स्ट्रोम २५० मा सुजुकी ओइल कुलिङ सिस्टम इन्जिन जडान गरिएको छ । सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले सन् १९९२ मा सुजुकीले नै मोटरसाइकलमा तेल कुलिङ प्रविधिको आविष्कार गरेको बताए । पारस जैन उनले विकास न्युजसँग भने, ‘यो प्रविधिले इन्जिनलाई अत्यधिक तापक्रममा समेत चिसो राखी उत्कृष्ट कार्यक्षमता प्रदान गर्छ । यसले पानी कुलिङभन्दा कम वजन, कम मर्मत खर्च र तीव्र तापक्रम व्यवस्थापनजस्ता फाइदाहरू प्रदान गर्छ ।’ उनका अनुसार बाइकको बीएचपी २६.५ छ । यसको टप स्पिड १४० देखि १५० किलोमिटर प्रतिघण्टासम्म रहेको दाबी गरिएको छ । जैनले सामान्य रूपमा ४८ देखि ५० किलोमिटरसम्म र हार्श ड्राइभिङमा पनि ३५ किलोमिटर माइलेज दिने जानकारी दिए । यसको कर्भ वेट १६७ केजी मात्र छ । जुन यस सेगमेन्टका धेरै बाइकभन्दा हलुका हो । यसमा विन्ड सिल्ड, नकल गार्ड र एलइडी हेडलाइट जस्ता सुविधाहरू पनि समावेश छन् । भी–स्ट्रोम ६५०, ८५०, र १०५० सीसीका सुपरबाइकहरूको सानो संस्करणको रूपमा २५० सीसीको यो मोडल बजारमा ल्याइएको कम्पनीले जनाएको छ। जैनका अनुसार नेपालका सडकका लागि एड्भेन्चर बाइक एक कम्प्लिट प्याकेज हो । यसलाई हाइवेमा चलाउँदा आरामदायी छ भने खराब सडक, ग्राभेल, हिलो वा पानीमा चलाउँदा पनि कुनै समस्या नआउने उनले बताए । नयाँ भी–स्ट्रोम २५० का सुरुमा टेष्ट गर्ने प्रयोगकर्ताहरूले यसको प्रशंसा गरेका छन् । डा. प्रसन्न खड्का जसले तीन दिनमा ६०० किलोमिटर यात्रा गरिसकेका छन् । उनले यसको इन्जिन बट्री स्मूथ र रेस्पोन्सिभ भएको बताए। सस्पेन्सन अलि सुधार गर्न सकिने भए पनि उनले ४८.४ किलोमिटर प्रति लिटरको माइलेज पाउनु सुखद भएको बताए । लामो दूरीको यात्रामा पनि कम्मर वा हातमा कुनै दुखाइ नभएको भन्दै उनले यसलाई बबाल बाइकको संज्ञा दिए । सिटको उचाइ र आरामदायीपन राम्रो भएको र यसलाई एक्स्ट्रिम र एड्भेन्चर किट प्रयोग गरी पूर्ण अफ–रोडर बनाउन सकिने सुविधा पनि रहेको उनले औंल्याए । विगत ७ सात वर्षदेखि सुजुकीको बाइक चलाइरहेका डा. प्रसन्नले सर्भिस खर्च पनि निकै कम भएको बताए । त्यस्तै, चितवनका उमेश राईले पनि आफ्नो तीन दिनको अनुभवमा बाइक निकै कम्फर्टेबल र पावरफुल पाएको बताए । यामाहा भी २ चलाइरहेका उनले भी–स्ट्रोम २५० आफूलाई निकै राम्रो लागेको र यसमा कुनै शंका नरहेको बताए । उनले लामो ड्राइभ नगरे पनि हाइवेमा चलाउँदा अहिलेसम्म सबै कुरा ठीक लागेको अनुभव सुनाए । तिहार अगाडि नै लिने योजना बनाए पनि सर्टेजका कारण २/३ महिना कुर्नुपरेको उनले बताए । सुजुकी भी–स्ट्रोम २५० को टेस्ट ड्राइभका लागि काठमाडौंमा टेकु, ग्वार्को भक्तपुर र बसुन्धारामा रहेका सुजुकीका आधिकारिक आउटलेटहरूमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालभरिका अन्य आधिकारिक सुजुकी सोरुमहरूमा पनि टेस्ट ड्राइभको सुविधा उपलब्ध रहेको छ।
एउटै हायर पर्चेज कम्पनीसँग ९ अर्ब ऋण, १० वटाले लिए साढे ३२ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर विभिन्न १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा रहेका छन् ।सामान्यतया गाडी, मोटरसाइकल, मेसिनरी, फर्निचर जस्ता महँगा सामान किन्दा ऋण उपलब्ध गराउने काम हायर पर्चेज कम्पनीले गर्ने गर्छन् । हायर पर्चेज कम्पनीहरूले ठूलो मात्रामा फाइनान्सिङको काम गर्दै आएका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार ओम्नी, हुलास फिनसर्भ, सिप्रदी, एमएडब्लू, बतास, स्याकार, जगदम्बा, भेन्चर, मनोकामना र अग्नी हायर पर्चेज कम्पनी सञ्चालनमा रहेका छन् । यी कम्पनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट साढे ३२ अर्ब रुपैयाँ ऋण लिएर फाइनान्सिङको काम गरिरहेका छन् । ओम्नी हायर पर्चेज प्रालि ओम्नी ग्रुप अन्तर्गतको ओम्नी हायर पर्चेज प्रालिले एक वर्षमा करिब २८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २७ करोड ९० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको जनाएको छ । यस्तै, कम्पनीले सन् २०२४ मा २५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ३३ करोड १० लाख रुपैयाँ, सन् २०२० मा ३७ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ४४ करोड ४० लाख रुपैयाँको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । सन् १९९१ देखि हायर पर्चेज कर्जाको सेवा दिँदै आएको यस कम्पनीले सन् २०१७ मा राष्ट्र बैंकबाट अनुमति पाएको थियो । कम्पनीमा तीन जनाको सेयर स्वामित्व छ जसमा आत्मराम काब्राको ४५ प्रतिशत, नारायण काब्राको ४५ र सन्दिप कुमार महताको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६९ करोड रुपैयाँ दीर्घकालीन र ४ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी २ अर्ब ७३ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । हुलास फिनसर्भ हायर पर्चेज गोल्छा ग्रुपको हुलास फिनसर्भ हायर पर्चेजले सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यस्तै, कम्पनीले सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ५२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६१ करोड ३० लाख सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ सन् २०२५ मा १ अर्ब ४९ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै, सन् २०२४ मा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ७० लाख रुपैयाँ र सन् १ अर्ब ४ करोड ८० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । सुरुमा हुलास इन्भेस्टमेन्ट प्रालिको नाममा स्थापना भएको यस कम्पनीले सन् २०२१ मा नाम परिवर्तन गरेर हुलास फिनसर्भ हायर पर्चेज राखेको थियो । हाल आईपीओ निष्कासनको तयारीमा रहेको हुलास फिनसर्भमा हंसराज हुलासचन्द एण्ड कम्पनी र बजाज मोटरसाइकल बिक्रेताको ८२ प्रतिशत सेयर स्वामित्व रहको छ । बाँकी १८ प्रतिशत सेयर स्वामित्व अन्य सेयरधनीको नाममा छ । कम्पनीको प्रबन्ध निर्देशकमा भने शेखर गोल्छा रहेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्कअनुसार कम्पनीले पछिल्लो समय विभिन्न बैंकहरूबाट ८ अर्ब ५५ करोड रुपैयाँ ऋण लिएर फाइनान्सिङ सेवा दिइरहेको छ । सिप्रदी हायर पर्चेज प्रालि सिप्रदी हायर पर्चेज प्रालिले सन् २०२५ को ९ महिनामा ३९ करोड २० लाख रुपैयाँ बराबरको कुल आम्दानी गरेको जनाएको छ । कम्पनीले सन् २०२४ मा ५८ करोड रुपैयाँ, सन् २०२३ मा ५२ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ४९ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ६७ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ सन् २०२५ को ९ महिनामा १ अर्ब १२ करोड ३० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा १ अर्ब १४ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ९४ करोड रुपैयाँ, सन् २०२२ मा ९२ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ७८ करोड ४० लाख नेटवर्थ थियो । सन् २०१४ मा स्थापित यो कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालको लागि आधिकारित डिलर हो । सिद्धार्थ राणा अध्यक्ष रहेको यस कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब १० करोड रुपैयाँ ऋण लिएको तथ्याङ्क छ । एमएडब्लू हायर पर्चेज एमएडब्लू हायर पर्चेजले सन् २०२५ को पहिलो त्रैमासमा १० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने सन् २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सन् २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो। कम्पनीको नेटवर्थ भने सन् २०२५ को पहिलो त्रैमासमा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा ५७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड रुपैयाँ र सन् २०२२ मा ४९ करोड ४० लाख रुपैयाँ नेटवर्थ थियो । सन् २०११ मा स्थापित यस कम्पनीमा एमएडब्लू प्रालिको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको नेतृत्व भने अग्रवालले नै गरिरहेका छन् । साथै, कम्पनीले विभिन्न बैंकहरुबाट २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋण लिएको छ । बतास हायर पर्चेज बतास हायर पर्चेजले सन् २०२५ को पहिलो त्रैमासमा १० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा २७ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २१ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा २३ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा २१ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको थियो । सन् २०२५ को पहिलो त्रैमासमा कम्पनीको नेटवर्थ २३ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै, सन् २०२४ मा २७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ३५ करोड ३० लाख रुपैयाँ, सन् २०२१ मा ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा १७ करोड ९० लाख रुपैयाँ नेटवर्थ थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २४ करोड रुपैयाँ दीर्घकालिन र १ करोड ४० लाख रुपैयाँ अल्पकालीन गरी २ अर्ब २६ करोड रुपैयाँ ऋण लिएको छ । बतास समूहले सन् २००३ मा स्थापना गरेको बतास हायर पर्चेज प्रालिलाई मार्च २०२५ मा केडिया ग्रुपले खरिद गरेको हो । केडिया अर्गनाइजेसन नेपालको एक स्थापित व्यावसायिक घराना हो । कम्पनीको अध्यक्ष सानु काजी तमोट रहेको छ । स्याकार हायर पर्चेजन स्याकार हायर पर्चेजले सन् २०२५ को ८ महिनामा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा १० अर्ब ८४ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् १९७६ मा स्थापित स्याकार ट्रेडिङ कम्पनीको अध्यक्ष सौरभ ज्योति र सुहृद ज्योति उपाध्यक्ष छन् । स्याकारको कार्यालय ज्योति भवन, कान्तिपथ, काठमाडौंमा छ भने आफ्नै १६ वटा बिक्री शोरूमहरू र १०० डिलरहरूको डिलरशिप नेटवर्क छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ दीर्घकालिन र ४ अर्ब ६४ करोड ६० लाख रुपैयाँ अल्पकालीन गरी ६ अर्ब १४ करोड ६० लाख रुपैयाँ ऋण लिएको छ । जगदम्बा हायर पर्चेज शंकर ग्रुपको जगदम्बा हायर पर्चेजको सन् २०२४ जुलाइसम्मको तथ्याङ्कअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७६ करोड ४४ लाख रुपैयाँ बराबरको ऋण लिएको तथ्याङ्क छ । त्यसयता कम्पनीले कुनै पनि विवरण सार्वजनिक गरेको देखिँदैन । कम्पनीले आव २०८०/८१ मा ८ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको देखिन्छ । भेन्चर हायर पर्चेज प्रालि भेन्चर हायर पर्चेज प्रालिले सन् २०२४ मा २६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको तथ्याङ्क छ । त्यसपछिको कारोबारको विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीले सन् २०२३ मा १७ करोड रुपैयाँ, सन् २०२२ मा ६ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । साथै, कम्पनीको नेटवर्थ सन् २०२४ सम्ममा ४३ करोड ३० रुपैयाँ थियो । त्यसअघि सन् २०२३ मा ३८ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३४ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ३१ करोड ९० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको तथ्याङ्क छ । सन् २०१७ मा स्थापित भेन्चर हायर पर्चेज प्राइभेट लिमिटेडले सन् २०१९ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमति पत्र लिएको थियो । यस कम्पनीमा आइएमई ग्रुपको लगानी छ । सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् । मनोकामना हायर पर्चेज प्रालि मनोकामना हायर पर्चेज प्रालिको प्रालिको पनि सन् २०२४ सम्ममा ४१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । कम्पनीले सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३३ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२४ मा ३० करोड ५० लाख रुपैयाँ नेटवर्थ रहेको छ । यस्तै सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३८ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ३३ करोड ८० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २७ करोड २९ लाख रुपैयाँ ऋण लिएको छ । एमभी दुगड ग्रुपको एक हिस्साको रुपमा रहेको मनोकामना हायर पर्चेजले सन् २०१९ मा राष्ट्र बैंकबाट अनुमति पाएसँगै फाइनान्सिङको काम गर्दै आएको छ । एमभी दुगड समूह नेपालमा एक शताब्दी भन्दा बढी समयदेखि व्यावसायिक क्षेत्रमा आबद्ध छ । कम्पनीमा विवेक दुगडको ९० प्रतिशत सेयर स्वामित्व रहेको छ । अग्नि हायर पर्चेज प्रालि अग्नि हायर पर्चेजले सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा ६ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा १ करोड ५० लाख रुपैयाँ र सन् २ं०२० मा २ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२४ मा कम्पनीको नेटवर्थ ४१ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ३७ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३५ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा ३४ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ३३ करोड ३० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड ऋण लिएको छ । सन् २०१४ मा स्थापित अग्नि हायर पर्चेज कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन् । यस कम्पनीमा उनको ४५ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३३ प्रतिशत र अर्जुन प्रसाद शर्माको २२ प्रतिशत सेयर स्वामित्व छ । अध्यक्ष श्रेष्ठ अग्नि ग्रुपका प्रबन्ध निर्देशक पनि हुन्।
‘होन्डा अल न्यु सीआर-भी’ नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा ‘होन्डा नयाँ सीआर–भी’ को बिक्री–वितरण औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले ग्राहकहरूको बढ्दो चाहना र मागलाई ध्यानमा राख्दै यो नयाँ मोडेल प्रस्तुत गरेको हो । कम्पनीका अनुसार यो गाडीमा अत्याधुनिक प्रविधि र विलासी सुविधाहरू रहेका छन् । यसमा १.५ लिटर क्षमताको पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ । गाडीको भित्री संरचना (इन्टेरियर) र सुविधामा विशेष ध्यान दिइएको छ । वेलकम सिट, पूर्ण एलईडी बत्ती तथा पानोरामिक सनरुफ जस्ता सुविधाले यात्रालाई सन्तोषजनक बनाउँछन् । साथै, चालक र यात्रुको स्वास्थ्यलाई मध्यनजर गर्दै यसमा प्लाज्मा क्लस्टर वायु–शुद्धिकरण प्रविधि प्रयोग गरिएको छ। गाडीमा १० वटासम्मका सुरक्षा एयरब्याग व्यवस्था गरिएको छ । २१० एमएम ग्राउन्ड क्लिअरेन्स भएकाले नेपालको कच्ची तथा उकालो–ओरालो सडकमा पनि यो उत्कृष्ट रूपमा चल्न सक्छ । यसमा १०.२ इन्चको स्पर्श–स्क्रिन (टच डिस्प्ले), चालकको सम्झना सिट (ड्राइभर मेमोरी सिट) तथा १२ वटासम्मका बोस प्रिमियम स्पिकरहरू जडान गरिएको छ, जसले फरक अनुभव दिन्छ । सुरक्षाका लागि यसमा उन्नत चालक–सहयोग प्रणाली स्तर–२ जडान गरिएको छ, जसले यात्रा अझ सुरक्षित बनाउँछ। यो गाडी ७ सिट क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि उपयुक्त विकल्प मानिन्छ । कम्पनीका अनुसार, उनीहरू नेपाली ग्राहकहरूलाई अत्याधुनिक प्रविधि र सुविधायुक्त गाडी उपलब्ध गराउन निरन्तर प्रतिबद्ध छन् । ‘होन्डा नयाँ सीआर–भी’ ले नेपालमा विलासी (लक्जरी) तथा उच्च प्रदर्शन (पर्फर्मेन्स) सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ । यो गाडी कालो, सेतो, नीलो र चाँदी (सिल्भर) गरी चार आकर्षक रङमा उपलब्ध हुनेछ । अनुभव लिन तथा परीक्षण यात्रा (टेस्ट राइड) गर्न इच्छुक ग्राहकहरूले ललितपुरको धोबिघाटस्थित होन्डा शोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।