सवारी साधनमा कर नीति फेरबदलले मूल्य बढ्ने संकेत, नाडाको चासो
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । बजेटमार्फत सरकारले विद्युतिय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागू गर्ने व्यवस्था गरेकोप्रति नाडाले चासो व्यक्त गरेको हो । नाडाका अनुसार सरकारले अवलम्बन गरेको नयाँ कर नीतिका कारण विद्युतिय मात्र नभई इन्धनबाट चल्ने सवारी साधनहरुको मूल्यसमेत बढ्ने देखिएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भएको दुई दशक बितिसकेको र देश कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रतर्फ उन्मुख भइरहेको सन्दर्भमा सवारी साधनमा थप कर वृद्धि नगर्न नाडाले अपेक्षा राख्दै आएको थियो । यसअघि मोटरको ‘पिक पावर’ का आधारमा महशुल दर कायम गरिँदै आएकोमा नयाँ बजेटले कारोवार मूल्यका आधारमा कर निर्धारण गर्ने व्यवस्था गरेको छ । नाडाले लामो समयदेखि स्थिर कर नीतिको माग गर्दै आएको र विशेषगरी विद्युतिय सवारी साधनमा प्रवर्द्धनात्मक नीति आवश्यक रहेको बताउँदै आएको थियो । तर, नयाँ व्यवस्थाले मूल्यका आधारमा कर निर्धारण गर्नुका साथै थप शीर्षकमार्फत अतिरिक्त महशुल लगाउने नीति ल्याएको भन्दै नाडाले चिन्ता व्यक्त गरेको छ । नाडाका अनुसार नयाँ कर संरचनाले अधिकांश सवारी साधनको मूल्य वृद्धि हुने सम्भावना छ । मूल्य स्थिरता कायम राख्न नेपाली रुपैयाँको सट्टा डलरको आधारमा कर निर्धारण गर्नु व्यावहारिक हुने सुझावसमेत नाडाले दिएको छ । यता, बजेटले करिब ३ खर्ब रुपैयाँ सडक पूर्वाधार निर्माणमा विनियोजन गर्दै अधुरा सडक तथा राजमार्ग समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । यसलाई नाडाले सकारात्मक रूपमा लिँदै तीव्र गतिमा हुने पूर्वाधार विकासले अटोमोबाइल व्यवसायलाई समेत चलायमान बनाउने विश्वास व्यक्त गरेको छ । समग्रमा बजेट केही महत्वाकांक्षी देखिए पनि प्रभावकारी कार्यान्वयन हुन सके देशको अर्थतन्त्र चलायमान हुने र दीर्घकालीन रूपमा सन्तुलित तथा भविष्य निर्माणमुखी बजेटका रूपमा रहने नाडाको धारणा छ ।
नाडाको पहिलो ‘हरित ड्राइभ र्याली’ काठमाडौंमा सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल्स संघ नेपालले पहिलो पटक 'नाडा हरित ड्राइभ २०२६' र्याली कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । जेठ २२ गते विश्व वातावरण दिवस २०२६ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम वातावरणमैत्री सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको हो । कार्यक्रममा विभिन्न ब्रान्डका विद्युत् (इलेक्ट्रिक) सवारी साधनहरूको सहभागिता रहेको थियो । र्याली नाडा सचिवालय टेकुबाट सुरु भई त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली हुँदै कुपण्डोलस्थित द प्लाजामा पुगेर समापन गरिएको थियो । र्यालीमा सहभागी ९२ जनालाई नाडा अटोमोबाइल्स संघ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरू शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालको समेत उपस्थिति रहेको थियो । प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेका थिए । र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए । नाडा अटोमोबाइल्स संघ नेपालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सदस्य, सहभागी तथा साझेदार संस्थाहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कर छलीको आरोपमा बीवाईडीले भन्यो– कुनै अनुचित लाभ लिएका छैनौं, छानबिन गर्न खुला छौं
काठमाडौं । नेपालका लागि चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बजेट भाषणअघि भएका विद्युतीय गाडी आयात र भन्सार जाँचपासका सम्बन्धमा स्पष्टिकरण दिएको छ । चालू आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा गाडी भन्सार पास गराएर राजस्व छली वा अनुचित लाभ लिन खोजेको भन्दै आलोचना भएपछि कम्पनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । साइमेक्स इंकले भन्सार जाँचपास गरिएका सम्पूर्ण सवारीसाधनहरू नेपाल सरकारको प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा स्थापित प्रक्रियाअनुसार नै पूर्ण रूपमा आयात गरिएको दावी गरेको छ । कम्पनीका अनुसार चीनतर्फको भन्सार क्षेत्रमा २२६ वटा सवारीसाधन आइपुगेको भए पनि तिनको हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन । ती गाडीहरू अझै प्रक्रियाकै क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध नै गरेको छ ।’ सरकारी निकायसँग मिलेमतो गरी कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य र कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालको रहेको दाबी कम्पनीको छ । बजेट अगाडि गाडी भन्सार पास हुनुलाई कम्पनीले एक नियमित व्यावसायिक प्रक्रियाका रूपमा व्याख्या गरेको छ । ग्राहकहरूले पहिले नै बुकिङ गरिसकेका गाडीहरूको माग सम्बोधन गर्न ती साधनहरू आयात गरिएको साइमेक्सको भनाइ छ । यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, मौज्दात व्यवस्थापन तथा यातायात र ढुवानीका चुनौतीहरूलाई ध्यानमा राखेर पहिले नै तय गरिएको योजनाअनुसार नै भएको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले आफू कानुनको पालना, पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रति सधैं प्रतिबद्ध रहेको दोहोर्याउँदै यस विषयमा हुने जुनसुकै वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ । सत्यतथ्य स्थापित गर्न आवश्यक पर्ने आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशका कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी सम्पूर्ण दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको कम्पनीले उल्लेख गरेको छ । साइमेक्स इंकले सञ्चारमाध्यम तथा सरोकारवाला पक्षहरूलाई आधिकारिक अभिलेख र सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गरेको छ । सार्वजनिक रूपमा भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा क्षति पुर्याउने खालका सामग्री प्रकाशन नगर्न कम्पनीले अनुरोध गरेको छ । नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायात (इलेक्ट्रिक मोबिलिटी) को विकासमा यस क्षेत्रले ठूलो योगदान दिएको भन्दै सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण आवश्यक रहेको पनि कम्पनीले जनाएको छ । कर बढ्ने सूचना र मौखिक रिपोर्टले रातारात तरंग