काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ । कम्पनीले आधिकारिक मूल्य सार्वजनिक हुनुअघि नै ग्राहकलाई आफूले अनुमान गरेको मूल्यमै गाडी खरिद गर्ने अवसर दिने विशेष योजना पनि ल्याएको छ ।
कम्पनीले ‘गेस एन्ड बुक द अल न्यू इ.मास ५ एट योर प्राइस’ अभियान सञ्चालन गर्दै ग्राहकलाई गाडीको मूल्य अनुमान गरेर सोही मूल्यमा बुकिङ गर्ने अवसर दिएको हो । लन्च मूल्य वा त्यससँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्न सक्नेछन् ।
योजनाअन्तर्गत ग्राहकले कम्पनीको वेबसाइटमा गई आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत अनुमानित मूल्य दर्ता गर्न सक्नेछन् । ‘इ.मास ५ प्राइम’ भेरियन्टका लागि २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म र ‘प्रिमियम’ भेरियन्टका लागि ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्मको मूल्य दायरा तोकिएको छ ।
कम्पनीका अनुसार नियमअनुसार सहभागी भएकामध्येबाट लक्की ड्रमार्फत प्रत्येक भेरियन्टका पाँच–पाँच जना विजेता छनोट गरिनेछ। उनीहरूले आफूले अनुमान गरेको मूल्यमै गाडी खरिद गर्न पाउनेछन् ।
जगदम्बा मोटर्सले इ.मास ५ को बुकिङ रकम एक लाख रुपैयाँ निर्धारण गरेको छ । ग्राहकले बैंक वा अनलाइनमार्फत रकम भुक्तानी गरी आवश्यक कागजात बुझाएर वा कम्पनीको वेबसाइटमार्फत भौचर अपलोड गरेर बुकिङ गर्न सक्नेछन् ।
प्रोटोन र जिलीको सहकार्यमा विकास गरिएको इ.मास ५ ले हालै मलेसियामा आयोजित ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि जितेको थियो। कम्पनीका अनुसार यो नेपालमा आफ्नो सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हुनेछ ।
नेपालमा विद्युतीय सवारीको माग निरन्तर बढिरहेका बेला इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा ग्राहकका लागि आकर्षक विकल्प बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।