काठमाडौं । एमएडब्लु वृद्धि ग्रुपले नेपाली बजारमा स्कोडाको नयाँ एसयूभी कुशाक सार्वजनिक गरेको छ । कम्पनीले १.५ लिटर टिएसआई इन्जिनसहित नयाँ भेरियन्टहरू ‘मोन्टे कार्लो’ र ‘स्पोर्टलाइन’ बजारमा ल्याएको हो ।
आइतबार (आज) स्कोडा कुशाकको नयाँ फेसलिफ्टसार्वजनिक गर्दै आजदेखि नेपाली बजारमा कुशाक खरिद गर्न सकिने एमएडब्लु वृद्धि ग्रुपका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले बताए । उनले स्कोडाको ऐतिहासिक पृष्ठभूमि र नेपालसँगको भावनात्मक सम्बन्धबारे चर्चा गरे ।
सन् १८९५ मा चेक गणतन्त्रबाट साइकल उत्पादनबाट सुरु भएको स्कोडाको यात्रा र नेपालजस्तै सानो तर आत्मसम्मानले भरिएको देशको पहिचानलाई उनले जोडेका थिए ।
उनले भने, ‘चेक गणतन्त्र र नेपाल दुवै ठूला महाद्वीपका साना तर गौरवशाली देश हुन्, जसले गर्दा स्कोडासँग हाम्रो विशेष निकटता छ ।’
अग्रवालका अनुसार कुशाक नेपालको सडक अवस्था र वातावरणलाई ध्यानमा राखेर स्कोडा २.० प्लेटफर्ममा डिजाइन गरिएको पहिलो गाडी हो ।
उनले यसअघि नै नेपालमा ६०० भन्दा बढी कुशाक बिक्री भइसकेको जानकारी दिँदै यो गाडी नेपाली ग्राहकको रोजाइमा परिसकेको दाबी गरे ।
युरोपेली प्रविधि, सुरक्षामा ५-स्टार
‘स्कोडाको मुख्य विशेषता भनेकै युरोपेली डीएनए हो, जसको अर्थ ड्राइभिङको वास्तविक आनन्द, उच्च सुरक्षा र पूर्ण आराम हो,’ अग्रवालले बताए ।
कुशाक युवा तथा बालबालिका दुवैको सुरक्षाका लागि ग्लोबल एनक्यापमा फाइभ स्टार रेटिङ पाउने नेपालकै पहिलो गाडीहरूमध्ये एक भएको उनले उल्लेख गरे ।

१.५ लिटर टिएसआई इन्जिनले कुशाकलाई अझ बढी शक्तिशाली बनाएको कम्पनीले जनाएको छ । यसमा विश्वकै उत्कृष्ट मानिने डीएसजी जडान गरिएको छ । अग्रवालले यस खण्डकै दुर्लभ मानिने ‘रियर मसाज’ सिटको सुविधा यस गाडीमा थपिएको जानकारी दिए ।
जसले यात्रुलाई विलासी अनुभव प्रदान गर्नेछ । यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव लिन चाहने ग्राहगहरुका लागि बनाइएको कम्पनीको भनाइ छ । स्कोडाको ९० वर्ष लामो रेसिङ इतिहासलाई सम्मान गर्दै ल्याइएको ‘मोन्टे कार्लो’ भेरियन्टले प्रिमियम र स्पोर्टी लुक चाहने ग्राहकलाई आकर्षित गर्ने उनले विश्वास व्यक्त गरे ।
कम्पनीले यसको सुरुवाती मूल्य ५७ लाख ९० हजार रहेको छ । अग्रवालले ग्राहकहरूलाई स्कोडाको नयाँ ड्राइभिङ अनुभव लिनका लागि टेस्ट ड्राइभमा सहभागी हुन आह्वानसमेत गरे । हालसम्म स्कोडाका २ हजार गाडी नेपाली सडकमा गुडिरहेको कम्पनीले जनाएको छ ।
