काठमाडौं । ह्युन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘ह्युन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगितामार्फत नेपाली फुटबलका युवा प्रतिभालाई अवसर प्रदान गर्दै ग्रासरुट फुटबल विकासमा योगदान पुर्याउने कम्पनीले जनाएको छ ।
ललितपुरको च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (यू–१६) को एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए । फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा रहेको ह्युन्डाईले ‘नेक्स्ट स्टार्ट्स नाउ’ अवधारणाअनुसार स्थानीय तहबाटै फुटबल प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक–५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० निओस र टिम पालिसेडबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा टिम भेन्यु विजेता बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित भयो ।
कम्पनीका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास बढाउने तथा खेलप्रतिको समर्पणलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको छ । साथै, एजी–१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको ग्रासरुट विकासलाई दीर्घकालीन रूपमा टेवा पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको कमी नभए पनि अवसरको अभाव रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई साकार पार्ने आत्मविश्वास प्रदान गर्ने बताए ।
ह्युन्डाई नेपालले युवा विकास, समुदायसँगको सहकार्य र ग्रासरुट खेलकुद प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।