विकासन्युज

प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गर्दै रास्वपा सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता मुकुल ढकालले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । प्रवक्ता ढकालका अनुसार मन्त्रालयको विषयमा भने सहमति हुन बाँकी रहेको र भोलीसम्म सहमति हुने उनले बताएका छन् ।

सरकारविरुद्ध आन्दोलन जारी राख्ने अटोमोवाइल व्यवसायीहरुको निर्णय

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निणर्य गरेको छ । चितवनमा शुक्रबार र शनिबार नाडाका अध्यक्ष धुर्व थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेलाले यस्तो निर्णय गरको हो । सरकारले ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान र १५० सिसिभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि उच्च ब्याजको कारण सहजता आउन नसकेको र व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्राे चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाले जनाएको छ । नाडाले मिति मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो । भेलाले वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने र  व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । सोहि दिन बसेको नाडाको १३ औं कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औं वार्षिक साधारण सभा माघ २७ गते काठमाडाैंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्रीमा एमाले-माओवादी आलोपालो सहमति

काठमाडौं । नेकपा (एमाले) र नेकपा(माओवादी) केन्द्रले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा भएको द्विपक्षीय बैठकमा दुई पार्टीबिच सो सहमति भएको हो । पहिलो चरणमा सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने र अर्को चरणमा एमालेले गर्ने सहमति भएको वैठकमा सहभागी नेताले प्रतिक्रिया दिएका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको संचालक समितिको बिहीबार बसेको बैठकले भट्टराईलाई संचालक समितिका अध्यक्षमा चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो । उनले सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । कम्पनीको संचालकमा नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल र प्रिया तायल चयन भएका छन् । उनीहरुले पनि नवनियुक्त अध्यक्ष भट्टराईबाट पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै, कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएका छन् । सुर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भइ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट पु ७ गतेबाट एकिकृत कारोबार सुरु गरिसकेका छन् ।

सिंहदरबारभित्र उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने

काठमाडौं । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । प्रमुख निकाय भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा चार्जिङ स्टेशन भए पनि तर कम क्षमता थिए । त्यसको अभाव परिपूर्तिका लागि सरकारले ३० किलोवाट क्षमताका पाँच वटा चार्जिङ स्टेशन निर्माण हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको ‘इनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले सो परियोजना निर्माण गर्न लागेको हो । आयोजना हेर्दै आउनु भएका सिनियर डिभिजनल इञ्जिनियर शालिकराम भण्डारीका अनुसार ३० किलोवाट क्षमताका डिसी चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । मन्त्रालय र आसपासका स्थानमा ती स्टेशन निर्माण हुनेछन् । पछिल्ला दिनमा विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएपनि चार्जिङ स्टेशन निर्माणको क्रमले अपेक्षित गति लिन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशन पनि अधिकांश अन्तिम चरणमा पुगेका छन् । कूल ५१ वटा त्यस्ता स्टेशन प्राधिकरणले निर्माण गरेको हो । त्यसमा १२ वटा सञ्चालनमा आएको र ३२ वटाको जडान सम्पन्न भएको छ । सिंहदरबारभित्रै द्रूत गतिको स्टेशन निर्माण भएपछि विद्युतीय सवारी साधनको प्रयोगमा थप अभिवृद्धि हुने सिडिई भण्डारीले जानकारी दिए । चार्जिङ स्टेशन निर्माणका लागि मन्त्रालयले आज बोलपत्रमार्फत् प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । स्टेशन निर्माणका लागि निजी वा सार्वजनिक संस्थाले आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हाे । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारी समेत पठाइसकिएको बताइएकाे छ । आजको बैठकमा नै साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेगरी सहमति भएको माओवादीका एक नेताले जानकारी दिए । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने जनाईएको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए । जनमत पार्टीका ६ जना सांसद छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ ।

बालकोट छलफल पछि जसपाले बोलायो बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बैठक बोलाएको छ । आइतबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सत्ता समीकरण विषयमा छलफल पछि जसपाले बैठक बोलाएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् । सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गर्न लागिएको जसपाले जनाएको छ ।

बालकोटमा पुगे सिके राउत

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् । नयाँ गठबन्धन निर्माणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपा नेता अशोक राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बालकोट पुगेका थिए ।