विकासन्युज

पशुपक्षी फार्मको मनग्य कमाइले दङ्ग धामी दम्पती

  कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आएका किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु पर्यो । कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो । ‘कोरोनापछि पसलमा ग्राहक आउनै छाडे’, उनले भने, ‘घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाड्नु पर्यो ।’ यद्यपि पसलबाट भएको आम्दानीबाट केही रकम बचत पनि थियो । उनले पसल छाड्ने बेलामा काकाले टर्कीपालनबाट राम्रो आम्दानी गरिरहेका थिए । एउटै टर्की बेच्दा चार हजार आम्दानी भएको देखैँ पछि उनी पनि पशुपक्षीपालनमा आकर्षित भएका थिए । तर उनीसँग ज्ञान भने थिएन । पशुपक्षीपालनअघि केही जानकारी इन्टरनेटबाट लिए भने केही काकासँग लिए । नगरपालिकामा फार्म दर्ता गरेपछि उनले लौकाट, स्थानीय जातका कुखुरा, चिनियाँ हाँस, कालिज, टर्की, बट्टाई, बङ्गुरपालन सुरु गरे । ‘सुरुमा अनुभव नहुँदा तीन सय कुखुरा र दुई दर्जनभन्दा बढी टर्कीका बच्चा मरे’, उनले भने, ‘नोक्सानी भए पनि त्यसबाट पाठ सिक्दै काम जारी राखे अहिले राम्रो आम्दानी भइरहेको छ ।’ पशुपक्षीपालन गर्नका लागि स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरी फार्म तयार गरिएको छ । कुखुरा, हाँस, कालिज टर्की, बट्टाई, बङ्गुरका लागि अलग–अलग रुपमा फार्म बनाइएका छन् । त्यसका लागि उनले पाँच लाख लगानी गरेका छन् । पशुपक्षीका लागि उनले चारो र औषधिमा मात्रै मासिक ३५ हजार खर्च गर्दै आएका छन् । फार्ममा धामी दम्पती दिनरात खटिन्छन् । ‘बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म दुवै जनाको समय फार्मको काममै बित्छ’, धामीले भने, ‘समय बितेको पत्तौ नै हुँदैन, मेहनत गरे अनुसारको आम्दानी हात लाग्दा निकै खुसी छौँ ।’ वार्षिक रुपमा खर्च कटाएर दुई लाखदेखि तीन लाखसम्म आम्दानी भइरहेको उनले सुनाए । यस वर्षको उनले दुई सय वटा टर्की दुई लाखमा बिक्री गरिसकेका छन् । त्यसबाहेक ५० हजारका कालिज, २० हजार, २५ हजारका चिनियाँ हाँस पनि बिक्री भइसकेका छन् । त्यसबाहेक उनका फार्ममा तीन लाखका लौकाट, दुई लाखभन्दा बढीका लोकल कुखुरा र एक लाख २० हजारभन्दाबढीका छ वटा बङ्गुर बिक्रीका लागि तयारी अवस्थामा छन् । स्थानीय बजारका व्यापारीसँगै धनगढी, महेन्द्रनगर लगायतका व्यापारी फार्ममै पुगेर पशुपक्षी खरिद गरेको उनको भनाइ छ । ‘बजार खोज्दै हिँडनु परेको छैन, व्यापारीले फोनमै कुरा गरेर गाडी ल्याएर नगद रकम दिएर पशुपक्षीको तौल गरी लैजाने गरेका छन्’, धामीले भने, ‘विगतमा किराना पसल सञ्चालन गर्दा सामान उधारो जाने समस्या अहिले छैन कारोबार नगदमै हुने भएकाले म सन्तुष्ट छु ।’ फार्मबाट भएको आम्दानीबाट उनले ह्याचरी मेसिन खरिद गरेका छन् । मेसिनमा कालिज टर्की, बट्टाई, चाइनिज हाँस र स्थानीय जातका कुखुराका अण्डा राखेर चल्ला उत्पादन गरी बेच्ने योजना उहाँले बनाएका छन् । फार्म नजिकै रिसोर्ट खोलेर व्यवसाय बिस्तार पनि गर्ने उनले योजना रहेको सुनाए । धामी दम्पतीले स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनका बुवा स्थानीय विद्यालयमा शिक्षक छन् । ‘पढे लेखेर नोकरी गर्ने र विदेश जाने हाम्रो समाजको मानसिकता छ, त्यसलाई प्रोत्साहित पनि गरिन्छ’, उनका बुवाले भने, ‘घरमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने मानसिकता तयार गर्न जरुरी छ ।’

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालन ल्याउने गरी निर्माण धमाधम

काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण ७० प्रतिशत सकिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे-त्रिशूली प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण ७० प्रतिशत सकिएको हाे । नेपाल विद्युत प्राधिकरणकाे अनुसार प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी चैतभित्र सक्ने गरी काम धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश : चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, रसुवाको चिलिमे –त्रिसूली थ्री बी हब २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । दुवै सबस्टेसनहरु सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरु आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेको छ । कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४३ वटाको जग हालिएको छ । १४ वटा टावरहरुको जग हाल्ने काम भइरहेको छ । २५ वटा टावर खडा गरिएको छ । खडा गरिएका टावरमा तार तान्न छिट्टै सुरु हुने छ । चिलिमे –त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गर्ने छ । २७ वटा मल्टी सर्किट टावरमध्ये १० वटाको जग हालिएको छ । दुई वटा खडा गरिएको र ७ ठाउँमा जग हाल्ने काम भइरहेको छ । प्रसारण लाइन अन्तर्गत रसुवाको तिरु डाँडामा रहने एउटा टावरबाट खड्गू डाँडासम्म रहने अर्को टावरसम्म मैलुङ खोला माथि एक हजार दुई सय ३४ मिटर लामो दूरीमा लाइन तान्नु पर्ने छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । उत्तरगया गाउँपालिकाको तिरुमा पर्ने टावरहरु निर्माणका लागि आयोजनाले त्रिशूली नदीबाट उक्त स्थानसम्म करिब १५ किलोमिटर पहुँच सडक बनाएको छ । यसबाट त्यस भेगका बासिन्दाको आवतजावत पनि सहज भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार निर्माणाधीन सबस्टेसन तथा प्रसारण लाइनको स्थलगत अनुगमन गरी आगामी चैतभित्रको समयसीमाभित्रै काम सम्पन्न् निर्देशन निर्देशन दिएको छ । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तिब्रता दिन निर्देशन दिंदै टोलीले प्रसारण लाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक–पटक जनाएको प्रतिबद्धता अनुसार निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरेको छ । कार्यकारी निर्देशक घिसिङले एउटा टावरलाई आयोजना बनाएर काम गर्न निर्देशन दिंदै ठेकेदारले बेहोरिरहेको नगद प्रवाह, सामाजिक समस्या समाधान गर्न आवश्यक सहजीकरण गरिने बताए । ‘यसै प्रसारण लाइनमा जोडिने तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, चैत भित्रमा ती आयोजनाहरुको निर्माण सकिने हुँदा त्यसभन्दा अगाडि नै सबस्टेसन तथा प्रसारण लाइन निर्माण गरिसक्नु पर्ने चाप छ, निर्माणको भइरहेको ढिलाइप्रति आयोजनामा लगानी गरेका दातृ निकायहरुको समेत गम्भीर चासो र चिन्ता छ’, घिसिङले भने । ‘धेरै गाह्रो ठाउँहरुमा टावर निर्माण गर्नु पर्ने छ, टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरु जडान गर्ने लगायतका सबै कामहरु समानान्तर रुपमा जनशक्ती थपेर अगाडि बढाउनुहोस् ।’ उनले निर्माण कार्यलाई नियमित रुपमा अनुगमन गरिने बताए । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले अहिले आयोजनाको निर्माणमा तिब्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत चिलिमे हबमा जोडिने छ । आयोजनाहरु चैत्रभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । उक्त अवधिसम्ममा सबस्टेसन तथा प्रसारण लाइन निर्माण हुन नसकेमा आयोजनाहरुको विद्युत खेर जाने अवस्था आउने छ । प्राधिकरणको टोलीले प्रसारण लाइन अभावमा आयोजनाहरुको विद्युत् खेर जाने अवस्था आउन नदिन गम्भीर भएर काम गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेको हो । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो । आयोजनाको परामर्शदाता भारतको पावर ग्रिड हो । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ ।

चितवनमा बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

चितवन । कालिका नगरपालिकाले बेरुजु फछर्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । बेरुजु बढ्दै गएपछि बेरुजुलाई असुल गर्ने अभियानस्वरुप तलब रोक्का गर्न थालिएको हो । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ विद्यालयमध्ये कात्तिक महिनामा १३ विद्यालयमा मात्र तलब निकासा गरिएको थियो । यो सङ्ख्या मङ्सिरमा २५ पुगेको छ । १० विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोकिएको छ । सुरुमा सबैको तलब रोकिएकामा पछि प्रधानाध्यापक र लेखा प्रमुखको मात्र तलब रोकिएको उनले भने । विद्यालयको बेरुजुको विस्तृत विवरण बुझाएर समय तोकेर असुल गर्ने कबुलियत गरेपछि मात्र तलब पठाइएको उनले जानकारी दिए । नगरपालिकाभित्र विगतदेखि हालसम्मको १६ करोड भन्दा बढी बेरुजु रहेको छ । सोमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र योजनामा बेरुजु रहेको रेग्मीले जानकारी दिए । नगरपालिकाले विद्यालयमा हरेक महिना तलब पठाउने गर्दछ । सुरुमा बेरुजु असुलीका लागि धेरै भएको शिक्षा क्षेत्रबाट काम थालिएको उनी बताउँछन् । यससँगै नगरपालिकाले प्रधानाध्यापक र लेखा प्रमुखका लागि दुईदिने लेखासम्बन्धी तालिमसमेत दिएको छ । प्रमुख रेग्मीले भने, ‘अब बेरुजु हुन दिदैनौँ । पहिलेको पनि उठाउँछौँ ।’ तलब रोकिएपछि शिक्षकका सङ्घ सङ्गठनले दबाब दिएको भए पनि नगरपालिका पछि नहट्ने उनको भनाइ छ । उनले थपे, ‘हामी कोहीप्रति पूर्वाग्रही छैनौँ । बेरुजु शून्य बनाउने हाम्रो अभियान हो ।’ कतिपय विद्यालयको बेरुजुको बिल, भर्पाइमा जिम्मेवार व्यक्ति उल्लेख नभएकोसमेत पाइएको छ ।

सुरु भयो गठबन्धन बैठक

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम अगावै केही मन्त्रीको टुङ्गो लगाउने तयारी छ । सोही तयारीका लागि सरकारमा सहभागी दलको बैठक सुरु भएको हो । नवनियुक्त प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका साथमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता सहभागी छन् । सरकारमा सहभागी हुने मन्त्रीका बारेमा दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल सुरु भएको हो । आज बिहान मात्रै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । उता एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पनि नेताहरुबीच छलफल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आन्तरिक छलफल गरेका थिए ।

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जितेका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा ४० रुपैयाँ अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ । आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उनका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जितेपनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताए । आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आएका थिए । नगरप्रमुख दाहालले भने, ‘प्रचण्ड चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उनीसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उनको भूमिका रहन्छ ।’ चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस नेता राजन गौतमले उनी प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताए । जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उनले गोरखाबाट जितेपनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गरे । जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचैं वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताए । चितवनको विकासलाई देशैभर नयाँ नमूनाका रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो । नेकपा एमालेका नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताए । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याएको स्मरण गर्दै उनले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गरे । नारायणी तटबन्धजस्ता ठूला आयोजना उनले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उनी प्रधानमन्त्री भएपछि अझै सहज भएको बताए । प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ ।

सगरमाथा इन्स्योरेन्सद्धारा धानबाली बीमाको क्षतिपुर्तिको रकम प्रदान

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले धानबाली बीमाको क्षतिपुर्ति प्रदान गरेको छ । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरण  स्वीकृतिबाट पाइलटिङ बीमा योजनाको रुपमा जारी गरिएको ‘बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा’ कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समुहहरुका १०० जना कृषकहरुको चालिस हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित भूमी अनुसन्धान तथा नीति संम्वादका लागि सहकार्य तथा आर्थिक सहयोगमा संचालित परियोजना अन्तर्गत कैलाली जिल्लाका कृषकहरुको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो । सोहि बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा असोज ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा पुस १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिबस तिमल्सेनाले बाढीका कारण धान खेतिमा क्षति पुगेका ३१ जना कृषकहरुलाई क्षतिपुर्ति बापत जम्मा रकम ४ लाख १ हजार ४९९ रुपैयाँको दावी भुक्तानी गरे ।

म अपमानित भएर आएको हुँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । पोखरामा चलिरहेको लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी महामन्त्री थापाले यस्तो बताएका हुन् । फेस्टिभलमा मोडरेटर बसन्त बस्नेतले तपाईं हारेर आएको कि जितेर भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अपमानित भएर आएको हुँ ।’

बाँकेका गाउँमा अझै भएन विद्युतीकरण, स्थानीय अध्याँरोमा बस्न बाध्य

बाँके। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । ‘धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ’, उनले भने । पालिकाको वडा नं ३ को रतैया, वडा नं १ को कटकुइँया, मझेरिटीलगायतका स्थानमा विद्युत्को पहुँच छैन । लुुम्बिनी प्रदेससभाका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमुना’ ले नरैनापुरको दुर्गम बस्तीमा विद्युतीकरणका लागि चासो देखाएर विद्युतीकरणको पहल गरेका छन् । गाउँपालिका अध्यक्ष शाहको पहलमा प्रदेशसभा सदस्य केसीले आफ्नो चुनावी क्षेत्रका केही दुर्गम बस्तीमा देखिएको विद्युत्को अभावबारे अनुगमन गरेर जानकारी लिएका छन् । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतमसहित प्राविधिक टोली विद्युत् नपुगेको बस्तीको अनुगमन गरी फर्किएको छ । गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको बनियाँ गाउँमा हालसम्म बिजुली नपुगेकाले तत्काल विद्युत् पु¥याउन प्राधिकरणका प्रमुख गौतमसँग आग्रह गरेकोसमेत जानकारी दिए । नरैनापुरमा थप विद्युत् विस्तारका लागि एक हजार ५०० खम्बा र उक्त खम्बामा लाग्ने तारको व्यवस्था गर्न माग गरिएको छ । गाउँपालिका अध्यक्ष शाहले विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि खुसीको कुरा भएको उल्लेख गरे । अब सिँचाइका लागि विद्युत् विस्तार गर्न जरुरी भएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य केसीले नरैनापुरको अन्य गाउँमा छ महिनाभित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताए । उनले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजीगरी आर्थिक उपार्जनको बाटोमा डोर्याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडेर स्थानीय उत्पादनको सहज बजारीकरणका लागि पहल गर्ने उल्लेख गरे । विद्युत् प्राधिकरणका प्रमुख गौतमले नरैनापुरमा ६० प्रतिशत विद्युत् विस्तार भइसकेकाले बाँकी काम छिटो सम्पन्न हुने जानकारी दिए । रासस