विकासन्युज

बस दुर्घटनामा गर्भवतीसहित ६ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

खोटाङ । उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् । बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकीभन्दा मुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीकी १६ वर्षीया रेनुका भुजेलसहित छ यात्रु घाइते भएका हुन् । बत्तीस यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेमा बुइँपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइँपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया सुस्मिता ढुङ्गाना रहेका छन् । घाइतेमध्ये वीरेन्द्रको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् । बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका वीरेन्द्रको बायाँ तिघ्राभन्दा माथिल्लो भागमा गहिरो चोट लागेको जनाइएको छ । गम्भीर अवस्थाका वीरेन्द्र, रेनुका र दिलकुमारीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । सामान्य अवस्था रहेका अन्य घाइतेको स्वास्थ्यचौकी बुइँपामा प्राथमिक उपचार भइरहेको दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताए । दुर्घटनालगत्तै बसका चालक र सहचालक फरार भएका सोही बसका यात्रुले बताएका छन् । सहचालकले बस चलाउँदा दुर्घटना भएको यात्रुले बताएका छन् । सहचालकले सडकमा बाङ्गोटिङ्गो गर्दै बस हिँडाएपछि यात्रुले गाली गरेको केही समयपछि नै दुर्घटना भएको सोही बसमा सवार यात्रु युवराज खनालले बताए । सडकबाट डिलमुनि खसेको बस रुखमा अल्झिएका कारण थप क्षति हुन नपाएको यात्रुहरुले बताएका छन् । दुर्घटना गराएर फरार भएका चालक र सहचालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएका छ ।

एनआईबिएल ग्रोथ फण्डमा तीन दिनमा ४ करोड १७ लाख इकाइमा आवेदन

काठमाडौं । ‘एनआईबिएल ग्रोथ फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ मा तीन दिनमा ४ कराेड १७ लाख इकाइमामा आवेदन परेकाे छ । पौष ७ गते बाट सार्वजनिक निश्कासनमा रहेको यस योजनामा पौष १२ गते र ढिलोमा पौष २१ गतेसम्म आवेदन दिन सकिनेछ । १ अर्ब ६० करोड रुपैयाँ आकारा रहेको यस बन्दमुखि योजनाको अवधि १० वर्ष रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । क्यापिटलको एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । एनआईबिएल ग्रोथ फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । क्यापिटलले योजना अवधिभर इकाईधनीहरुलाई २०.२५ प्रतिशत प्रतिफल वितरण गर्न सक्ने अप्रक्षेपण गरेको छ ।      

बालकोटमा चार दलको बैठक

काठमाडौं । बालकोटमा चार दलको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक सुरु भएको हो । बालुवाटारबाट बाहिरिएका  माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालकोट पुगेपछि चार दलको बैठक सुरु भएको हो । दाहाल अघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगे थिए । अहिले लिङ्देन निस्किएका छन् भने जनता समाजवादी पार्टीका नेता अशोककुमार राई पनि बालकोट पुगेका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल, रास्वपाका अध्यक्ष लामिछाने र जसपाका नेता राईसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

सत्तागठबन्धन दलको बैठक फेरी बस्छ : मन्त्री कार्की

काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुनः बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, गठबन्धन दलको बैठक केही समयमा पुनःसञ्चालन हुन्छ, हामी निर्णयमा पुग्छौँ ।’ गठबन्धन जनताले निर्वाचनका माध्यमबाट अनुमोदन गरिसकेको र जनताको अभिमतको आफूहरुले कदर गर्ने उनको भनाइ थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदैछ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलले आगामी सरकार गठनका लागि विभिन्न चरणमा छलफल गरी सहमतिको प्रयास जारी राखेका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् । गठबन्धन दलले आफ्नै आगामी नयाँ सरकार गठन गर्ने सामूहिक निर्णय गरेका छन् भने गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि पहल गर्ने निर्णय गरेको छ । हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । रासस

अमेरिकामा हिमवर्षाले करौडौं मानिस प्रभावित, १८ जनाको मृत्यु

संयुक्त राज्य अमेरिका । अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौं मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न सङ्कटकालीन कदमहरू चालिएको छ । चीसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन् । अमेरिकाको बफेलोमा तीन, ओहायोमा पाँच, मिसौरीमा एक चालकसहित चार, भर्मोन्टमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ । मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन् । चीसो आगामी हप्तासम्म कायम राख्ने पूवानुमान मौसमविद्हरूले गरेका छन् । खराब मौसमले मानिसहरूको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले गत शुक्रवार गरेको मौसमसम्बन्धी पूर्वानुमान अनुसार यो वर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चीसो रहने बताएको छ ।

१३ वाणिज्य तथा विकास बैंक : जसको अझै सेयर किनेर खान पाइन्छ लाभांश

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति कम्पनी भने वितरण गर्ने तयारीमा छन् । हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंक तथा विकास बैंकमध्ये अझै १३ कम्पनीको लाभांश खान पाइने अवसर छ । जसमध्ये ८ वाणिज्य बैंक रहेका छन् भने बाँकी ५ वटा विकास बैंक रहेका छन् । वाणिज्य बैंकहरुमा सिद्धार्थ, नेपाल एसबिआई, नेपाल, प्राइम कमर्शियल, नबिल, हिमालयन, राष्ट्रिय वाणिज्य, सिभिल बैंक रहेका छन् । त्यस्तै, विकास बैंकमध्ये साइन रेसुङ्गा, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक रहेका छन् । बुक क्लोज भइनसकेका कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउँछन् । त्यसैकारण बुक क्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश खानको लागि अर्काे वर्षसम्म कुर्नुपर्ने व्यवस्था छ । विकास बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश बुक गर्ने समय जम्मा एक दिन रहेको छ । बैंकको आगामी पुस १२ गते बुक क्लोज हुँदै छ । यससँगै कम्पनीको प्रस्तावित १४ प्रतिशत लाभांश पाउन लगानीकर्ताले पुस ११ गतेसम्ममा सेयर खरिद गरिसक्नु पर्छ । त्यस्तै, पुस १३ गते मात्रै ३ बैंकहरुको बुक क्लोज हुँदै छ । सिद्धार्थ, नेपाल एसबिआई र लुम्बिनी विकास बैंकले लाभांश तथा वार्षिक साधारण सभाको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेका हुन् । यससँगै यी कम्पनीको प्रस्तावित लाभांश पाउन पुस १२ गतेभित्रमा सेयर खरिद गरिसक्नुपर्ने छ । सिद्धार्थले १३.१६ प्रतिशत, नेपाल एसबिआईले १०.५३ र लुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । त्यसैगरी, विभिन्न तीन कम्पनीले आगामी पुस १४ गते बुक क्लोज गर्दै छन् । जसमा मितेरी डेभलपमेन्ट, नेपाल बैंक र प्राइम कमर्शियल बैंकले उक्त एक दिन बुक क्लोज गर्न लागेका हुन् । यससँगै यी कम्पनीको लाभांश खान इच्छुकले पुस १३ गतेभित्रमा सेयर किनि सक्नुपर्छ । यता पुस १८ गते एकैदिन ४ बैंकको बुक क्लोज हुने भएको छ । नबिल, हिमालयन, महालक्ष्मी विकास र राष्ट्रिय वाणिज्य बैंकले लाभांश वितरण तथा साधारण सभामा जानको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेका हुन् । यससँगै पुस १७ गतेभित्रमा यी कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् । नबिलले ३०, हिमालयनले १९.११, महालक्ष्मी विकासले १०.४७ र राष्ट्रिय वाणिज्य बैंकले १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । त्यस्तै, सिभिल बैंकले पुस १९ गते बुक क्लोज गर्दै छ । बैंकले ५.२६ प्रतिशत लाभांशको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै पुस १८ गतेसम्म सिभिलको सेयर किन्नेले प्रस्तावित उक्त लाभांश पाउनेछन् । मुक्तिनाथ विकास बैंकले पनि सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । तर विकास बैंकले हालसम्म भने बुक क्लोजको मिति तय गरिसकेका छैनन । यससँगै हाल मुक्तिनाथ विकासको सेयर किन्नेले प्रस्तावित लाभांश पाउने छन् ।

ओलीलाई भेट्न प्रचण्ड, रवी र लिङ्देन बालकोटमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्नका लागि तीन दलका नेताहरु बालकोट पुगेका हुन । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा तीन राजनीतिक दलका नेता र ओलीबीच भेट भएको हो । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनकोे बैठकमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बैठक छोडेर बाहिरिएका थिए । बैठक छोडेर बालुवाटारबाट लञ्ज ब्रेक’ का लागि आफ्नोे निवास खुमलटार पुुगेका प्रचण्ड माओवादीका नेताहरुसँग छलफल गरेर बालकोट लागेका हुन ।

सुदूरपश्चिममा संसदीय दलको नेताका लागि आकांक्षीको दौडधूप

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिएका छन् । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए । कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह र मेघराज खड्काले संसदीय दलको नेताका लागि दाबी गरेका छन् । यस्तै दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट र ओमविक्रम भाटको चर्चा छ । नेकपा एमालेको संसदीय दलको नेतामा भने धर्मराज पाठक र राजेन्द्रसिंह रावलको चर्चा छ । उनीहरु दुवै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी, लक्षमणकिशोर चौधरी र टीका थापाको नाम चर्चामा छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट १९, माओवादीबाट ११, एमालेबाट १० र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका चार र राप्रपाका एक जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका डा तारा जोशी पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति र राप्रपाको पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व हुनलागेको हो । यस अघिको प्रदेशसभामा प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी भने प्रदेशसभाको दोस्रो कार्यकालमा बाहिरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा दुवै दलबाट कोही पनि विजयी भएनन् । प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रको दाबी छ । ‘अधिकां विजयी प्रदेशसभा सदस्य काठमाडौं पुगेका छन्’, प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले भने । यसैबीच प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई यही पुस १५ गते शपथग्रहण गर्ने तयारी भइरहेको छ । प्रदेशसभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ लिएपछि ज्येष्ठ सदस्यले अन्य ५२ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने बताइएको छ । अछामबाट कांग्रेसबाट निर्वाचित ६८ वर्षीय मानबहादुर रावल प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सचिवालले शपथग्रहण र प्रदेशसभाको बैठक सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय तयारी पूरा गरिसकेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । बैठक सञ्चालनका लागि प्रदेशसभा हललाई सजिसजाउ पारिएको छ । यस क्रममा प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल र माइक पुनः जडान गरिएका छन् । ‘सचिवालयले प्रदेश प्रमुख र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलसँग समन्वय गरेर शपथ ग्रहण र बैठक सञ्चालनको तयारी गरिरहेको छ’, उनले भने । सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ जना निर्वाचित भएका छन् । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट पुरुष ३५ र महिला १८ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।