सोलुखुम्बुमा ७८ वर्षका वृद्धले पाए नागरिकता
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २००१ चैत ३ गते जन्मिएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको हो । आफन्त सबै गुमेकाले एक्लो रहँदै आएका उनि सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित भएकामा जनप्रतिनिधिको पलहमा नागरिकता बनाए । थुलुङ दूधकोसी गाउँपालिका– ५ का पूर्ववडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका–१ का वडाध्यक्ष जङ्ग गुरुङको पहलमा नागरिकता उपलब्ध गराइएको थियो । राई एक वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ५ जुबुमा अर्काको जग्गामा बस्दै आएको वडा कार्यालयका कम्प्युटर अपरेटर जेपी थुलुङको भनाइ थियो । जुबुका दोर्जे राईको जग्गामा डेरा बनाइ बसिरहेका उनि नागरिकता नभएकै कारण सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएकामा अब भने सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रियासमेत सुरु गरिएको वडाअध्यक्ष चन्द्रबहादुर राईले बताए । रासस
दाङमा छात्रालाई साइकल वितरण
दाङ। दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको हो । त्यस्तै गाउँपालिका–६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई रु दुई लाख बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिए । साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको जनज्योति आधारभूत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि ताम्राकारले बताइन् । सृष्टिजस्तै अरु छात्रालाई अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ । त्यस क्षेत्रबाट विद्यालय टाढा भएको कारण कतिपय छात्राले विद्यालय जानबाट वञ्चित भएका छन् । सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको हो । विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक गीता चौधरीले जानकारी दिइन् । बीस जना पूर्वकमलहरीबाट काम सुरु गरेको सिपी नेपालले ५६ वटा आमा समूह गठन गरी एक हजार बढी सदस्य विस्तार गरेको छ । हाल तीन वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आठ सय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले बताइन् । रासस
सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय पुग्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ४ सय रुपैयाँ थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
कम्बोडियामा मृत्यु भएका पाण्डेको शव नेपाल ल्याउन सरकारले सहयोग गर्ने
काठमाडौं । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको शव नेपाल ल्याउन सरकारले सहयोग गर्ने भएको छ । गत बिहीबार आगलागीमा परेर ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन तथा परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रतिवद्धता व्यक्त गरेका हुन । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, गरिमा विकास बैंकले माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । गरिमा विकास बैंकले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफिसमा लागि ७ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
यातायात कार्यालयबाट २६ बिचौलिया प्रक्राउ
फाइल फाेेटाे काठमाडौं । गर्जुधाराको यातायात कार्यालयको काम छिटो गरिदिने बहानामा सेवाग्राीबाट रकम लिएको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान यातायात कार्यालयबाट २६ जना बिचौलियालाई प्रक्राउ गरेको हो । सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाइने छ । पछिल्लो समय नयाँ लाइसेन्स बनाउन, कागजपत्र नवीकरण गर्ने लगायतका काम गर्नेभन्दै बिचौलियाले सेवाग्राहीबाट रकम उसुल्ने गर्दै आएका छन् ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले काठमाडौंको चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलले दिने सेवामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलको सेवामा छुट दिने सम्झौताबारे दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डाक्टर कन्सुलेसन र चेकअप सेवा निशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट सेवामा १५ प्रतिशत र अर्थो थेरापी एन्ड डेन्टल इम्प्लान्ट ट्रिटमेन्ट सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा अस्पतालका अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे । यस सहकार्यबाट दन्त उपचारमा ग्राहकको पहुँच बढ्नुका साथै डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
पासपोर्टको ‘डेट’ लिनै ५ हजार शुल्क !
काठमाडौं । इटहरीका आकाशको पासपोर्टको समय सकिएको लामो समय भयो । तत्काल पासपोर्टको आवश्यकता नभएको भन्दै उनले नवीकरण गरेका थिएनन् । तर, अहिले उनलाई तत्काल पासपोर्ट चाहियो । ‘पहिला नवीकरण गरिनँ, अहिले तत्काल चाहियो, पासपोर्ट नवीकरण गर्न लागेको धेरै दुख पाएँ’, मंगलबार त्रिपुुरेश्वरस्थित राहदानी विभागमा भेटिएका उनले दुःख पोख्दै भने, ‘आफैले अनलाइनबाट फर्म भर्न जति प्रयास गरे पनि भएन, साइबारमा ३ हजार ५ सय रुपैयाँ बुझाएपछि सोमबारको अपोइटमेन्ट पाएँ ।’ उनले विभागको स–साना कमजोरीका कारण सेवाग्राहीले धेरै सास्ती खेप्नुपरेको दुखेसो गरे । ‘मैले सोमबारका लागि अपोइटमेन्ट लिएको थिएँ, दिउँसो २ बजेको समय थियो, बिहान ८ बजेदेखि लाइनमा बसेँ, पालो आएर भित्र पनि गएँ तर म गएकै समयमा सर्भर डाउन भयो भनियो, दिनभर लाइनमा बसेर बल्लबल्ल पालो आएर भित्र गएपछि सर्भर नै चलेन, मंगलबार पनि बिहानैदेखि लाइनमा छु, सोमबार पालो काम भएर आज १० बजे नै काम हुनु पर्ने हो तर यहाँ रहनुभएका सुरक्षाकर्मीले २ बजे मात्रै हो पालो भन्दै भित्र जान दिनु भएन, आज पनि बिहान ८ बजेदेखि लाइनमै छु, काम हुन्छ हुँदैन केही भर छैन’, उनले भने । पोखराका रमेश अनलाइनबाट आफुले नसकेपछि बाध्य भएर पोखराकै साइबरमा ३५ सय रुपैयाँ बुझाएर फर्म भरेको बताउँछन् । ‘मेरो पासपोर्ट हराएको थियो, पुरानो पासपोर्ट हराएपछि मैले नयाँका लागि पोखराबाटै आवेदन दिएको हुँ, सोमबारको डेट थियो, रातारात गरेर सोमबार बिहानै काठमाडौं आएँ, दिनभर लाइनमा बसेँ तर काम भएन’, उनले दुखेको पोख्दै भने, ‘सोमबार काम भएको भए बुधबार पासपोर्ट लिएर पुनः पोखरा फर्कन्थेँ, तर सोमबार सर्भरले काम नगरेपछि कंगलबार पुनः लाइनमै छु, आज काम भयो भने बिहीबार पासपोर्ट लिन पाइन्छ कि ।’ हराएको पासपोर्टका लागि १७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने रहेछ, तीन दिनमा हुने काम चार दिन लाग्दा होटलको बसाइ लम्बिएको उनले बताए । इटहरीका सन्दिपले पनि रमेशकै जस्तो समस्या भएको बताए । सोमबार विभागको सर्भर डाउन भएपछि काम नभएर फर्किएका उनी मंगलबार बिहानै ८ बजेदेखि लाइनमै थिए । ‘सोमबार दिनभर लाइनमा बसेँ, भित्र छिरेपछि सर्भरले काम गरेन भन्दै फर्कनुपर्याे, हिजो काम नभएपछि आज लाइनमा नबसी भित्र जान दिनुपर्ने हो, तर गेटमा बसेका सुरक्षाकर्मीले २ बजेमात्रै तपाइंको पालो लाइनमा बस्नुस भनेपछि लाइनमै छु’, उनले भने । नवीकरणको फर्म भर्नका लागि एक साता आफैले प्रयास गरेतापनि नमिलेपछि साइबरमा जानुको विकल्प नभएको उनको गुनासो छ । ‘आफैले भर्छु भन्दा पनि नहुने कस्तो खालको सर्भर हो यो, हामीले भर्दा नहुने साइबरमा ३५ सय रुपैयाँ बुझाएपछि मात्रै हुने, अनलाइनका नाममा जनतालाई शास्ती मात्रै भयो,’ उनले भने । नवलपरासीका पदम पासपोर्टकै लागि रातारात गर्दै काठमाडौं आएको बताउँछन् । ‘हिजो राती १० बजे हिडेको बिहान काठमाडौं आइपुगे, कलंकी झर्नासाथ सिधै राहदानी विभाग आइपुगेको हुँ, यहाँ आएदेखि लाइनमै छु, काम हुन्छ हुँदैन थाहा छैन ।’ मंगलबार पासपोर्टकै लागि लाइमा बसेका अधिकाशंले आफैले अनलाइन फर्म भर्न नमिलेपछि बाध्य भएर साइबरलाई ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रकम दिएर फर्म भरेको बताउँछन् । लाइनमा भेटिएका उनीहरुले सरकारले अनलाइनबाट मात्रै पासपोर्ट लिन सकिने व्यवस्था गरेपछि धेरै दुख भोग्नुपरेको गुनासो गरे । विभाग भन्छ : धेरैले सर्भर चलाउँदा समस्या राहदानी विभागका अधिकारीहरु भने एकैपटिक धेरैले पासपोर्टका लागि अनलाइन आबेदन दिदा सर्भरमा समस्या भएको बताउँछन् । विभागका सूचना अधिकारी खिमानन्द भुषाल एकै पटिक धेरैले आवेदन दिँदा सर्भरमा समस्या भएको बताउँछन् । ‘साइटमा धेरै जाम भएपछि हामीले बिहान ११ बजेदेखि साढे ३ बजेसम्म आवेदन रोकेका छौँ, अरु समयमा अनलाइन एप्लीकेसन दिन सकिन्छ,’ उनले भने । सेवाग्राहीबाट साइबर सञ्चालकले पासपोर्टका लागि अनलाईन फर्म भर्न चर्काे शुल्क लिने गरेको विषयमा जानकार भएको भन्दै उनले केही समय पर्खिएर आफैले अनलाइन एप्लिकेसन दिन उनले आग्रह गरे । ‘एक पटकमा २५ सय जना मात्रै सर्भरमा प्रवेश गर्न गर्न मिल्छ, साइबरका सञ्चालहरु बाठो भएर पहिला नै सर्भरमा प्रवेश गरेर होल्ड गर्दा अरु प्रवेशमा समस्या भएको हुनसक्छ, यस्तोमा हामीले केही गर्न सकिँदैन’, उनले भने । बिहानै देखि पासपोर्टका लागि लाइनमा बस्नेहरु शौचालय समेत जान समस्या भएको बताउँछन् । ‘बिहानैदखि पासपोर्टका लागि हामीहरु लाइनमा बस्छौँ, विभागको शौचालयमा जान प्रहरीले दिदैनन्, बाहिर गयो आउँदा लाइन माथि गैसक्छ, पहिलानै बसेको हुँ भन्दा पनि दिदैनन्, लाइनमा बसौँ, शौचालय जान परेको छ, छोडेर जाउँ आएपछि पुनः नयाँ लाइनमा बस्नुपर्छ,’ लाइनमा बसेकाहरुले दुख पोखे । विभागले यसअघि जारी गरिएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई प्रतिस्थापन गर्दै २०७८ को मंसिरदेखि इ–पासपोर्ट जारी गर्दै आएको छ । इपासपोर्टका लागि अनलाईन मार्फत मात्रै आवेदन दिन सकिनेछ । यसअघि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दैनिक सेवा लिन सर्वसाधारणले भोगिरहेको लाइनको सास्ती एक महिनाभित्र हटाउन सचिवहरूलाई निर्देशन दिएका थिए । राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स लिन सर्वसाधारणले सास्ती व्यहोरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नीतिगत सुधारका प्रस्ताव ल्याउन पनि सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका थिए ।