आशा लघुवित्तले दियो निशुल्क सिपमूलक तालिम
काठमाडौं । आशा लघुवित्तद्वारा निशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । आशा लघुवित्त वित्तीय संस्थाले मंसिर ७ गते देखि पौष २० गते सम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्विनी प्रदेश अन्तरगतको २१ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम संचालन गरेको हो । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरु मध्ये १,०८५ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, कुसन तथा भाडा माझ्ने सावुन बनाउने तालिम प्रदान गरेको होे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा बिभिन्न सामानहरु उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ३,७८५ जना विपन्न महिलाहरुलाई यस प्रकारका निशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । साथै यस कार्यक्रम पश्चात सदस्यहरुको लघुब्यवसायमा बृद्धी भई उक्त क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ५ अर्ब कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ८३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
पेट्रोल/डिजेलको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । प्रचण्डले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई आम जनतालाई राहतको अनुभूति हुने गरी मूल्य घटाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय नेपाल आयल निगमले इण्डीयन आयल कर्पाेरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत नेपालमा मूल्य समायोजन गरेको थिएन । निगम नोक्सानमा गएको र आईओसीलाई बक्यौता रकम भुक्तानीमा समस्या भएको भन्दै निगमले मूल्य समायोजन गरेको थिएन । नेपाल आयल निगमले यसअघि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको थियो । अहिले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर१७५ रुपैयाँ पर्छ । निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु ९९ करोड नाफा हुने देखिएको छ । निगमले रु १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै, यस्तो हुनेछ प्रक्रिया
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित सरकारमा सहभागी दलहरुले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी) ले २६ गते यसबारेमा निर्णय गर्ने बताइसकेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दैगर्दा कसरी विश्वासको मत लिन्छन् भन्ने आम नागरिकमा चासोको विषय छ । विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ । सूचनापछि विश्वासको मतका लागि संसद सचिवालयले आफ्नो तयारी थाल्छ । प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद सचिवालयलाई दिइसकिएको छ । सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि आफ्ना काम अघि बढाइसकेको छ । यसरी शुरु हुन्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी सूचना (२५ गते बस्दैछ) प्रतिनिधि सभाको बैठकमा सभामुख (सभामुख नभएको बेला ज्येष्ठ सदस्यबाट) बाट पढेर सुनाइने छ । नयाँ संसदको पहिलो बैठकमा प्रतिनिधि सभाका सदस्यहरुलाई जानकारी गराइसकेको प्रधानमन्त्रीको विश्वासको मत लिने दिन प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई आफूलाई विश्वासको मत लिनका लागि सभामुखले प्रश्ताव पेस गर्न समय दिन्छन् । सभाुखले दिएको समयमा प्रधानमन्त्रीले (२६ गते) को प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन संसदमा सहभागी दलहरुसँग प्रश्ताव राख्नेछन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्रीको सम्बोधन प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि संसदमा सांसदहरुलाई आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन प्रश्ताव पेस गरनेछन् । प्रश्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीले पुस २६ गते मंगलवार विश्वासको मत लिनेछन् । प्रतिनिधि सभाको बैठक मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरुको छलफल प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रश्तावबारे सांसदहरुले बोल्न चाहेमा सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउँछन् । सभामुखले दिएको समयसीमा भित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रश्तावमा सांसदहरुले आफ्नो धारणा राख्नेछन् । संसदमा यदी पूर्व प्रधानमन्त्री र पूर्व सभामुखले बोल्न चाहेको खण्डमा भने समयको पावन्दी रहँदैन । उनीहरुले बोल्न चाहेमा पर्याप्त समय पाउनेछन् । सबै सांसदले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा संसदमा बोल्न चाहे भने विश्वासको मत लिने प्रक्रिया लम्बिनेछ । तर संसदमा रहेका ७ भन्दा बढी दलहरुले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेकाले त्यो अवस्था आउने देखिँदैन । छलफल सकिसकेपछि प्रतिनिधि सभाका सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध गराउँछन् । प्रधानमन्त्रीको जवाफ प्रतिनिधि सभामा आफूले राखेको विश्वासको मत दिने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ । प्रधानमन्त्रीले सांसदहरुले गरेका प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया शुरु हुनेछ । प्रश्ताव निर्णयार्थ प्रश्तुत संसदमा मत विभाजन भइसकेपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रश्ताव संसदमा निर्णयार्थ प्रश्तुत हुन्छ । त्यो प्रश्ताव भने मत विभाजनबाट हुन्छ । निर्णयार्थ प्रश्तुत भइसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया शुरु हुन्छ । सदस्यहरुलाई प्रश्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिनका लागि समय उपलब्ध गराइन्छ । तर प्रधानमन्त्रीको विश्वासको मत लिनका लागि भने ध्वनीमतको व्यवस्था हुँदैन । मत दिइसकेपछि सच्याउन पाउने अवसर प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि पनि सांसदहरुलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउनु हुन्छ । सभामुखले उपलब्ध गराएको समयसीमामा सांसदहरुले आफूले प्रधानमन्त्रीका लागि दिएको विश्वासको मत सच्याउन पाउनेछन् । यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको विश्वासको मतको नतिजा सुनाउनेछन् । विश्वासको मतको परिणाम सुनाइसकेपछि उक्त प्रश्ताव राष्ट्रपति समक्ष संसद सचिवालयले लेखेर पठाउँछ । प्रधानमन्त्रीले पेस गर्नुभएको विश्वासको मत सभाबाट बहुमतको साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ । संविधानको धारा ७६ को उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनैपनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्छन् । सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए । प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री दाहालले यही पुस २६ गते मंगलवार विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले कुनैपनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्नेकुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि समक्ष प्रश्ताव राख्न सक्नेछ । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रश्ताव राख्नुपर्नेछ । नेकपा (एकीकृत समाजवादी) लाई पार्टीको ह्वीप लाग्छ ? राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रश्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ । संविधानको कुन उपधारामा ह्वीप लाग्ने र कुनमा नलाग्ने भन्ने व्यवस्था भने गरेको देखिँदैन । यतिबेला नेकपा (एकीकृत समाजवादी) निर्वाचनमा राष्ट्रिय दल बन्न असफल भयो । जसकारण आम मानिसमा माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीलाई ह्वीप लाग्छ की लाग्दैन भन्ने जिज्ञासा छ । तर संसद सचिवालय भने (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित सांसदलाई पनि पार्टीको ह्वीप लाग्ने बताउँछ । तर राष्ट्रिय दल नबनेका कारण पार्टीको ह्वीप लाग्ने वा नलाग्ने भन्ने स्पष्ट व्यवस्था गरेको देखिँदैन ।
राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने
काठमाडौं । सरकारले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ २५ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
प्रचण्डले फेरे सचिव, अर्थमा तोयम र राजश्वमा घिमिरेलाई जिम्मा
काठमाडौं । सरकारले अर्थ र राजश्व सचिव हेरफेर गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको हो । बिहीबारको बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको सिंहदरबार स्रोतले जनाएको छ । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।
बेटर होम्सको फर्निचर मेला २२ गतेदेखि
काठमाडौं । नेपालको पहिलो मोडुर्ल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङले पुस २२ गतेदेखि फर्निचर मेला आयोजना गर्ने भएको छ। घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु विभिन्न डिजाइनका साथ मेलमा पाइनेछन्। मेला काठमाडौंको रसिएन कल्चर,कमल पोखरिमा पौष २२ गते देखि २४ गते सम्म सन्चालन हुनेछ । काठका विभिन्न फर्निचरहरु उपभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजक बेटर होम्स फर बेटर लिभिङकी कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन्। मेलमा काठका फर्निचरहरुमा आरम्दायी सोफा सेट, क्लासिक बक्स पलङ ,सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल दराज लगाएतका सामग्री राखिएका छन् ।
१८ लाखमा बनेको शीतभण्डार प्रयोगविहीन
उदयपुर। उदयपुरको प्रमुख व्यापारिक केन्द्र कटारीमा रहेको कृषिउपज केन्द्र प्रयोगविहीन अवस्थामा रहेको छ । विसं २०४२ मा सगरमाथा ग्रामीण एकीकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैयाँ खर्च गरेर १० वटा टहरा, चार वटा गोदाम, एउटा सिटी हल निर्माण गरी दिए पनि सम्बन्धित निकायले ध्यान नदिँदा केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको थियो । लामो समय प्रयोगविहीन अवस्थामा पुगेको केन्द्रलाई गत आर्थिक वर्षमा कटारी नगरपालिकाले करिब २० लाख रकम खर्चेर मर्मत गरी पुनःटहरा निर्माण गरे पनि प्रयोगमा आउन सकेको छैन । अहिले पनि कृषि बजारलाई व्यवस्थित गर्न बनाइएका टहरा प्रयोगविहीन अवस्थामा छन् । कटारी नगरपालिकाले कृषि बजार व्यवस्थित गर्ने, कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउने गरीे नीति ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । ‘यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि हाटबजार लाउने तयारीमा छौँ’, नगरपालिकाको विधान समितिका संयोजकसमेत रहेका वडाध्यक्ष भूपेश योञ्जनले भने । पटकपटक केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ सरसफाइ, अतिक्रमण गरी बसेका सर्वसाधारणलाई उठाउनेलगायतका काम भएपनि त्यसले निरन्तरता पाउन नसक्दा अझै केन्द्र प्रयोगमा आउन सकेको छैन् । केन्द्रमा तत्कालै तरकारी र मासु बजारलाई लैजाने तयारी भइरहेको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताए । बजारको सडक आसपास तरकारी बिक्री हुँदा जोखिमसमेत बढेको भन्दै उपमेयर खड्काले केन्द्र सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए । सगरमाथाको प्रमुख प्रवेशद्वारका रुपमा चिनिने कटारी बजारको कृषिउपज केन्द्रलाई व्यवस्थित गर्नसके ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका कृषकले उत्पादन गरेको कृषि उत्पादनलेसमेत बजार पाउने छन् । केन्द्र प्रयोगविहीन बनेपछि कटारी बजारमा कृषिजन्य किनमेल अव्यवस्थित किसिमले मुख्य सडककै आसपास हुने गरेको छ । केन्द्रसँगै दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार पनि अलपत्र अवस्थामा रहेको छ । हेल्भेटास र कटारी नगरपालिकाको सहकार्यमा १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार प्रयोगमा नआएपछि अलपत्र अवस्थामा पुगेको हो । त्यसैगरी गत साल कटारी नगरपालिकाको कृषकलाई मध्यनजर गर्दै प्रदेश १ सरकारबाट एक करोड २५ लाखको लागतमा आधुनिक शीतभण्डार निर्माण गर्ने तयारी गरे पनि अन्त्यमा बजेट फिर्ता भएको थियो । नगरको पहाडी भेगमा कृषकले उत्पादन गरेका उत्पादन कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी भेगमा सुन्तला, खुर्सानी, अदुवालगायत विभिन्न तरकारीहरुको व्यावसायिक खेती हुने गरेको छ । रासस
ग्लोबल र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार पुस २५ गतेदेखि, तीन दिन सबै सेवा बन्द रहने
काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको मिति तय भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस २५ गते सोमबार तय भएको जनाएको हो । नेपाल राष्ट्र बैंकले पुस १७ गते दुवै बैंकलाई मर्जर हुने अन्तिम स्विकृती दिएको थियो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई हुनेछ । यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि तीन दिन अर्थात पुस २२, २३ र २४ गते दुबैं कैंबले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । तर, दुवै बैंकले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको हुँदा चुक्ता पूँजी थप हुन सक्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ र कर्जा ३ खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । मर्जर पश्चात् बैंकको शाखा सञ्जाल ३६५ वटा र एटीएम ३२८ वटा पुग्नेछन् ।