काठमाडौं । इटहरीका आकाशको पासपोर्टको समय सकिएको लामो समय भयो । तत्काल पासपोर्टको आवश्यकता नभएको भन्दै उनले नवीकरण गरेका थिएनन् । तर, अहिले उनलाई तत्काल पासपोर्ट चाहियो ।
‘पहिला नवीकरण गरिनँ, अहिले तत्काल चाहियो, पासपोर्ट नवीकरण गर्न लागेको धेरै दुख पाएँ’, मंगलबार त्रिपुुरेश्वरस्थित राहदानी विभागमा भेटिएका उनले दुःख पोख्दै भने, ‘आफैले अनलाइनबाट फर्म भर्न जति प्रयास गरे पनि भएन, साइबारमा ३ हजार ५ सय रुपैयाँ बुझाएपछि सोमबारको अपोइटमेन्ट पाएँ ।’
उनले विभागको स–साना कमजोरीका कारण सेवाग्राहीले धेरै सास्ती खेप्नुपरेको दुखेसो गरे । ‘मैले सोमबारका लागि अपोइटमेन्ट लिएको थिएँ, दिउँसो २ बजेको समय थियो, बिहान ८ बजेदेखि लाइनमा बसेँ, पालो आएर भित्र पनि गएँ तर म गएकै समयमा सर्भर डाउन भयो भनियो, दिनभर लाइनमा बसेर बल्लबल्ल पालो आएर भित्र गएपछि सर्भर नै चलेन, मंगलबार पनि बिहानैदेखि लाइनमा छु, सोमबार पालो काम भएर आज १० बजे नै काम हुनु पर्ने हो तर यहाँ रहनुभएका सुरक्षाकर्मीले २ बजे मात्रै हो पालो भन्दै भित्र जान दिनु भएन, आज पनि बिहान ८ बजेदेखि लाइनमै छु, काम हुन्छ हुँदैन केही भर छैन’, उनले भने ।
पोखराका रमेश अनलाइनबाट आफुले नसकेपछि बाध्य भएर पोखराकै साइबरमा ३५ सय रुपैयाँ बुझाएर फर्म भरेको बताउँछन् । ‘मेरो पासपोर्ट हराएको थियो, पुरानो पासपोर्ट हराएपछि मैले नयाँका लागि पोखराबाटै आवेदन दिएको हुँ, सोमबारको डेट थियो, रातारात गरेर सोमबार बिहानै काठमाडौं आएँ, दिनभर लाइनमा बसेँ तर काम भएन’, उनले दुखेको पोख्दै भने, ‘सोमबार काम भएको भए बुधबार पासपोर्ट लिएर पुनः पोखरा फर्कन्थेँ, तर सोमबार सर्भरले काम नगरेपछि कंगलबार पुनः लाइनमै छु, आज काम भयो भने बिहीबार पासपोर्ट लिन पाइन्छ कि ।’
हराएको पासपोर्टका लागि १७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने रहेछ, तीन दिनमा हुने काम चार दिन लाग्दा होटलको बसाइ लम्बिएको उनले बताए । इटहरीका सन्दिपले पनि रमेशकै जस्तो समस्या भएको बताए । सोमबार विभागको सर्भर डाउन भएपछि काम नभएर फर्किएका उनी मंगलबार बिहानै ८ बजेदेखि लाइनमै थिए ।
‘सोमबार दिनभर लाइनमा बसेँ, भित्र छिरेपछि सर्भरले काम गरेन भन्दै फर्कनुपर्याे, हिजो काम नभएपछि आज लाइनमा नबसी भित्र जान दिनुपर्ने हो, तर गेटमा बसेका सुरक्षाकर्मीले २ बजेमात्रै तपाइंको पालो लाइनमा बस्नुस भनेपछि लाइनमै छु’, उनले भने ।
नवीकरणको फर्म भर्नका लागि एक साता आफैले प्रयास गरेतापनि नमिलेपछि साइबरमा जानुको विकल्प नभएको उनको गुनासो छ ।
‘आफैले भर्छु भन्दा पनि नहुने कस्तो खालको सर्भर हो यो, हामीले भर्दा नहुने साइबरमा ३५ सय रुपैयाँ बुझाएपछि मात्रै हुने, अनलाइनका नाममा जनतालाई शास्ती मात्रै भयो,’ उनले भने ।
नवलपरासीका पदम पासपोर्टकै लागि रातारात गर्दै काठमाडौं आएको बताउँछन् । ‘हिजो राती १० बजे हिडेको बिहान काठमाडौं आइपुगे, कलंकी झर्नासाथ सिधै राहदानी विभाग आइपुगेको हुँ, यहाँ आएदेखि लाइनमै छु, काम हुन्छ हुँदैन थाहा छैन ।’
मंगलबार पासपोर्टकै लागि लाइमा बसेका अधिकाशंले आफैले अनलाइन फर्म भर्न नमिलेपछि बाध्य भएर साइबरलाई ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रकम दिएर फर्म भरेको बताउँछन् । लाइनमा भेटिएका उनीहरुले सरकारले अनलाइनबाट मात्रै पासपोर्ट लिन सकिने व्यवस्था गरेपछि धेरै दुख भोग्नुपरेको गुनासो गरे ।
विभाग भन्छ : धेरैले सर्भर चलाउँदा समस्या
राहदानी विभागका अधिकारीहरु भने एकैपटिक धेरैले पासपोर्टका लागि अनलाइन आबेदन दिदा सर्भरमा समस्या भएको बताउँछन् । विभागका सूचना अधिकारी खिमानन्द भुषाल एकै पटिक धेरैले आवेदन दिँदा सर्भरमा समस्या भएको बताउँछन् ।
‘साइटमा धेरै जाम भएपछि हामीले बिहान ११ बजेदेखि साढे ३ बजेसम्म आवेदन रोकेका छौँ, अरु समयमा अनलाइन एप्लीकेसन दिन सकिन्छ,’ उनले भने ।
सेवाग्राहीबाट साइबर सञ्चालकले पासपोर्टका लागि अनलाईन फर्म भर्न चर्काे शुल्क लिने गरेको विषयमा जानकार भएको भन्दै उनले केही समय पर्खिएर आफैले अनलाइन एप्लिकेसन दिन उनले आग्रह गरे ।
‘एक पटकमा २५ सय जना मात्रै सर्भरमा प्रवेश गर्न गर्न मिल्छ, साइबरका सञ्चालहरु बाठो भएर पहिला नै सर्भरमा प्रवेश गरेर होल्ड गर्दा अरु प्रवेशमा समस्या भएको हुनसक्छ, यस्तोमा हामीले केही गर्न सकिँदैन’, उनले भने ।
बिहानै देखि पासपोर्टका लागि लाइनमा बस्नेहरु शौचालय समेत जान समस्या भएको बताउँछन् । ‘बिहानैदखि पासपोर्टका लागि हामीहरु लाइनमा बस्छौँ, विभागको शौचालयमा जान प्रहरीले दिदैनन्, बाहिर गयो आउँदा लाइन माथि गैसक्छ, पहिलानै बसेको हुँ भन्दा पनि दिदैनन्, लाइनमा बसौँ, शौचालय जान परेको छ, छोडेर जाउँ आएपछि पुनः नयाँ लाइनमा बस्नुपर्छ,’ लाइनमा बसेकाहरुले दुख पोखे ।
विभागले यसअघि जारी गरिएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई प्रतिस्थापन गर्दै २०७८ को मंसिरदेखि इ–पासपोर्ट जारी गर्दै आएको छ । इपासपोर्टका लागि अनलाईन मार्फत मात्रै आवेदन दिन सकिनेछ ।
यसअघि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दैनिक सेवा लिन सर्वसाधारणले भोगिरहेको लाइनको सास्ती एक महिनाभित्र हटाउन सचिवहरूलाई निर्देशन दिएका थिए । राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स लिन सर्वसाधारणले सास्ती व्यहोरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नीतिगत सुधारका प्रस्ताव ल्याउन पनि सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका थिए ।