विकासन्युज

सरकारको नाममा लिखित जवाफ माग

काठमाडाैं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा अदालतले लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले आज अख्तियारको क्षत्राधिकारसम्बन्धी परेको रिट निवेदनमा सरकारका नाममा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो । अदालतले मन्त्रिपरिषद्को निर्णयलाई अख्तियारजस्ता निकायले छानबिन गर्न नपाउने विषयमा लिखित जवाफ माग गरेको छ । अख्तियारले गत मङ्सिर ९ गते संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीको माग राख्दै मानवअधिकार तथा सुशासनका क्षेत्रमा क्रियाशील छवटा सामाजिक संस्थाले संयुक्तरूपमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनको सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।

सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत आवको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन् । चालु आवको साउनमा तीन सय ८५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मङ्सिरमा चार हजार ६५ पर्यटक खुम्बु पुगेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए । पाँच महिनामा २१ हजार आठ सय ५३ विदेशी र तीन हजार एक सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलको भनाइ छ । भ्रमण गर्ने विदेशी पर्यटकमध्ये एक हजार नौ सय ९० सार्क मुलुकका र १० हजार आठ सय ६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार एक सय ७६ राजस्व सङ्कलन गरेको छ । विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार पाँच सय र नेपालीबाट एक सय प्रवेश शुल्क लिने गरेको छ । अघिल्लो वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन तथा सङ्क्रमण जोखिमका कारण पर्यटक आवागमन न्यून बनेको सगरमाथा क्षेत्रमा यस वर्ष जोखिम हटेसँगै पर्यटक आवागमन बढेको निकुञ्जले जनाएको छ । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् । रासस

सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो

सोलुखुम्बु । निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ। प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको ४२ करोड लागतमा सुरु भएको ग्राबेलको बुधबार सोलु दूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले निरीक्षण गरेका हुन्। उक्त सडक सल्लेरी तामखानी जोड्ने मात्र नभएर लिखुपिके गाउँपालिकाबाट स्थलमार्ग हुँदै सदरमुकाम सल्लेरी जोड्ने सबैभन्दा छोटो मार्गसमेत हो। सल्लेरी थापाटोलको जिरोप्वाइन्टदेखि तामाखानी क्षेत्रसम्म करिब १३ किलोमिटर सडक ग्राबेलसहित, ग्याभिङ, साइड खन्नेलगायतको काम यो चरणमा हुने जनाइएको छ। सडक ग्राबेलको ठेक्का ओसेस इन्जिनियर विल्डर्स प्रालिले रु २१ करोड २३ लाखमा पाएको हो। तोकिएकै समयमा गुणस्तरीय काम सक्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको निर्माण कम्पनीका प्रतिनिधि तीर्थराज न्यौपानेको भनाइ छ। कम्पनीले डेढ वर्षभित्र काम सक्ने गरी गत असारमा निर्माणकार्य सम्झौता गरेको हो। रासस

रुद्रमती नदी किनारका सार्वजनिक जग्गाको खोजी गरिँदै

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो । प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए । प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नाप नक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने पनि उनले बताए । प्रतिवेदन तयार भएपछि मिचिएका जग्गालाई सार्वजनिक उपभोगमा ल्याउन पहल थालिने भएको छ । सार्वजनिक जग्गा संरक्षण र मापदण्ड पालनामा प्राधिकरण लागिपरेको छ । प्राधिकरणले बल्खु खोला नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान पनि सुरु गरेको जनाएको छ । काठमाडौं उपत्यकाका अन्य नदी किनार दायाँबायाँका जग्गाको पनि संरक्षण गरिने भएको छ । मिचिएका नदी किनारका जग्गाको संरक्षण गरी विपद् व्यवस्थापनका लागि उद्यान निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्रयाक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्रयाक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नेप्सेमा एक लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २३ लाख १२ हजार ४९७.२२१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

काठमाडौं महानगरपालिकाको राजश्व सङ्कलन ४ अर्ब ३४ करोड रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँ जम्मा गरेको थियो । महानगरले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । बुधबार महानगपालिमा भएको राजस्व परामर्श समितिको बैठकमा डा.अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिए । बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ । व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा ५ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ हुने निर्णय गरेको छ । जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ । दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ ।

एनआईबिएल ग्रोथ फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईबिएल एस क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले पुस ७ गतेदेखि निष्काशन गरेको एनआईबिएल ग्रोथ म्युचुअल फण्डमा आवेदन दिने आज (पुस २१ गते) अन्तिम दिन हो । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड नामक म्युचुअल फण्ड निष्काशन गरेको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । एनआईबिएल ग्रोथ फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।