विकासन्युज

पासपोर्टको ‘डेट’ लिनै ५ हजार शुल्क !

काठमाडौं । इटहरीका आकाशको पासपोर्टको समय सकिएको लामो समय भयो । तत्काल पासपोर्टको आवश्यकता नभएको भन्दै उनले नवीकरण गरेका थिएनन् । तर, अहिले उनलाई तत्काल पासपोर्ट चाहियो । ‘पहिला नवीकरण गरिनँ, अहिले तत्काल चाहियो, पासपोर्ट नवीकरण गर्न लागेको धेरै दुख पाएँ’, मंगलबार त्रिपुुरेश्वरस्थित राहदानी विभागमा भेटिएका उनले दुःख पोख्दै भने, ‘आफैले अनलाइनबाट फर्म भर्न जति प्रयास गरे पनि भएन, साइबारमा ३ हजार ५ सय रुपैयाँ बुझाएपछि सोमबारको अपोइटमेन्ट पाएँ ।’ उनले विभागको स–साना कमजोरीका कारण सेवाग्राहीले धेरै सास्ती खेप्नुपरेको दुखेसो गरे । ‘मैले सोमबारका लागि अपोइटमेन्ट लिएको थिएँ, दिउँसो २ बजेको समय थियो, बिहान ८ बजेदेखि लाइनमा बसेँ, पालो आएर भित्र पनि गएँ तर म गएकै समयमा सर्भर डाउन भयो भनियो, दिनभर लाइनमा बसेर बल्लबल्ल पालो आएर भित्र गएपछि सर्भर नै चलेन, मंगलबार पनि बिहानैदेखि लाइनमा छु, सोमबार पालो काम भएर आज १० बजे नै काम हुनु पर्ने हो तर यहाँ रहनुभएका सुरक्षाकर्मीले २ बजे मात्रै हो पालो भन्दै भित्र जान दिनु भएन, आज पनि बिहान ८ बजेदेखि लाइनमै छु, काम हुन्छ हुँदैन केही भर छैन’, उनले भने । पोखराका रमेश अनलाइनबाट आफुले नसकेपछि बाध्य भएर पोखराकै साइबरमा ३५ सय रुपैयाँ बुझाएर फर्म भरेको बताउँछन् । ‘मेरो पासपोर्ट हराएको थियो, पुरानो पासपोर्ट हराएपछि मैले नयाँका लागि पोखराबाटै आवेदन दिएको हुँ, सोमबारको डेट थियो, रातारात गरेर सोमबार बिहानै काठमाडौं आएँ, दिनभर लाइनमा बसेँ तर काम भएन’, उनले दुखेको पोख्दै भने, ‘सोमबार काम भएको भए बुधबार पासपोर्ट लिएर पुनः पोखरा फर्कन्थेँ, तर सोमबार सर्भरले काम नगरेपछि कंगलबार पुनः लाइनमै छु, आज काम भयो भने बिहीबार पासपोर्ट लिन पाइन्छ कि ।’ हराएको पासपोर्टका लागि १७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने रहेछ, तीन दिनमा हुने काम चार दिन लाग्दा होटलको बसाइ लम्बिएको उनले बताए । इटहरीका सन्दिपले पनि रमेशकै जस्तो समस्या भएको बताए । सोमबार विभागको सर्भर डाउन भएपछि काम नभएर फर्किएका उनी मंगलबार बिहानै ८ बजेदेखि लाइनमै थिए । ‘सोमबार दिनभर लाइनमा बसेँ, भित्र छिरेपछि सर्भरले काम गरेन भन्दै फर्कनुपर्याे, हिजो काम नभएपछि आज लाइनमा नबसी भित्र जान दिनुपर्ने हो, तर गेटमा बसेका सुरक्षाकर्मीले २ बजेमात्रै तपाइंको पालो लाइनमा बस्नुस भनेपछि लाइनमै छु’, उनले भने । नवीकरणको फर्म भर्नका लागि एक साता आफैले प्रयास गरेतापनि नमिलेपछि साइबरमा जानुको विकल्प नभएको उनको गुनासो छ । ‘आफैले भर्छु भन्दा पनि नहुने कस्तो खालको सर्भर हो यो, हामीले भर्दा नहुने साइबरमा ३५ सय रुपैयाँ बुझाएपछि मात्रै हुने, अनलाइनका नाममा जनतालाई शास्ती मात्रै भयो,’ उनले भने । नवलपरासीका पदम पासपोर्टकै लागि रातारात गर्दै काठमाडौं आएको बताउँछन् । ‘हिजो राती १० बजे हिडेको बिहान काठमाडौं आइपुगे, कलंकी झर्नासाथ सिधै राहदानी विभाग आइपुगेको हुँ, यहाँ आएदेखि लाइनमै छु, काम हुन्छ हुँदैन थाहा छैन ।’ मंगलबार पासपोर्टकै लागि लाइमा बसेका अधिकाशंले आफैले अनलाइन फर्म भर्न नमिलेपछि बाध्य भएर साइबरलाई ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रकम दिएर फर्म भरेको बताउँछन् । लाइनमा भेटिएका उनीहरुले सरकारले अनलाइनबाट मात्रै पासपोर्ट लिन सकिने व्यवस्था गरेपछि धेरै दुख भोग्नुपरेको गुनासो गरे । विभाग भन्छ : धेरैले सर्भर चलाउँदा समस्या राहदानी विभागका अधिकारीहरु भने एकैपटिक धेरैले पासपोर्टका लागि अनलाइन आबेदन दिदा सर्भरमा समस्या भएको बताउँछन् । विभागका सूचना अधिकारी खिमानन्द भुषाल एकै पटिक धेरैले आवेदन दिँदा सर्भरमा समस्या भएको बताउँछन् । ‘साइटमा धेरै जाम भएपछि हामीले बिहान ११ बजेदेखि साढे ३ बजेसम्म आवेदन रोकेका छौँ, अरु समयमा अनलाइन एप्लीकेसन दिन सकिन्छ,’ उनले भने । सेवाग्राहीबाट साइबर सञ्चालकले पासपोर्टका लागि अनलाईन फर्म भर्न चर्काे शुल्क लिने गरेको विषयमा जानकार भएको भन्दै उनले केही समय पर्खिएर आफैले अनलाइन एप्लिकेसन दिन उनले आग्रह गरे । ‘एक पटकमा २५ सय जना मात्रै सर्भरमा प्रवेश गर्न गर्न मिल्छ, साइबरका सञ्चालहरु बाठो भएर पहिला नै सर्भरमा प्रवेश गरेर होल्ड गर्दा अरु प्रवेशमा समस्या भएको हुनसक्छ, यस्तोमा हामीले केही गर्न सकिँदैन’, उनले भने । बिहानै देखि पासपोर्टका लागि लाइनमा बस्नेहरु शौचालय समेत जान समस्या भएको बताउँछन् । ‘बिहानैदखि पासपोर्टका लागि हामीहरु लाइनमा बस्छौँ, विभागको शौचालयमा जान प्रहरीले दिदैनन्, बाहिर गयो आउँदा लाइन माथि गैसक्छ, पहिलानै बसेको हुँ भन्दा पनि दिदैनन्, लाइनमा बसौँ, शौचालय जान परेको छ, छोडेर जाउँ आएपछि पुनः नयाँ लाइनमा बस्नुपर्छ,’ लाइनमा बसेकाहरुले दुख पोखे । विभागले यसअघि जारी गरिएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई प्रतिस्थापन गर्दै २०७८ को मंसिरदेखि इ–पासपोर्ट जारी गर्दै आएको छ । इपासपोर्टका लागि अनलाईन मार्फत मात्रै आवेदन दिन सकिनेछ । यसअघि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दैनिक सेवा लिन सर्वसाधारणले भोगिरहेको लाइनको सास्ती एक महिनाभित्र हटाउन सचिवहरूलाई निर्देशन दिएका थिए । राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स लिन सर्वसाधारणले सास्ती व्यहोरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नीतिगत सुधारका प्रस्ताव ल्याउन पनि सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका थिए ।

पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै

पाँचथर । पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ । चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन । पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताए । उनका अनुसार अहिले तीन वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ । फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ । कन्काई पिएएस जेभी झापाले ६० करोड २७ लाख रुपैयाँको लागतमा गत ०७६ असार ३० गते सो आयोजनाको जिम्मा लिएको थियो । उक्त आयोजनाको समय अवधि आगामी २०८० असार मसान्तसम्ममा सकिँदैछ तर कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्यसम्ममा सकिने पूर्वाधार विकास कार्यालयको अनुमान छ । विसं २०७८ मसान्तसम्मै आयोजनाको काम सकिनुपर्ने भए पनि कोभिड महामारीको कारण दुई वर्ष समय थपिएको थियो । यस्तै यासोक सरखण्डे १३ दशमलव तीन किलोमिटर सडक रहेको आयोजनाको काम कोभिडले दुई वर्ष समय थपिएको थियो । अब यो आयोजनाको काम आगामी बर्ष असार मसान्तमा सकिँदैछ । यो सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ । यो सडकको कालोपत्रे गर्ने जिम्मा लामा च्याङमिला जेभी काठमाडौंले ६० करोड ९२ लाख रुपैयाँको लागतमा लिएको हो । यस्तै सात किलोमिटर फिदिम शिवालय नाङलापा छिन्तापु सडकको कालोपत्रे गर्ने कार्य भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत सकिएको छ । दिवा सफल जेभी काठमाडौंले २६ करोड ४५ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ । यो आयोजनाको काम आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ । यसैगरी १४ किलोमिटर रहेको सिवादोभान लुम्फाबुङ नवमीडाँडा सडकको कालोपत्रे गर्ने कार्य भने अघि बढ्न सकेको छैन । विसं २०७६ असार मसान्तमा सम्झौता भएको उक्त सडकको समयअवधि आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ । कान्छाराम याक्थुहाङ जेभी पाँचथरले २६ करोड ४५ लाख रुपैयाँको लागतमा आयोजनाको जिम्मा लिएको थियो तर थपिएको समय अवधिमा पनि कामले गति लिन नसकेको र निर्माण व्यवसायीलाई ताकेता गरिरहेको हुँदा समय अवधिभित्रै काम हुने आशा राखिएको कार्यालय प्रमुख रिड्डीले बताए । यस्तै सप्तमी दशमी–मौवा लखुवा दोभानअन्तर्गत मौवादेखि लखुवादोभान सम्मको १४ किलोमिटर सडकको कालोपत्रे गर्न बोलपत्र आह्वान प्रक्रिया पनि अघि बढेको उनले बताए । आगामी माघ महिनाभरिमै सम्झौता भई काम अघि बढ्ने जनाइएको छ । रासस

काठमाडाैंको नाकामा प्रहरी निगरानी, ठूलो परिमाणको लागुऔषधसहित १० पक्राउ

काठमाडाैं ।  अवैध रुपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौँको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ। पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार उनीहरुको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार एम्पुल बरामद गरिएको छ। पछिल्लो केही दिनदेखि लागुऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताए। प्रहरीका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट तीन सय मिलीग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित  दुई थान तराजु बरामद गरिएको थियो। अनुसन्धानका क्रममा उनलाई प्रदीप राइले लागुऔषध बिक्री गर्न पठाएको खुलेको थियो। उनी झापामा रहेको थापा पाएपछि ब्यूरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौँ पठाएको हो। सोही दिन साँझ विशेष सूचनाका आधारमा ब्युरोको अर्को टोलीले काठमाडौँ महानगरपालिका–९ शम्भु मार्गमा खोजी अभियान चलाउँदा धनुषाका रेश्मा देवीको साथबाट छ ग्राम खैरो हेरोइन बरामद गरी उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। सोही दिन ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो। पर्यटकलाई पिछा गर्दै गर्दा ‘टुर गाइड’मा काम गर्ने गोरखाका ओमनारायण श्रेष्ठ, मसाज सेन्टरमा काम गर्ने सुरेन्द्र नेपाली र विकास परियारलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। त्यस्तै लुकाइछिपाइ लागुऔषध ओसारपसार गरेको चाल पाएको नेपाल प्रहरीको संयुक्त टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख ७०३६ बसमाथि खानतलासी गर्दा वीरगन्जका ५० वर्षीय सविना खातुन, सहनाज खातुन र शेष अमिरलाई पक्राउ गरेको थियो। उनीहरू प्रहरीले खानतलासी थालेपछि नागढुङ्गाबाट भाग्दै गर्दा पक्राउ गरेका हुन्। उता काठमाडौँको गोकर्णेश्वरबाट रोशन श्रेष्ठ र मनोज लामालाई पनि लागुऔषध कोडिनसहति पक्राउ गरिएको र उनीहरुको सन्दर्भमा प्रहरीवृत्त बौद्धले अनुसन्धान गरिरहेको जनाइएको छ। रासस

रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको छ । कम्पनीको पुस २० गते बसेको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको हो । कम्पनीले २०७७÷७८ को संचित नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले २०७६÷७७ मा सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गृहद्वारा दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न परिपत्र

काठमाडाैं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योगी/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सोसमेत छानबिन गरी तत्काल बन्द गर्न भनिएको छ । गृहप्रवक्ता पोखरेलले अब स्थानीय प्रशासनमार्फत अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन कार्य गरिरहेका उद्योग फेला परेमा बन्द गरिने जानकारी दिए ।

सरकारको नाममा लिखित जवाफ माग

काठमाडाैं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा अदालतले लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले आज अख्तियारको क्षत्राधिकारसम्बन्धी परेको रिट निवेदनमा सरकारका नाममा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो । अदालतले मन्त्रिपरिषद्को निर्णयलाई अख्तियारजस्ता निकायले छानबिन गर्न नपाउने विषयमा लिखित जवाफ माग गरेको छ । अख्तियारले गत मङ्सिर ९ गते संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीको माग राख्दै मानवअधिकार तथा सुशासनका क्षेत्रमा क्रियाशील छवटा सामाजिक संस्थाले संयुक्तरूपमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनको सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।

सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत आवको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन् । चालु आवको साउनमा तीन सय ८५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मङ्सिरमा चार हजार ६५ पर्यटक खुम्बु पुगेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए । पाँच महिनामा २१ हजार आठ सय ५३ विदेशी र तीन हजार एक सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलको भनाइ छ । भ्रमण गर्ने विदेशी पर्यटकमध्ये एक हजार नौ सय ९० सार्क मुलुकका र १० हजार आठ सय ६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार एक सय ७६ राजस्व सङ्कलन गरेको छ । विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार पाँच सय र नेपालीबाट एक सय प्रवेश शुल्क लिने गरेको छ । अघिल्लो वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन तथा सङ्क्रमण जोखिमका कारण पर्यटक आवागमन न्यून बनेको सगरमाथा क्षेत्रमा यस वर्ष जोखिम हटेसँगै पर्यटक आवागमन बढेको निकुञ्जले जनाएको छ । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् । रासस

सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो

सोलुखुम्बु । निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ। प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको ४२ करोड लागतमा सुरु भएको ग्राबेलको बुधबार सोलु दूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले निरीक्षण गरेका हुन्। उक्त सडक सल्लेरी तामखानी जोड्ने मात्र नभएर लिखुपिके गाउँपालिकाबाट स्थलमार्ग हुँदै सदरमुकाम सल्लेरी जोड्ने सबैभन्दा छोटो मार्गसमेत हो। सल्लेरी थापाटोलको जिरोप्वाइन्टदेखि तामाखानी क्षेत्रसम्म करिब १३ किलोमिटर सडक ग्राबेलसहित, ग्याभिङ, साइड खन्नेलगायतको काम यो चरणमा हुने जनाइएको छ। सडक ग्राबेलको ठेक्का ओसेस इन्जिनियर विल्डर्स प्रालिले रु २१ करोड २३ लाखमा पाएको हो। तोकिएकै समयमा गुणस्तरीय काम सक्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको निर्माण कम्पनीका प्रतिनिधि तीर्थराज न्यौपानेको भनाइ छ। कम्पनीले डेढ वर्षभित्र काम सक्ने गरी गत असारमा निर्माणकार्य सम्झौता गरेको हो। रासस