ग्लोबल र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार पुस २५ गतेदेखि, तीन दिन सबै सेवा बन्द रहने
काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको मिति तय भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले बिहीबार एक सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस २५ गते सोमबार तय भएको जनाएको हो । नेपाल राष्ट्र बैंकले पुस १७ गते दुवै बैंकलाई मर्जर हुने अन्तिम स्विकृती दिएको थियो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई हुनेछ । यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि तीन दिन अर्थात पुस २२, २३ र २४ गते दुबैं कैंबले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । तर, दुवै बैंकले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको हुँदा चुक्ता पूँजी थप हुन सक्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ र कर्जा ३ खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । मर्जर पश्चात् बैंकको शाखा सञ्जाल ३६५ वटा र एटीएम ३२८ वटा पुग्नेछन् ।
इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै
इथियोपिया। इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका नागरिकलाई खाद्यान्न, औषधि लगायतका अन्य अति आवश्यक वस्तुहरुको आपूर्ति गर्नुपर्ने भएकाले यसका लागि खाद्य तथा कृषि संगठनल लागेको सो संस्थाले जनाएको छ । यसअघि सो क्षेत्रमा यहाँका विद्रोहीहरुले नै खाद्यान्न वितवरण गर्न नदिएकामा अहिले सो क्षेत्रमा युद्धविराम भएपछि विस्तारै आवश्यक वस्तुहरुको आपूर्ति गर्न थालिएको बताइएको हो । यहाँको उत्तरी क्षेत्र खासगरी टिगरेका नागरिकलाई अहिले खाद्यान्नलगायतको आवश्यकता परेको र उनीहरुको अवस्था हेरेर अहिले विदेशी दाता संस्थाहरुको समन्वयमा खाद्यान्न पुर्याउने काम गरिएको सो संस्थाले जानकारी दिएको हो । यहाँका टिगरे, अफार र अम्राह द्वन्द्वग्रस्त क्षेत्र हुन् । यी क्षेत्रका कैयौँ नागरिकले द्वन्द्वका कारण ज्यान पनि गुमाएका छन् । साथै ती क्षेत्रमा जारी रहेको द्वन्द्वका कारण यहाँका विद्रोहीहरुले संयुक्त राष्ट्रसंघ तथा अन्य दाता संस्थाहरुलाई पनि प्रवेश गर्न दिएका थिएनन् । जसका कारण यहाँका नागरिक लामो समयदेखि समस्यामा परेका थिए । अहिले खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग र समन्वयमा ती क्षेत्रहरुमा खाद्यान्न र अरु सहयोग पुयाउने काम भइरहेको बताइएको हो । रासस
नेपाल टि ट्वान्टी लिगमा जनकपुरले पोखरालाई हरायो
काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । नौ खेलमध्ये छ मा जित तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो । प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान नौ खेल नै खेलको लुम्बिनीले आठ खेलमा जित र एक खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजको खेलमा पोखराले जनकपुरलाई जितका लागि ६९ रनको चुनौती दिएको छ । जवाफमा जनकपुरले नौ ओभरमा चार विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरको जितमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे । त्यस्तै पवन सरार्फले चार रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान एक÷एक रन जोडे । बलिङतर्फ पोखराका कुशल मल्लले तीन विकेट लिए भने असिथा फर्नान्डोले एक विकेट लिए । त्यसअघि टस हारेर पहिलो व्याटिङको निम्तो पाएको पोखराले १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६÷१६ रन जोडे । त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पोखरालाई कम योगफलमा समेट्नेक्रममा जनकपुरका सोमपाल कामी एक्लैले तीन विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान दुई÷दुई विकेट लिए । त्यस्तै पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान एक÷एक विकेट झारे । यससँगै नौ खेल खेलेको पोखराले तीनमा जित तथा छ खेलमा हार बेहो¥यो । छ अङ्क बटुलेको पोखरा अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।
पूर्वाधार निर्माणमा महानगर र एनआरएनबीच हातेमालो
पोखरा। पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृह जस्ता आधारभूत सहरी पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ । पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा–९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको छ । शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि रु एक करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ । महानगरप्रमुख धनराज आचार्यले तीन महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि बढ्ने बताए । आधुनिक सार्वजनिक शौचालयले नागरिकलाई सहज सेवा पुग्नुका साथै वातावरणीय स्वच्छता प्रवद्र्धनमा पनि टेवा पुग्ने उनको भनाइ छ । अत्याधुनिक सुविधासहित बन्ने शौचालयमा सेनेटरी प्याडसमेत उपलब्ध हुने जनाइको छ । महेन्द्रपुलमा रहेका जीर्ण संरचना हटाएर सोही स्थानमा चमेनागृहसहितको सार्वजनिक शौचालय बनाउन लागिएको हो । एनआरएनका कार्यकारी अध्यक्ष रविना थापाले नागरिकको दैनिक सेवासँग जोडिएको आधुनिक सार्वजनिक शौचालय निर्माणमा महानगरसँगको सहकार्यले आफूहरु उत्साहित बनेको बताए । उनले सहरी पूर्वाधार र स्वच्छता प्रवद्र्धनका अन्य योजनामा पनि महानगरसँग हातेमालो गर्न एनआरएन तयार रहेको उल्लेख गरे । सम्झौताअनुसार महानगर र एनआरएनको संयुक्त लगानीमा महेन्द्रपुलको उत्तरतर्फ पाँच आना क्षेत्रफलमा सार्वजनिक शौचालय र चमेनागृह बन्नेछ । उक्त योजनामा एनआरएनले ६० लाख र महानगरले ४० लाख बराबरको खर्च व्यहोर्नेछ । पोखराका १५ स्थानमा महानगरले बनाएका र ६० बढी स्थानमा साझेदारीमा निर्माण गरिएका सार्वजनिक शौचालय छन् । रासस
सोलुखुम्बुमा ७८ वर्षका वृद्धले पाए नागरिकता
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २००१ चैत ३ गते जन्मिएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको हो । आफन्त सबै गुमेकाले एक्लो रहँदै आएका उनि सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित भएकामा जनप्रतिनिधिको पलहमा नागरिकता बनाए । थुलुङ दूधकोसी गाउँपालिका– ५ का पूर्ववडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका–१ का वडाध्यक्ष जङ्ग गुरुङको पहलमा नागरिकता उपलब्ध गराइएको थियो । राई एक वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ५ जुबुमा अर्काको जग्गामा बस्दै आएको वडा कार्यालयका कम्प्युटर अपरेटर जेपी थुलुङको भनाइ थियो । जुबुका दोर्जे राईको जग्गामा डेरा बनाइ बसिरहेका उनि नागरिकता नभएकै कारण सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएकामा अब भने सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रियासमेत सुरु गरिएको वडाअध्यक्ष चन्द्रबहादुर राईले बताए । रासस
दाङमा छात्रालाई साइकल वितरण
दाङ। दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत गरिब, विपन्न तथा दलित १० छात्रालाई रु ९० हजार बराबरको साइकल वितरण गरिएको हो । त्यस्तै गाउँपालिका–६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई रु दुई लाख बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिए । साइकल पाएपछि विद्यालय आवतजावत गर्न सहज भएको जनज्योति आधारभूत विद्यालय नयाँगाउँ कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टि ताम्राकारले बताइन् । सृष्टिजस्तै अरु छात्रालाई अब विद्यालय आवतजावत गर्न सजिलो हुने भएको छ । त्यस क्षेत्रबाट विद्यालय टाढा भएको कारण कतिपय छात्राले विद्यालय जानबाट वञ्चित भएका छन् । सिपी नेपालले विद्यार्थीलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेको हो । विसं २०६४ मा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक गीता चौधरीले जानकारी दिइन् । बीस जना पूर्वकमलहरीबाट काम सुरु गरेको सिपी नेपालले ५६ वटा आमा समूह गठन गरी एक हजार बढी सदस्य विस्तार गरेको छ । हाल तीन वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आठ सय बढी विद्यार्थीलाई साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले बताइन् । रासस
सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय पुग्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ४ सय रुपैयाँ थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
कम्बोडियामा मृत्यु भएका पाण्डेको शव नेपाल ल्याउन सरकारले सहयोग गर्ने
काठमाडौं । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको शव नेपाल ल्याउन सरकारले सहयोग गर्ने भएको छ । गत बिहीबार आगलागीमा परेर ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन तथा परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रतिवद्धता व्यक्त गरेका हुन । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।