पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ: राजदूत भाने
काठमाडाैं । नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन् । आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आएका राजदूत भानेले आज स्वदेश फर्कनुअघि रासससँग संक्षिप्त कुराकानी गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा यहाँका वासिन्दाको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले यसमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले पहल गर्ने उल्लेख गरे । जलवायु परिवर्तनको असर विश्वव्यापीरुपमै बढ्दै गएको र हिन्दूकुश हिमालय क्षेत्रमा अझ बढी जटिलरुपीमा देखिएकाले यस क्षेत्रका राष्ट्रहरुबीच सामूहिक प्रयासको खाँचो रहेको बताए । पर्यटकप्रति नेपाली जनताले देखाउने आतिथ्यता र आत्मियता निकै लोभलाग्दो रहेको बताउँदै राजदूत भानेले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र यहाँको जीवनशैली निकै आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने धारणा राखे । हिमाल आरोहरणमा जाने पर्यटक तथा पथप्रदर्शकको सुरक्षामा सरकारी निकाय तथा हिमालयन उद्धार सङ्घलगायतका संस्थाहरुको भूमिका निकै प्रशंसनीय रहेको बताउँदै उनले भने, ‘आगामी दिनमा बढीभन्दा बढी डेनिस नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गराउन मेरो प्रयास रहने छ ।’ पहिलोपटक आफ्नो छोटो नेपाल भ्रमणका क्रममा काठमाडौँका स्वयम्भू, बौद्धनाथ र बसन्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमणबाट निकै प्रभावित भएको र छिटै सपरिवार आई नेपालको भ्रमण गर्ने उनले बताए । कोरोना सङ्क्रमणको पहिलो चरणमा नेपाल भ्रमणमा आएका टेनमार्कका पर्यटन र यहाँ वसोवास गरेका डेनिस नागरिकको स्वास्थ्य सुरक्षामा नेपाल सरकारले गरेको कार्य निकै प्रशंसनीय रहेको बताए । उनले डेनमार्कमा रहेका नेपाली नागरिकको सुरक्षामा पनि डेनिस सरकारले उच्च सर्तकता अपनाएको पनि उल्लेख गरे । दुई देशबीच लामो घनिष्ट सम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताउँदै लोकतन्त्र र मानवअधिकारको पक्षमा डेनमार्कको नेपाल सरकारलाई निरन्तर सहयोग रहनेछ भने । आफूले हिजो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा भएको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीका विचारप्रति आफू निकै प्रभावित भएको पनि उनले बताए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको कुराकानीमा पनि दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने विषयमा छलफल भएको बताए । नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले दुई देशबीचको सम्बन्धलाई पर्यटनको माध्यमबाट अझ प्रगाढ बनाउनु र दुई देशका नागरिकस्तरको सम्बन्धलाई फराकिलो गराउनु आफ्नो प्राथमिकता रहेको बताए । रासस
अन्नपूर्ण हिमालको सफल आरोहण
काठमाडौं । सन् २०२१ को बसन्तु ऋतुको हिमाल आरोहणकाे सुरूवात अन्नपूर्ण हिमालबाट भएकाे छ । यस सिजनको पहिलो हिमाल आरोहण अन्तर्ग गत शुक्रबार ८ हजार ९१ मिटर उचाईमा रहेको अन्नपूर्ण हिमालको सफल आरोहण भएको हो । पर्यटन विभागका अनुसार नेपाली र विदेशी पर्यटकले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् । । ‘सफल आरोहण भयो भन्ने जानकारी आएको छ, कति जना भन्ने आइसकेको छैन’, विभागका निर्देशक मीरा आचार्यले भनिन ।
म्याग्दी र मुस्ताङ जोड्ने नयाँ पदमार्ग पहिचान
म्याग्दी । यहाँबाट धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धौलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो । संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए । ‘रघुगङ्गाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौँ’, उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जङ्गलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’ कुइने मङ्गलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जङ्गल र पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसियशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धौलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो । पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । सातदेखि दश दिनमा यसको भ्रमण गर्न सकिन्छ । धौलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामाकरण गरिएको हो । म्याग्दी र मुस्ताङ जोड्ने पुरानो पैदलमार्ग बेनी–जोमसोम सडक सञ्चालन भएसँगै विस्थापित बनेको थियो । त्यसको विकल्पमा नयाँ पदमार्ग विकास गर्न थालिएको हो । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालीज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र तीनको बासस्थान यस पदमार्गका आकर्षण हुन् । धौलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धी, रोजगारी सिर्जना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खानेबस्ने सुविधाका लागि निजी क्षेत्रको लगानी भित्र्याउन र प्रर्वद्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए । यसैगरी म्याग्दी उद्योग वाणिज्य सङ्घले रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्केदेखि रघुगङ्गाको झिँ–पाखापानी–रायखोर–घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर जोड्ने अर्को पदमार्ग समेत पहिचान गरेर नक्शा तयार पारेको छ । गाउँपालिकाले दुवै पदमार्ग सञ्चालन गरेर पर्यटक भित्र्याउने तयारीमा जुटेको छ । पदमार्गको प्रचारप्रसारका लागि चालू आर्थिक वर्षमा रुइसेमा महोत्सव सञ्चालन गर्न बजेटसमेत विनियोजन गरेको छ । पदमार्गको अध्ययनका लागि आधार शिविर पुगेर फर्किएका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं प्रतिनिधिसभा सदस्य थपमाया थापाले म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई विकास गर्न लागिएको बताए । ‘यस पदमार्गको अत्यन्तै सम्भावना रहेछ, केही ठाउँमा अझै पदमार्ग बनाउन बाँकी नै रहेको पाइयो, पदमार्ग, आवासगृहलगायत पर्यटन पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारमार्फत आवश्यक पहल गर्छु’, पूर्वमन्त्री थापाले भने । रासस