नेपालमा मार्च महिनामा भित्रिए १५ हजार विदेशी पर्यटक

काठमाडाैं । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार दुई पुरुष र तीन हजार ९६३ महिला र १२ अन्य नागरिक रहेका छन् । विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट सात हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा छ हजार १६९ पुरुष, एक हजार ४७७ महिला र १२ अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट एक हजार २०७ पर्यटक नेपाल भित्रिएका छन् । जसमा एक हजार २९ पुरुष र १७८ महिला छन् । एक महिनामा अमेरिकाबाट एक हजार ५६ पुरुष र ६४७ महिला गरी एक हजार ७०३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विभागको तथ्याङ्कअनुसार गत जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत फेब्रुअरीको तुलनामा मार्च महिनामा झण्डै पाँच हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी एक महिनामा नौ हजार ५८७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । जसमा छ हजार ६६३ पुरुष, दुई हजार ९१३ महिला र ११ अन्य नागरिक रहेका छन् । यस्तै एक महिनामा ४९ हजार पाँच नेपाली विदेश गएका छन् । जसमा चालिस हजार ५६ पुरुष, आठ हजार ८४८ महिला र एक अन्य नागरिक रहेका छन् । एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७१ हजार २७० जना नेपाल भित्रिए भने ५८ हजार ५९२ जना बाहिरिएका छन् । रासस

अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य

काठमाडाैं । प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी दिनुभयो । गत शुक्रबार मध्यान्हदेखि मौसम खराबीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा विगत पाँच दिन यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान सञ्चालन भएको थियो । आन्तरिक गन्तव्यमा केही सङ्ख्यामा मात्रै उडान  बुधबार अपरान्हपछि काठमाडौँ उपत्यकासहित देशभरको मौसममा सामान्य सुधार आएपछि उडान केही सहज भएको थियो । विमानस्थलका महाप्रबन्धक तिवारीले क्रमशः मौसम सुधार आएकाले उडान रद्ध हुने क्रम पनि बुधबारसम्म घटेको र राति काठमाडौँसहित विभिन्न स्थानमा भएको वर्षाले उडान सहजता आएको बताए । बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भएको थियो । अन्तरराष्ट्रिय विमानस्थलसहित देशका अन्य स्थानमा पनि उडान प्रभावित बनेको थियो । विमानस्थलका अनुसार विगत छ दिनको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ करीब ४० प्रतिशत उडान रद्द भएका छन् । अन्तरराष्ट्रियतर्फ पनि थोरै सङ्ख्यामा उडान रद्ध र केही उडान अन्यन्त्र मोडिनु ‘डाइभर्ट’ भएका छन् । अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकाप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्दै आएकामा कोभिड–१९ सङ्क्रमणपछि हाल १९ वायुसेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् । पश्चिमी वायु सक्रिय भएपछि बुधबार साँझदेखि काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ भने बाँकी भू–भागमा बदली नरहे तापनि तुवाँलो देखिएको छ । काठमाडौंको आकासमा पनि सामान्य तुवाँलो देखिन्छ । आज देशका पहाडी भेगमा बदली हुनका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन, चट्टयाङगसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार काठमाडौंमा ९ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा २० र ओखलढुङ्गामा १७ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौंको न्यूनतम १३ दशमलव ६ र अधिकतम २६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । रासस

हुलाकी राजमार्गको १३ वटा सडकखण्ड हस्तान्तरण, रक्सौल-काठमाडौं रेलमार्गको डिपीआर तयार हुँदै

काठमाडाैं । भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ । बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु हस्तान्तरण गरेका हुन् । कुल १ हजार ८ सय ५७ किलोमिटर लम्बाई भएको हुलाकी राजमार्गको २ सय ७३ किलोमिटर आज चैत १८ गते हस्तान्तरण गरिएको छ । योसँगै हुलाकी राजमार्गलाई जोडने विरगञ्ज-ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा छ । नेपालको तराई क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको निर्माण लामो समयदेखि अडकिएर बसेको भएपनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङ्गले नेपालको भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखि नेपालीको नारालाई यसप्रकारका भौतिक पूर्वाधारको माध्यमबाट सकार पार्न सकिने बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताए । भारतले छिमेक पहिलो नीति लिएर छिमेकी देशको भौतिक पूर्वाधारको विकास, सामाजिक विकास र आर्थिक उन्नति हुनेगरी सहयोग गरिरहेको बताए । नेपालसँग त रोटीबेटीको सांस्कृतिक सम्बन्ध पनि रहेको हुँदा सँधै सहयोग गरिरहने बताए । आगामी महिना जनकपुर-जयनगर रेल सञ्चालन हुने अवस्थामा रहेको र त्यसका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको पनि बताउनुभयो । यस्तै रक्सौल-काठमाडौं रेलमार्गका लागि डिपीआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताए ।