१० हिमाल आरोहण गर्न ४१९ आरोहीले लिए अनुमति
काठमाडौं । सन् २०२१ को वसन्त ऋतुको हिमाल आरोहण गर्न पर्यटन विभागबाट ४ सय १९ आरोहीले अनुमति लिएका छन् । स्वदेशी तथा विदेशी आरोहीको माग अनुसार विभागले १० हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ । शुक्रबार साँझसम्म विभागबाट ४९ समूहका ३२९ पुरुष तथा ९० जना महिला आरोहीले अनुमति लिएका हुन् । विभागबाट आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै सगरमाथा आरोहणको रहेको छ । सगरमाथा आरोहण गर्न २६ समूहका २ सय ४४ जना आरोहीले अनुमति लिएका छन् । यसैगरी, सगरमाथा पछि सबैभन्दा धेरै आरोहीको आर्कषण ल्होत्सेमा रहेको छ । ल्होत्से आरोहण गर्न ७ समूहका ५५ जना आरोहीले अनुमति लिएका छन् । यस्तै, अन्नपूर्ण आरोहण गर्न ४ समूहका ४४, धौलागिरी आरोहण गर्न ४ समूहका ३०, नुप्से आरोहण गर्न ३ समूहका २३ र तिलिचो आरोहण गर्न एक समूहका ८ जना आरोहीले अनुमति लिएका छन् । कोरोना महामारिका कारण गत वर्ष रोकिएको हिमाल आरोहण यस वर्ष सुरु हुन लागेकोे हो । विभागले आरोहीको माग अनुसार यस सिजनको पहिलो हिमाल आरोहण फागुन २५ गते जारी गरेको थियो । १० हिमाल आरोहण अनुमतिबाट विभागले ३३ करोड बढी राजश्व संलकन गरेको छ । आरोहण शूल्क सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।
एक वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडान भएन, लागत बढ्यो, काम सकिने समय अन्योल
काठमाडौं । भारतीय नाकाबन्दी तथा कोरोना महामारीका कारण राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणले गति लिन सकेको छैन् । निर्माणको तयारी भएको ५ वर्ष बितिसक्दा समेत विमानस्थल सम्पन्न नहुँदा समय सगैँ लागत समेत थपिदै गएको छ । कोरोनाका कारण एक वर्षअघिदेखि रोकिएको विमानस्थल निर्माणको कार्यले अझै गति लिन सकेको छैन् । ९३ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको उक्त विमानस्थलमा प्राविधिक काम सुरु हुनै सकेको छैन् । उपकरण जडानका लागि आवश्यक प्राविधिक कर्मचारी नहुँदा एक वर्षदेखि रोकिएको उपकरण जडानको काम बल्ल सुरु भएको छ । कोरोना भाइरसका कारण विमानस्थलमा कार्यरत चिनियाँ प्राविधिकहरु चीनमै रोकिदा ठप्प भएको प्राविधिक काम केही दिन अघिबाट सुरु भएको हो । गत वर्षको चिनियाँ नयाँ वर्ष मनाउँन चीन गएका कामदारहरु कोरोना महामारीका कारण चीनमा नै रोकिदा गत वर्षको पुस अन्तीम सातादेखि विमानस्थल निर्माणले गति लिन सकेको थिएन । चिनियाँ प्राविधिक नहुँदा भौतिक संरचनाको निर्माण सकिएपनि उपकरण जडान रोकिएको थियो । एक वर्षसम्म चिनियाँ प्रावधिकहरु निर्माणस्थलमा नफर्र्किएपछि विमानस्थल निर्माण कम्पनीले विकल्पका रुपमा भारतीय कामदारबाट निर्माणको काम सुरु गरेको हो । विमानस्थल निर्माण काम गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले पहिलो चरणमा १० जना भारतीय कामदारबाट एसी जडानको काम सुरु गरेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । फागुनमा १० जना भारतीय प्राविधिबाट उपकरण जडानको काम सुरु भएकोमा १० जना थप गरी हाल २० जना प्राविधिकबाट जडानको काम भइरहेको आयोजना कार्यालयका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । उनका अनुसार २० जना भारतीय प्राविधिक मार्फत विमानस्थल निर्माण कम्पनीले एसी जडानको काम गरिरहेको छ । अन्य उपकरण जडानका लागि आवश्यक थप प्राविधिक केही दिनभित्रमा नै आइपुग्ने निर्माण कम्पनीले जानकारी दिएको उनी बताउँछन् । निर्माण कम्पनीले लामो समयदेखि थप प्राविधिक ल्याउने तयारी भएको भन्दै आएको छ । थप प्राविधिक नआउँदा लामो समयदेखि उपकरण जडानको काम प्रभावित हुँदै आएको छ । भारतीय कामदारबाट एसी जडान लगायतका प्राविधिक काम भएतापनि परीक्षण गर्न चिनियाँ कामदार नै आउनुपर्ने हुन्छ । दुई वर्षको लक्ष्य ६ वर्षहुँदा समेत पूरा भएन सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ६ वर्षपूरा हुँदा समेत सम्पन्न भएको छैन । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २०२० को सुरुवाती चरणमा नै भैरहवामा विमानस्थल सञ्चालनमा ल्याईने तयारी भएतापनि हाल निर्माणको काम रोकिएको छ । भैतिक संरचना निर्माण सम्पन्न भएतापनि प्राविधिक कामहरु सुचारु नहुँदा विमानस्थल सञ्चालनको टुङ्गो नभएको क्यानका निर्देशक एवं राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदीप अधिकारी बताउँछन् । उनका अनुसार कोरोना महामारीका कारण विदेशी प्राविधिक सगैँ अन्य कामदारहरु समेत नआउँदा विमानस्थल निर्माणको कार्य प्रभावित बनेको छ । चीन तथा अन्य देशबाट प्राविधिक ल्याएर उपकरण जडान लगायतका प्राविधिक काम गर्नुपर्ने हुन्छ । तर तोकिएको समयमा न उपकरण ल्याउन सकिने न प्राविधिक नै । विमानस्थलको बाँकी सबै काम सकेर आगामी बैशाख १ गते औपचारिक उद्घाटनको तयारी भएतापनि अझैँ विमानस्थल निर्माण काम सकिएको छैन् । ‘विमानस्थल निर्माणका लागि आवश्यक कामदार छैनन्, बाँकी काम कहिले सकिन्छ भन्ने अवस्था नै छैन’, उनले भने । काम तीन महिनामा सकिने भौतिक काम सकेर प्राविधिक काम बाँकी रहेको उक्त विमानस्थलमा प्राविधिक कामदार भएमा अबको तीन महिनाभित्रै सकिने आयोजना कार्यालयले जनाएको छ । ‘भौतिक अर्थात पूर्वाधारका अधिकांश काम सम्पन्न भइसकेको छ, बाँकी रहेको काम एसि जडान सगैँ अन्य उपकरणको कामा बाँकी हो, कामदार भएर सरासर काम भएमा छिटै विमानस्थल सञ्चालमा आउँछ’, ‘गौरव आयोजना प्रमुख अधिकारीले भने, तीन महिनाभित्र विमानस्थलका सबै काम सकेर ६ महिनाभित्र उडान सुरु हुन्छ ।’ विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् । आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाई हुँदै आएको छ । हाल आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
व्यवसायी राजेन्द्र मल्लले ठमेलमा बुटिक होटल खोल्दै, ५० करोड रुपैयाँ लगानी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले काठमाडौंको ठमेलमा बुटिक होटल निर्माण थालेका छन् । मल्लले पर्यटकिय गन्तव्य ठमेलमा ठूलो लगानीमा होटल सहितकाे ट्रेड सेन्टर निर्माणको काम थालेका हुन् । ठमेल ट्रेड सेन्टर नाम दिएको सो होटल अहिले निर्माणाधीन अवस्थामा छ । मल्लका अनुसार सो होटलको लागत करिब ५० करोड रुपैयाँ रहेको छ । करिब १० आना जग्गाको क्षेत्रफलमा आफूले होटल निर्माण सुरु गरेको उनले बताए । ‘अहिले प्रारम्भिक लागत ५० करोड रुपैयाँ रहेको छ, विस्तारै यसलाई स्तरोन्नती गर्न पनि सकिन्छ, ६ महिनापछि होटल सञ्चालन गर्ने योजनाका साथ हामी काम गरिरहेका छौं,’ उनले भने । उनका अनुसार ठमेल ट्रेड सेन्टरको माथिल्लो तलाहरुमा होटल हुनेछ । सो होटल बुटिक शैलीमा हुनेछ । सो होटल ८ तलेको हुने उनको भनाई छ । होटलका लागि कुल ३० वटा कोठाहरु रहनेछन् । होटलको टपमा भीआईपी बार रहने उनले बताए । ‘हामीले ८ तलाको होटल बनाउने छौं, बुटिक शैलीको होटलमा पर्यटक तथा ग्राहकहरुले रोजे अनुसारको सेवा पाउनेछन्, होटलको टपमा बन्ने भीआईपी बारबाट पुरै काठमाडौं देखिनेछ, त्यसले पनि एक प्रकारको आनन्द ग्राहकले लिन पाउने छन्,’ उनले भने । सो होटलमा ३ जनाको स्वामित्व रहेको उनको भनाई छ । व्यवसायी मल्लले विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन् । उनले बैंक बीमा, शिक्षा, पर्यटन, ईट्टा उद्योग लगायत व्यापार व्यवसायमा लगानी गरेका छन् । मनाङ एयर, प्रभु इन्स्योरेन्स, कान्तिपुर इन्जिनियरिङ कलेज लगायतका उनका परिचित व्यवसाय हुन् । हालसम्म चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका उनी चैत २८ गते अध्यक्ष घोषित हुँदैछन् ।